लोग्नेलाई आफ्नो नामदेखि नै घृणा !

कथाः भत्केको मन्दिर

श्रीरामसिंह बस्नेत

मानिस जब कुनै विपत्मा पर्छ तब ऊ ईश्वरलाई निरन्तर पुकार्न थाल्छ । अघि–पछि ईश्वरप्रति सामान्य भावमात्र राख्नेहरू पनि आपत्–विपत्का बेला ईश्वरप्रति ज्यादै श्रद्धालु बन्छन् । ठीक यही हालत अहिले उसको भइरहेछ । उसले जानेसुने जति सबै ईश्वरका नाम ऊ निरन्तर स्मरण गरिरहेकी छे । कैयौं मठ, मन्दिरमा उसले पूजा गरिसकी र कैयौंमा गर्ने भाकल मनमनै साँंचेकी छ ।

उसको यो अति धार्मिक प्रवृत्ति सुरु भएको आज त्यति नै दिन भयो जति दिन उसको सर्वस्व अर्थात् पति मोटर दुर्घटनामा परी गम्भीररूपमा घाइते भएको थियो । उसको घाइते पति जसलाई ‘दीपक’ भनिन्छ, उसले चाँहि आफू अलिअलि होसमा आएदेखि नै ईश्वरको भन्दा आफ्नी नवविवाहिता दुलहीकै नाम लिइरहेको छ । दीपकलाई ईश्वरभन्दा आफ्नी दुलहीको मायाप्रति बढी विश्वास छ । नहोस् पनि कसरी ? उनीहरूको विवाह भएको कति नै भयो र ? विवाहका रङ्गीन फोटोहरुसमेत तयार भएर आईसकेको छैन ।

बिस्तार बिस्तार दीपकको घाइते शरीरका विभिन्न घाउचोटमा खाटा बस्दै आयो । अब एउटै र अति नै महत्वपूर्ण कुरोको निर्णय हुन बाँकी छ– उसले आँखा देख्न सक्छ कि सक्दैन ? यो प्रश्नमा उसको, उसकी दुलहीको, उसका वृद्ध बाबु, आमा सबैको भावी जीवन अड्िकएको छ । आफूले उस्तो नरुचाएको परिवारकी केटीसँग छोरोको जिद्धीले मात्र विवाह गर्नु, विवाहलगत्तै दूर्घटना हुनु, दूर्घटनामा पनि बुहारीलाई सामान्य चोटमात्र लाग्नु तर आफ्नो छोरोचाहिँ जीवन–मृत्युको दोसाँधमा पुग्नु यावत् कारणले गर्दा बूढाबूढी साथै अरुहरूले पनि नयाँ दुलहीलाई ‘अलच्छिना’को कटू विशेषण प्रदान गरिसकेका छन् । आफूले पाएको यो नयाँ विशेषणप्रति उसले एकान्तमा चूपचाप आँसु बगाउनुबाहेक अरु केही प्रतिक्रिया देखाउन सकिन । उसको बीस वर्षे यौवन अब संसारका सबै कष्ट र घोचाइ चूपचाप सामनागर्न सक्नेगरी विस्तार विस्तार तयार हुँदैछ । त्यसैले यो नयाँ विशेषणप्रति केही आँसुमात्र चढाएर ऊ आफ्नो पतिको आँखामा पुनः ज्योतिको कामना गर्दै ईश्वर आराधनामा तल्लिन छे ।

आज दीपकको भाग्यको टुङ्गो लाग्ने दिन । अस्पतालको आँखा वार्डमा सबैजना जम्मा भएका छन् । डक्टर आएर उसको आँखाको पट्टी विस्तारै खोल्न थाले । जति उसको आँखाको पटट्ी खुल्दै जान्थ्यो उति उसको, उसकी पत्नीको र बाबु÷आमाको मुटुको ढुकढुकी एकदमै बढ्दै गइरहेको थियो । पट्टी पूरै खुल्यो । डक्टरको ‘देखिन्छ ?’ भन्ने छोटो प्रश्नले त्यहाँ उपस्थित सबैको जिज्ञासाको प्रतिनिधित्व गरिरहेको थियो । यसको उत्तर सुन्न सबैले आ–आफ्नो सास रोकिरहेका थिए । दीपकले धेरै पटक आँखाको परेला झिम्कायो….। तर सबैले सुन्न चाहेको उत्तर ऊबाट आएन । डक्टर अपसोच व्यक्त गर्दै वार्डबाट बाहिर गए । कसैको पनि मुखबाट केही आवाज निस्कन सकेन । दीपक आफ्ना ज्योतिहीन आँखा हत्केलाले छोपेर घोप्टो प¥यो ।

दिन बित्दै गए । मोटर दुर्घटनाका कारण दीपकको आँखाको दृष्टि गुमेको कुरा अब पुरानो घटना भइसक्यो । सबैले त्यसबारे चर्चा गर्न छाडिसके । तर ऊ स्वयम् कति कष्टमा छ, कति आत्मग्लानीमा छ, यसको शायद लेखाजोखा छैन । ऊ ज्यादै हीनताभासले ग्रसित भएकाले उसकी दुलहीले अनेकौँ चोट र लाञ्छना सहन परिरहेको छ । अब ऊ अक्सर आफ्नी दुलहीलाई शङ्काको दृष्टिले हेर्ने गर्छ । ऊ दुलहीसँग कहिले ‘तिमी यति राम्री, यति वैंसालु केटीको जीवन मैले बर्बाद गरिदिएँ’ भन्छ, कहिले ‘के तिमीलाई अझ पनि मेरो माया लाग्छ होला र ?’ भनेर घोच्छ । उसकी दुलही यस्ता प्रश्नको स्पष्टीकरण र उसलाई सान्त्वना दिँदादिँदा आजित भइसकी ।

उनीहरूको विवाहका रङ्गिन फोटोहरू आइपुगे । सबैले उत्सुकताभन्दा खिन्नता मिसिएको भावले फोटो हेरे । विचरा दीपकले त रङ्गिन तस्बिरहरू छामेर त्यसको चिप्लोपनमात्र अनुभव गर्न सक्यो । छाम्दा कतिवटा तस्बिरका चिप्ला सतहमा उसको तातो आँसु पर्न गयो, यो स्वयम् उसलाई पनि थाहा भएन ।

यसबीचमा उसले पाँच–सात जना आँखाका डक्टरसँग भेटी आफ्नो आँखा पतिलाई दिएर पुनः उसलाई देख्न सक्ने बनाउने प्रस्ताव पनि राखेकी थिई । तर सबै डक्टरले प्राविधिक कारणले त्यसो गर्नु प्रयोजनहीन हुने बताए । यो प्रयास पनि असफल भएपछि उसले धेरै पटक गान्धारीले झैँ आफ्नो आँखामा पनि पट्टी बाँधेर लोग्नेले देख्न नसक्ने यो संसार आफूले पनि नहेर्ने विचार गरेकी थिई । तर व्यावहारिक कठिनाइले गर्दा त्रेता युगमा भएको त्यो घटना यो कलियुगमा दोहोरिन सकेन । शरीरभर बहुमूल्य गहना र पोशाक, भण्डारभर अनाज, भान्छाभर स्वादिष्ट व्यञ्जन, कोठाभर विलाशी वस्तुका सजावट, दराजभर ब्याङ्क भौचर, पासबुक, चेकबुक र आय–व्ययका ठेलीले मात्र मानिसलाई वास्तविक सन्तुष्टि दिन सक्दोरहेनछ भन्ने तथ्य अहिले यस घरमा सबै जनाले अनुभव गरिरहेका छन् ।

उसको लोग्नेलाई अब आफ्नो नामदेखि नै ज्यादै घृणा लाग्न थालेको छ । ऊ सोच्छ– जसको आँखाले देख्न सक्दैन, जसका लागि संसार अँध्यारो छ, उसको नाम ‘दीपक’ हुनुको के अर्थ ? ऊ आजभोलि एक्लै बस्न रुचाउँछ । कसैलाई पनि आफ्नो अनुहार देखाउन चाहँदैन । तर ऊ भने आफ्नो लोग्नेलाई सकेसम्म एक्लो बस्न दिन्न । सधैँजसो उसको सामु बसेर उसको हात, शीर, मुहार सुम्सुम्याएर उसको हीनतावोध पन्छाउने अथक प्रयास गरिरहन्छे । तर दीपक भने आफ्नी दुलहीका यी सबै व्यवहार बनावटी ठान्छ ।

उसलाई दिइएको ‘अलच्छिना’ को विशेषण अब स्थायी भइसकेको छ । घरका अरु जहान र वरपरका सबैले उसलाई मौका पाउनासाथ तीक्ष्ण व्यङ्ग्य प्रहार गरी मर्माहत पार्न कत्ति पनि हिच्किचाउँदैनन् ।

एक पटक आँखामा गाजल, कपालमा फूल सिउँरिएर केही सिङ्गारिएकी दिन उसकी सासूले छिमेकीसँग उसलाई लक्ष्य गर्दै ‘कसलाई देखाउन ठाँटिएकी होली ?’ भनेको आफ्नै कानले सुनेपछि त्यसदिन देखि उसले सबै शृङ्गारलाई तिलाञ्जली दिइसकेकी छे । सबैको व्यङ्ग्यवाण, लोग्नेको अनावश्यक शङ्का÷उपशङ्का इत्यादि सबै चोट पिएर ऊ अनवरतरूपमा लोग्नेकै सेवामा समर्पित छे । अब उसलाई जीवनप्रति कुनै आकर्षण छैन । त्यसैले प्राण रहुञ्जेल लोग्नेकै सेवामा बिताउने सङ्कल्प उसले गरेकी छे । उसलाई चाडवाड, साथीसङ्गी, मेलापर्व कोही कसैसँग सरोकार छैन । एक किसिमको निर्वासित जीवन ऊ बिताइरहेकी छे ।

समयले अनेकौँ चोटमा खाटा बसाल्दै लान्छ । कुनै आशा, उत्साह र उमङ्ग नभएको उसको जीवनमा अचानक एउटा नयाँ आशा, उत्साह र उमङ्गको वीजाङ्कुरण हुन्छ– उसको महिना नाघेर । आफू अब छिटै बाबु बन्दैछु भन्ने शुभ सन्देशले उसको लोग्नेमा पनि अप्रत्याशित परिवर्तन आएको छ । अब दीपकले एकान्तमात्र रुचाउन छाडिसकेको छ । सधैँजसो आफ्नी दुलहीलाई साथमा राखी उसको स्वास्थ्यबारे सोधपुछ गरिरहन्छ । अनेकौँ सुझाव पनि दिन्छ, अनुभवीले जस्तै । कैयौँ कल्पना गर्छ, दुलहीलाई जिस्काउँछ, छोरा कि छोरी ? भन्छ, छोरा भए नाम के राख्ने, छोरी भए नाम के राख्ने भनी अनेकौँ नाम प्रस्तावित गर्छ । यसरी नवजात शिशुको आगमन हुने सूचना पाएदेखि नै आफ्नो पुनर्जन्म भएको अनुभव गर्न थालेको छ दीपकले । यसैको परिणामस्वरूप हिजोआज उसले पनि आफ्ना विगतका कटू स्वादहरू बिर्सी लोग्नेमा आएको परिवर्तनमा आफूलाई पनि आत्मसात् गरिसकेकी छ । आजभोलि ऊ सोच्छे– उसको लोग्ने दुर्घटनामा परेपछि उसले गरेको आराधनाबाट बल्ल ईश्वर प्रसन्न भएछन् क्यार ।

यथासमयमा उसले बालकलाई जन्म दिई । छोरो जन्मेकाले घरमा खुसियालीको लहर उर्लेको छ । दीपकको त झन् बयानै गर्न सकिन्न, उसले आफ्नो छोरो होइन आफ्नै पुनर्जन्म भएको सम्झेको छ । ऊ यति खुसी छ कि आफ्नी सुत्केरी छोरी र नवजात नातीलाई केही दिन माइतीमा राखेर स्याहार्न उसका सासू–ससुराले गरेका स्वाभाविक अनुरोध पनि उसले स्वीकारेन । आफ्नो छोरालाई आफ्नो प्रत्यक्ष सम्पर्कदेखि कहिल्यै पनि टाढा नराख्ने अठोट उसले गरिसकेको छ । ऊ चौबीसै घण्टा बच्चाकै साथमा हुन्छ । बच्चा अलिकति रोयो भने घरभर हल्ला मच्चाएर सबैलाई जम्मा गरी ऊ बच्चाको रुवाइ बन्द गर्न लगाउँछ । आफ्नो आँखा ज्योतिहीन भएको विषाद अब उसमा देखिँदैन ।

एवम् रितले हर्षाेल्लासकासाथ दिन बित्दै गए । ज्योतिहीन जीवन बिताउन उसको लोग्नेले सर्वोत्तम साधन पाएको छ । लोग्नेको खुसियाली देखेर उसको मनमा पनि अब कुनै विषाद र विरक्ति छैन ।

संस्कारअनुसार बालकको पास्नीको दिन पनि आइपुग्यो । पास्नीका लागि भव्य तयारी भयो । कहीँ कतै कुनै कमी नहोस् भन्ने दीपकको बारम्बारको विशेष आग्रहलाई सबैले शिरोधार्य गरेका थिए । पास्नीको शुभकार्य शुभ मुहूर्तमा रितपूर्वक सम्पन्न भयो । यस उत्सवमा सामेल हुन धेरै ठाउँबाट धेरै मानिस उसको घरमा जम्मा भएका छन् । आँखाले देख्न नसके तापनि कान र अन्य इन्द्रीयको माध्यमबाट उसले यो उत्सवको भव्यता राम्रैसँग अनुभव गरिरहेको छ । थुप्रै मानिसको जमघट भइरहेकाले भित्ता समाउँदै, लठ्ठीको सहाराले यताउति हिँडिरहन आफैँलाई सङ्कोच लागेकाले ऊ आफ्नै कोठामा बसिरहेको छ । घरका सबै पाहुनाको स्वागत सत्कारमै ब्यस्त छन् । कसैलाई दीपकको कोठामा आएर ऊसँग कुरा गर्ने फुर्सद छैन । पाहुनाले पनि जुन बच्चाको समारोहमा आएका हुन् त्यस बच्चाको दृष्टिबिहीन बाबु भेट्ने आवश्यकता शायद देखेनन् । सबैजना आ–आफ्नो भव्यता प्रदर्शन गर्नमै ब्यस्त छन् ।

धेरैअघिदेखि उसको मनभित्र पुरिएर रहेको हीनताभावले आज अलिकति टाउको उठाउने प्रयास गरेको उसले अनुभव ग¥यो । यदि उसको आँखा सद्दे भइदिएका भए आजको यस समारोहमा आफ्नो सबैभन्दा सक्रिय सहभागिता हुने कल्पना गर्दै तर त्यसको विपरीत आज आफू सबभन्दा निस्क्रिय भई काम नलाग्ने बस्तु पन्छाइएझैँ पन्छिएर बस्नुपरेकामा ऊ मौन आँसु बगाइरहेछ । यस्तै सोचेर बसिरहेका बेला उसको कोठापछाडिको बरण्डामा उसको छोरा बोकेर गफ गरिरहेका चार पाँचवटी स्वास्नीमानिस जसमा उसको आमापट्टिका र बाबुपट्टिका नातेदार छन्, उनीहरूका कुराले उसको ध्यान उतै तान्छ–

‘हैन यो बच्चो कसको गोत गएको छ हँ ?’

‘खै खाने मुख र निधार त ठ्याक्कै आमाचाहिँको छ ।’

‘हो, हो, खाने मुख र निधार आमाकै हो, आँखाचाहिँ मिल्दैन ।’

‘उसो भए आँखा बाबुचाहिँको जस्तो होला ।’

‘बाबुकै जस्तो आँखा भइदियो भने त बर्बाद भइहाल्यो नि ।’

‘अाँखा त आमा–बाबु, बाजे–बजै कसैसँग पनि मिल्दैन ब्यारे यसको । यति ठूल्ठूला आँखा कहाँ छ र उनीहरूको ?’

‘हैन यसको अनुहार र बाबुको अनुहारमा मिल्ने कुरो त केही पनि छैन जस्तो छ । यो नाक पनि बाबुचाहिँको जस्तो छैन, यो चिउँडो पनि हैन ।’

‘अँ त नि, बाबुचाहिँको अनुहारसँग त केही पनि नमिल्ने रहेछ, कुन्नि है ।’

सबैजना हाँस्न थाल्छन्, बच्चा रुन थाल्छ ।

यसपछि दीपकले केही पनि सुन्न चाहेन । दुवै हातले कान थुन्यो । उसलाई रिङ्गटा लागेर आयो र ओछ्यानमा गई घोप्टो प¥यो ।

सबै पाहुना निख्रिएपछि चहलपहल पनि समाप्त भयो । अनि उसकी दुलही कोठामा आई । उसले दुलहीलाई सोध्यो– ‘छोराको अनुहार कोसँग मिल्छ हँ ?’

उसले हाँस्दै सोधी र जवाफ दिई– ‘किन र ? अलिकति मसँग मिल्छ, अलिकति हजुरसँग मिल्छ ।’ उसलाई के थाहा यस प्रश्नमा कति ठूलो भुइँचालो लुकेको छ भनेर । दीपक फिस्स हाँस्दै भन्छ– ‘खाने मुख र निधार तिम्रो जस्तो छ तर मेरो अनुहारसँग उसको केही पनि मिल्दैन ।’

‘कसले भन्यो ? कसरी थाहा भयो ?’

‘सबैले भने, त्यसैले थाहा पाएँ ।’

उसले लाखौं प्रयत्न गरी लोग्नेलाई सम्झाउन तर सकिन । उसले यत्रो समय तपस्या गरेर बनाएको मन्दिर आज एकक्षणमै सब चकनाचुर भयो । क्रमशः विस्तारै फेरि उस्तै तीता दिन दोहोरिए जस्ता दिन यो बच्चा उसको गर्भमा आउनुभन्दा अघि उसले बिताएकी थिई । उसको लोग्ने आजभोलि छोरालाई वास्ता गर्दैन । उसले फेरि एकान्त नै रोज्न थालेको छ । ऊ हिजोआज घरमा जो नौलो मानिस आए पनि बच्चालाई देखाउँदै एउटै प्रश्न सोध्ने गर्छ– ‘यसको अनुहार कोसँग मिल्छ हँ ?’


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button