रियालिटीः स्वयम्भुमा सजीव ‘लाइफ एन्ड डेथ’

स्वयम्भुमा बिताएको त्यो एक दिन

सुशील लामा
पाँचखाल, काभ्रे

विजेश्वरीमा थियो आफन्तको अस्थायी बसोबास । स्थायी घर दुरदराज काठमाण्डुदेखि निक्कै टाढा ।

काठमाडौं आउनु, काठमाडौं घुम्न पाउनु भनेको लाग्दथ्यो, टोल मात्रै होइन, गाउँकै भाग्यमानी मै मात्रै हुँ । विशेष कामको निहुँ पारेर निक्कै फेर काठमाडौं घुमेको मैले । तर आफन्तको अस्थायी बसोबास भएको विजेश्वरी नजिकै रहेको स्वयम्भूनाथको भने धित मरुन्जेल घुम्ने अवसर पाएको थिइनँ ।

मेरो जीवनको एक दिनको एउटा सुन्दर बिहानी स्वयम्भू घुम्ने अवसर बोकेर आइपुग्यो । म एक्लै निस्केँ आफन्तको अस्थायी बसोबासबाट । मनमा खुशी थियो तनमा स्फुर्ती । फटाफट ५, ७ मिनेटको पैदल यात्राले पुर्‍यायो मेरो गन्तव्यमा ।

भगवानपाउमा पुगेर केही पुजा सामग्री लिएँ । अनि उक्लिएँ स्वयम्भूनाथको स्तुपा पुग्न । माथि पुगेर तीन फन्को लगाएँ स्तुपालाई ॐ माने पेमे जप्दै । साथै सात वटा बत्ती बालेँ मेरो पितृको नाममा, गुम्बाभित्र गएर । बा अनि बाको बा आमा अनि आमाको आमाको नाउँमा बालेको बत्ती मज्जाले बल्दै गयो । लाग्दै थियो, नदेखिने मनमा मैले बालेको बत्तीले हामीलाई छाडी गएका पितृ खुशी भए क्यारे । बत्ती मीठो सुगन्ध उडाउँदै गरेको धुपको धुवाँको पर्वा नगरी बलिरह्यो । दियोको तेल नसकुन्जेल ।

किन किन विशेष लाग्दै थियो त्यो दिन मलाई । स्तुपा परिसर मज्जाले अवलोकन गर्दैगर्दा स्वयम्भू डाँडाबाट देखिने कान्तिपुरी नगरीमा अवस्थित कंक्रिटको घनाजंगलमा पुगेर मेरो नयन टक्क अडियो । धेरै बर्षअगाडि कक्षा कोठामा गुरुले भन्नू भएको कुरा सम्झेँ, कान्तिपुरी नगरी भनेको मठमन्दिरको शहर हो । तर त्यो दिनको यथार्थले मलाई लाग्यो, कान्तिपुरी नगरी भनेको निति र नियमको धज्जी उडाउँदै बनेका ठडेका नानाथरीको अल्काहोचा घरहरुको शहर रहेछ ।

त्यो दिनको दैनिकी घुमघामको घुमाउरो गल्छेडा छिचोल्दै अघि बढिरह्यो । बिहानीको कलिलो घामको किरण बिस्तारै छिप्पिँदै गएको कुरा तात्दै गएको ढाडले बताउँदै थियो । मनभित्र उथलपुथल हुँदै गरेको जिज्ञासा यत्रतत्र सर्वत्र छाउँदै गयो । घरी सात समुनद्र पारीदेखि घुम्न आएको विदेशी पाहुनाको जिज्ञासु हरकत देखेर मेरो मोह भंग हुन्थ्यो । घरी स्तुपा परिसरमा चाँचाँ र चिँचिँ गर्दै कुदिरहेका ख्याँउटे बाँदरहरुको हुलले मनमा सुस्ताएको मौनतालाई भंग बनाइदिन्थ्यो । स्तुपाको सामिप्यमा अवस्थित गुम्बा भित्रबाट एकै स्वरमा गुन्जेको लामाहरुको मीठो प्रवचनले मन शान्ति शान्ति हुँदै गयो ।

बिहानीले मध्यदिनको रुप धारण गर्दैगर्दा पाइलाहरुले मलाई स्वयम्भूनाथदेखि पश्चिमतर्फ अवस्थित सरस्वती मन्दिरतर्फ पुर्‍यायो । केही बेरको मन्दिर अवलोकन कार्यलाई तुर्‍याएर म झरेँ तल सडकमा पुग्न । सडकमाथि अवस्थित ठूलो बुद्धको मुर्तिमा श्रद्धाले शिर झुकाएर नमन गरी पाइलाहरु विजेश्वरीतर्फ सोझिएर अघि बढ्यो । पुण्य प्राप्ति हुने र जानअन्जानमा भएको भुल मेटिन्छ भन्ने धारणालाई समेटेर स्थापना गरेको माने घुमाउदैं लम्किररेहँ श्रद्धालु भिडको भिडमा हराएर ।

केही छिनको हिडाईंपछि बौद्धधर्मलम्बीहरुको चिहान छेउमा पुगेँ । चित्तामा एउटा लास जलिरहेको थियो । अर्को एउटा लास पाटीको सतलमा चिरनिन्द्रामा सुतिरहेको पाएँ । छेउमा केही आफन्त होलान् सायद, मलिन भावमा सुस्तारहेको दृश्यले एकाएक मेरो उत्साहित मनलाई दुखायो । लामाहरु पनि थिए त्यहाँ । उनीहरु विधिशास्त्रलाई अंगालेर पाठ गर्दै थिए ।

म त्यो चिहानदेखि करिब पचास–साठ्ठी मिटर दुरीमा रहेको एउटा पुरानो काठको बेन्चमा बसिरहेँ । म बसेको पुरानो बेन्चको अलि माथि जंगलमा एउटा बुढो रुखको मक्केको हाँगामा एउटी बुढी ख्याउटी बाँदर कुपोषणले ग्रसित स्यानो बच्चा च्यापेर आउने जाने यात्रीले केही देलानकी भन्ने आशाको आश्वासनमा कुरिरहेको भान प्रष्टै झल्किन्थ्यो । अलि तल चित्तामा जल्दै गरेको लास क्रमशः जल्दै थियो । केही खरानी भएर धर्तीमा बिलिन हुँदै केही धुँवा बनेर बादलको देश छिचोलेर आकाशको गर्भमा समाहित हुँदै । छेउमा रहेको आर्को लास पालो कुर्दै थियो चित्ताको ।

म हराउँदै थिएँ त्यो दिनमा ठोक्किएर आएको पल पलसँग । जीवनः आशा–निराशा । जीवनः जन्म–मृत्यु । जीवनः सुख–दुःख । जीवनः मिलन–विछोड । खोइ के हो के हो ? जीवनः त्यो बूढो रुखको बूढो भोकाएको बाँदरको आशा जस्तै । जीवनः त्यो चित्ता, त्यो पाटी, त्यो सतल, त्यो मलिन भिडजस्तै । मनमा यस्तैयस्तै रंगिबिरंगी कुराहरुको एक अंगालो नौलो अनुभुति संगाल्दै गर्दा घाम पश्चिम क्षितिजमा डुबेको पत्तै भएन ।

झसङ्ग झस्की हेर्दा अघि जलिरहेको चित्ताको लास जलिसकेको रहेछ । चित्ता खाली अनि सफा भएर अर्को त्यस्तै लास कुरिरहेको पाएँ । बूढो रुखको बुढी बाँदरर्नीको आमा र बच्चा खोइ कता गए ? पत्ता लगाउन सकिनँ । त्यो एक हुल बिलौना पोखाएर मलिन अनुहार बोकेको मान्छेहरु पुगे होला आ–आफ्नै घरमा । म पनि लुरुलुरु फर्केँ बिहान गएको बाटो हुँदै साँझलाई साथी बनाएर । आफन्तको अस्थायी बासस्थानमा पुगी अस्थायी जिन्दगीको अस्थायी थकान मेटाएर अँध्यारो रात छल्न ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button