
भुकम्पको त्रासदीमा रोमान्टिक च्याट
सोनालाल शाह
वीरगन्ज–२०
२०७२ वैशाख १२ मा म बढुवापरीक्षा दिन काठमाडौंमा थिएँ । परीक्षा केन्द्रमै हुँदा भूकम्प आयो ।
जोडजोडले हल्लाउन थालेपछि सबैतिर हल्ला अनि भागदौड मच्चियो । म पनि परीक्षा केन्द्रबाट बाहिर आएँ । सबै साथीहरु कराउँदै थिए । बचिन्छ कि बचिदैन कुनै भरोसा थिएन । हल्लिदै गर्दा म पनि साथीहरुसँग भाग्दै लैनचौर आएँ । सबैतिर चिच्याहट थियो । मान्छेहरु रुँदै थिए । सडकमा एम्बुलेन्स र पुलिसको गाडी कुदेको कुद्यै थिए । सुरक्षित बासको लागि रत्नपर्क पुगेँ । पुरै फिल्ड मान्छेले भरीभराउ थियो । सबै मान्छे घर छोडेर बाहिर आएका थिए । फोन सम्पर्क पनि बन्द भएको थियो । गाडी पनि चलेको थिएन । रत्नपार्कबाट हिडेर गौशाला गएँ । छोरालाई स्कुलबाट निकालेर टिचिङ हस्पिटल आएँ । कहीं सुरक्षित थिएन । बेलाबेलामा भूकम्पको झट्काले सातो लिन्थ्यो ।
खाना नपाएर पेटमा मुसा कुद्दै थियो । सुरक्षित बासको लागि प्रहरी प्रतिष्ठानको फिल्डमा राती सुतियो खुला आकाशमा । त्यही बेला फेसबुकमा एउटा पोस्ट हालेँ, ‘भूकम्पले बचिन्छ कि बचिदैन ! कस्तो डर लाग्न थाल्यो ।’
एकजना साथीको कमेन्ट आयो, ‘छोरा मान्छे भएर पनि डराउँछ त ।’
रिप्लाई फर्काएँ, ‘भूकम्पले छोरामान्छे वा छोरी मान्छे चिन्दैन । हल्लाएको हल्लायै भएर डर लागेको ।’
पछि मेसेजमा कुरा हुन थाल्यो साथीसँग ।
भूकम्पको पीडा, त्रास अनि खाना नपाएर भोको पेटले कुरा गर्न पाउँदा अलि राहत महसुस गर्यो । पछि लगातार कुरा हुँदै रह्यो । कुरा गर्दासम्म त भूकम्पले हल्लाएको पनि थाहा नपाउने भएँ । रात बितेको पनि थाहा भएन । १२ बजिसकेको थियो । मोबाइलको ब्याट्री पनि सकिन लागेको थियो अनि गुडनाइट भनेर भोलि कुरा गर्ने वाचासहित छुट्यौं । पछि निद्रा लागेन ।
एकछिन भए पनि निदाउने कोसिस गरेँ । सकिनँ । मोबाइलको ब्याट्री पनि सकिसकेको थियो, कुरा गरौं भने कुनै मेसो नै मिलेन । बिहान उठ्न बितिकै अस्पतालमा गएर मोबाइल चार्जमा हालेर बसेँ । पछि हेर्दा गुडमर्निङ भनेर मेसेज आएको थियो । रिप्लाई गरेँ । एकछिन कुरा भयो । उसले ‘खाना बनाउन जान्छु’ भनेर गई ।
म त राहतको खाना कुरेर अस्पतालको फिल्डमा बसिरहेँ । भोकले बिरामीको जस्तो अवस्था भएको थियो । मेसेजमा बोलुँ, अनलाइन थिएन । फोनमा बोलुँ, नम्बर थिएन । अब बोल्यो भने मोबाइल नम्बर माग्छु अनि अनलाइन नहुँदा फोनमा कुरा गर्छु भन्ने सोच्दै कुर्दै बसेको थिएँ अनि मेसेज आयो, ‘खाना खानु भो ?’
‘छैन’, मैले भनेँ ।
उताबाट मेसेज आयो, ‘यति बेलासम्म भोकै बस्नु भएको ?’
‘हो, भोकै छु’, मैले भनेँ ।
उसले मन दुखाए जस्तो महसुस भयो ।
एकछिन कुरा गर्दै गएँ । कुरा गर्दै जाँदा भोक पनि हराएर गयो । पछि हिम्मत गरेर हजुरको मोबाइल नम्बर दिन मिल्छ भनेर सोधेँ ।
उसले अलि ढिलो रिप्लाई गरिन्, ‘मिल्छ ।’
म झन् खुशी ! अब फोनमा बोलेर कुरा गर्न पाइने भयो । मेरो मनमा हजारौं कुराहरु खेलिरहेको थियो । कहिले नदेखेको, नबोलेको र नचिनेको मान्छेले मलाई विश्वास गरेर आफ्नो नम्बर दियो ।
भूकम्पको झट्का पनि त्यो खुशीभित्र विलीन भयो । मैले हल्लेको पनि थाहा पाउन छोडेँ । भोक पनि कता हरायो हरायो ? खानाको छट्पटी सबै भाग्यो । मेरो मन आकाशमा उड्न थाल्यो खुशीले । म उसैको सपनामा हराउन थालेँ । उसको कति धेरै मेसेज आएको पनि थाहा पाउन सकिनँ । पछि मोबाइल हेर्दा मेसेजको लर्को लागेको थियो अनि मैले सरी भनेँ, रिप्लाई ढिलो गरेकोमा ।
‘ठिकै छ, हजुर केही खानु । म पछि कल गर्छु अनि बोल्ने’, यो मेसेज देखेपछि मेरो खुटा जमीनमा थिएन । साँझ परेको पनि पत्तै पाएन । चार्ज सकेर मोबाइल पनि बन्द हुन लागेको थियो । हतारहतार मोबाइल चार्जमा राखेर फोन आउँछ कि भनी कुर्न थालेँ । फ्रीको खाना बाँडेर पनि गइसके थियो, मलाई थाहा नै भएन । पछि मोबाइल चार्जमा राखेर निदाएछु, उसको फोनको प्रतीक्षामा ।
निद्रा खुल्दा मोबाइल हेर्छु, उसको धेरै कल आएको थियो ।
(यसपछि के हुन्छ अर्को लेखमा ।)
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



