
आमाको चौबन्दीमा झुन्डिएको थैली
कथा
सरिता पराजुली
मैले थाहा पाएदेखि मेरो आमाको चौबन्दी चोलीको तुनामा राम्रो रंगीन थैली झुन्डिएको देखेको थिएँ । आमाले कम्मरमा सेतो पटुका पनि काँध्नु हुन्थ्यो ।
त्यो थैलीलाई पटुकीभित्र घुसारेर राख्ने गर्नु हुन्थ्यो । त्यो थैलीभित्र आमाले पैसाबाहेक आफुलाई चाहिने अरु सामानहरु गाजल, सिन्दूर, बासको काइयो, सानो एैना पनि राख्ने गर्नु हुन्थ्यो ।
काम धेरै गर्नु पर्नी । कहिलेकाहीँ उभिएर नै गाजल, टीका लगाई कामतिर लाग्नु हुन्थ्यो आमा । आफूलाई गाजल लगाउन मन नपर्ने । आमाले समातेर पनि बलजफ्ती लगाइदिनुहुन्थो ।
त्यो थैलीको दुइवटा मुख थियो । चार वटा तुना थिए । तुना तानेर खोल्नु पर्नी थियो । मलाई आमाले थैली खोलेको हेर्न एकदम रमाइलो लग्थ्यो । म आमाको थैलीलाई खुबै नियालेर हेर्थे, जति बेला आमाले थैली खोल्नु हुन्थ्यो ।
कहिलेकाहीँ आमाले थैली खोल्न लाग्दा दौडेर जान्थेँ र देखाउनु भनेर कराउँथे । आमाले के छर भन्दै देखाई दिनु हुन्थ्यो । हेर्न पाएपछि दंग । कहिलेकाहीँ मिसिरी दिनु हुन्थ्यो ।
मेरो विवाह हुने बेलासम्म पनि आमाको थैली तुनामा झुन्डिएको थियो । अझै मेरो विवाह भएपछि आमाले त्यो थैलीमा एकको, दुइको र पाँचको नोट कोचेर राख्न थाल्नु भएछ ।
म आमालाई भेट्न जाँदा भन्नु हुन्थ्यो, तिमी कहिलेकाहीँ आउने आफूसँग धेरै पैसा छैन दिनलाई यति भए पनि जम्मा गरेर राखेकी छु । त्यति भनेर थैली देखाउनु हुन्थ्यो ।
म घर आउने बेलामा सबै पैसा झिकेर दिनु हुन्थ्यो । म आमालाइ भन्थेँ, आमा अबदेखि यो थैली मेरो लागि हो । आमा हाँस्दै नकरा भन्नुहुन्थ्यो ।
मलाई आमाले सबै पैसा आफुलाई नराखी दिनु हुन्थ्यो । तर मलाई त्यति बेला दुख लाग्थ्यो ।
मलाई मात्र दिने होइन, मेरो विवाह हुनुभन्दा पहिले मेरो ठुली दिदी (गोमा दिदी)लाई पनि आमाले पैसा दिनु हुन्थ्यो । आमाले दिदीको धेरै माया गर्नुहुन्थ्यो । दिदीले पनि आमालाई धेरै माया गर्नुहुन्थ्यो ।
आमाले त्यतिबेला मलाई दिएको पैसा पाएर म दंग पर्दै घरतिर लाग्थेँ । मेरो लागि आमाले दिनुभएको पैसा धेरै महत्वपुर्ण थियो त्यति बेला ।
धेरै बलियो रहेछ मेरो आमाको चौबन्दीमा झुन्डिएको थैली । धेरै सम्झना पनि लाग्छ मलाई ।
मेरो छोरा चार वर्षको भएपछि मामाघरमा बस्न थाल्यो । उस्ले पनि त्यो आमाको थैली देख्यो । ऊ मामाघर बसेको बेलामा झन् गाउँभरिका केटाकेटीको गुच्चा जितेर ल्याउने र आमाको त्यही थैलीमा राख्न दिने गर्दोरहेछ ।
आमा पनि नातीले जितेको भनेर दंग पर्दै थैलीमा राखिदिने आमाले । भन्नु हुन्थ्यो मलाई, कहिलेकाहीँ धेरै गुच्चा जितेर ल्याउँछ । मेरो थैली नै गह्रौं छ । के गर्नु ? थैली च्यातिएला भन्ने डर । अन्त राखभन्दा मान्दैन तिम्रो छोरा । नराखु भने पनि भएन । यो मात्र हो र, दिनको कहिलेकाहीँ दश पटक खोल्नु पर्छ ।
पहिला हामीलाई थैली खोलेर देखाउनु आमा भन्दा के छ र भन्नु हुन्थ्यो, अहिले नाती प्यारो भयो होला नि भनेर आमालाई जिस्काउँथे ।
अहिले मेरो छोरा धेरै ठूलो भइसक्यो । तर पनि उस्ले हजुरआमाको चौबन्दी चोलीमा झुन्डिएको थैलीको धेरै सम्झना गरिरहन्छ । ऊ बेलाबेलामा आमाको थैलीको बारेमा पहिला पहिलाको कुरा गर्छ । मलाई पनि उसको कुरा सुनेर आमाको थैलीको झल्झली याद आउँछ ।
आमाले गरेको माया, त्यो थैलीमा जम्मा गरेर दिएको पैसा र आमाको अनुहार मेरो मुटुको माझमा गडेर बसेको छ ।
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)