चलअचल सम्पत्ति सबै कोराबाट उम्किएको भोलिपल्टै वृद्धाश्रमलाई लेखिदिइसकें

लघुकथा : स्वार्थ

कुमुद शर्मा प्याकुरेल

बिहे भएको भोलिपल्ट बिहानै कसैलाई केही नभनी घरबाट निस्किएको स्वस्तिकाको श्रीमान् फर्केर आएनन् । उनीले यत्रतत्र खोजी गरिन्, अड्डा अदालत धाइन्, तिर्थ, व्रत, भाकल केही बाँकी राखिनन्, तर पनि उनको श्रीमानकाे अवस्था अज्ञातको अज्ञातै रह्यो ।

उनलेे “कि सास, कि लास” भन्दै रूँदै हिँड्न थालेको पनि धेरै नै जस्तो भयो । छोरा एकाएक बेपत्ता भएको पीडाले वर्ष दिनभित्रै स्वस्तिकाको सासू बितिन्, ससुरा पनि बिते । नन्द थिइन् एउटी, सान्त्वना दिनसम्म पनि आइनन् ।

आज अचानक टुप्लुक्किइन् उनी, भाउजूलाई भेट्न । दुबैले एक-आपसलाई मुस्किलले ठम्याए ।

निकैबेर गन्थन् गरिन् । उनी उठ्नै लाग्दा भाउजू चाहिँले भनिथिन्, “नानीले केही दिन मात्र ढिला गर्नुभयो । दाइको सद्गतको दिनमा सम्म आउनुभएको भए, कुरा अर्कै हुन्थ्यो । चलअचल सम्पत्ति त सबै कोराबाट उम्किएको भोलिपल्टै वृद्धाश्रमलाई लेखिदिइसकें ।”


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button