प्राण त्याग्दाको मुस्कान

बसन्ता पोख्रेल
धुर्कोट १, नयाँगाउँ, गुल्मी

प्राय पहिलो प्रेम असफल हुन्छ भन्थे । मेरो पनि असफल भएको थियो । असफल प्रेमबाट प्रेमका थुप्रै पाठ सिकेकी थिएँ । प्रेमबाट पाएको धोका अविस्मरणिय बन्ने गर्दछन् प्राय । धोकापछि एक्लै खुसी हुने सुरमा वर्षौं बितेछ ।

म स्नातक दोस्रो वर्ष अध्यनरत थिएँ । दोस्रो वर्ष अध्ययनको लागि म सदरमुकाम आएँ । मलाई प्रेमलाई बाठा र टाढा मान्छेले खेल्ने गेम जस्तै लाग्थ्यो । निरन्तर क्यम्पसमा जाऊआऊ भएको थियो । ३-४ जना केटीसाथी नजिकका बनिसकेका थिए । रमिला, पुष्पा, अमृता मिल्ने साथी । क्याम्पस लाइफ हो, रमाइलो गर्नुपर्छ भन्दै एउटा केटी ३-४ जना केटासँग बोल्थे । धनी केटाहरुको संगतले होला, सबै धनी केटालाई नै ब्वाइफ्रेन्ड बनाएका थिए । अनि म जो सिंगल देखेर साथीहरू खिसी गर्थे । मैले सोचेँ, एउटा साथी त चाहिँदो रहेछ समय बिताउन । त्यो पनि धनी केटा । बिहे त कोसँग हुन्छ, थाहा छैन ।

अनेक कुरा खेलाउने सुरमा म पनि साथीको खोजीमा परेँ ।

फेसबुक स्टोरीमा फोटो राख्दा लभ रियाक्ट थुप्रै आउँथे । कोही केटा सिधै ‘फोटो पठाऊ, तिमी सिंगल हो ?’ भन्ने थिए भने कोहीकोही आफू रिप्लाई नदिँदा पनि एकोहोरो बोलाएर दिक्क बनाउने थिए । म भने धनी प्लस असल केटोको खोजीमा थिएँ ।

साँझको समय थियो । सधैं जस्तै च्याट गर्ने क्रममा फ्रेन्ड रिक्वेस्ट आयो, सन्तोष नाम गरेको एक युवाको । प्रोफाइल खोलेर हेरेँ । केटो राम्रै, अझ जापानमा बस्ने रहेछ । रिक्वेस्ट एसेप्ट गरे । सुरुमा उतैदेखि मेसेज आयो । रिप्लाई गर्दा गर्दा रात १ बजेसम्म हामीले आफ्ना अनि परिवार सबैको बारेमा सोधपुछ गरिसकेका थियौँ ।

बिहानको कलेज । निद्राले सताएको थियो अनि दुवैले सुत्ने निर्णय गर्यौं ।

बिहान कलेज गएँ । सन्तोषको यादले पढाइमा मेरो खासै ध्यान पुगेको थिएन। सोचेँ, एउटाको यादले त यसरी सताउँछ झन् मेरा साथी ३, ४ जनाको याद अनि उनीहरुलाई समय कसरी हेण्डिल गर्छन होला ?

साथीहरुको आइफोन थियो । महंगा गिफ्ट । घुमाउन लैजाने ब्वाइफ्रेन्डको कमी थिएन । आफ्नो भने जेनतेन एउटा भेटिएको अझ जापानमा बस्ने । तर माया भने दिनप्रतिदिन बढ्दै गएको थियो । मलाई पनि मन नलागेको कहाँ हो र ! ठूला ठूला रेस्टुेन्टहरुमा गएर कफी पिउन, महंगा गाडीमा घुम्न अनि ठूलाठूला कम्पनीका मोबाइल बोक्न, डेटिङ जान तर यो वास्तविकभन्दा टाढा भएको थियो मेरा लागि । साथीहरु ३-४ जना केटा साथीसँग गिफ्ट ल्याउने र घुम्न जाने गर्थे । तर ममा भने स्वार्थीपन थिएन । थियो केवल उसको याद । समय कटाउन खोजेको भए पनि मैले मनमनै जिन्दगी कटाउने सपना बुनिसकेकी थिएँ ।

हरेक रात च्याट । रातभर नसुती नसुती च्याट ।

साँच्चै आउँदै छ यो पाली सन्तोष ।

सन्तोष पनि मलाई खुब माया गर्ने गर्थ्यो । यसै क्रममा आइफोन पठाएको थियो । हामीले साथी मानेर बोले पनि कहिले पनि बिहेको केही कुरा गरेका थिएनौं ।

ऊ नेपाल आयो । सन्तोष सोचेभन्दा राम्रो थियो । देख्नासाथ अँगालेको थियो । कारण मलाई थाहा भएन । न सोध्न सकेँ न त बोल्न नै । हामीले त्यस दिन होटलमा क्याफेमा मैले सोच्ने गरेको जस्तै महंगो बियर अनि मासुका आइटम खाएका थियौं । कुरा गर्दै जाँदा कतिबेला निदाउन पुगिएछ पत्तै भएन । बिहान भयो, उठेर फ्रेस भयौ र दुवै आ-आफ्नो घरतिर लागेका थियौं ।

घर भए पनि दुवै समय निकालेर कुरा गर्ने गरेका थियौं । माया बढ्दै गएको थियो । उमेर पनि मेरो बढ्दै गएकोले घरमा माग्न आउनेको लर्को थियो । मैले त्यो कुरा सन्तोषलाई जानकारी समेत गराएकी थिएँ । मलाई लागेको थियो उसले पनि मैले जति माया गर्छ । केही समयपछि भ्यालेन्टाइन डे पनि नजिक आउँदै थियो । त्यही समयमा मेरी साथी रमिला र म सन्तोषसँग भेट हुँदै गर्दा रमिलाले सन्तोषलाई प्रश्न गरिन्, ‘सन्तोष, तिमी यो भ्यालेन्टाइन कसरी मनाउँदै छौ ?’ उसले जवाफ दिएको थियो, ‘एउटी मेरी लुरीलाई प्रपोज गर्दै छु । थाहा छैन, उसले स्वीकार गर्छे या गर्दिन ।’ रमिलाले उत्तरमा ‘कति भाग्यमानी केटी है’ भन्दै मलाई हेरी तर उसलाई थाह थिएन सन्तोष र मेरो प्रेमबारे । अनि उसले मलाई पनि सोधेकी थिई, ‘कसरी मनाउँछौं त तिमी ?’ उत्तरमा म कसरी हुन्छ खै भन्दै मुसुक्क मुस्कुराएँ ।

सन्तोष मैले सोचे भन्दा बढी सोझो केटो थियो । म छिटै रिसाउने भएर होला, जे काम गर्न लगायो, त्यही काम गर्ने गर्दथ्यो । मलाई उसको सोझोपनदेखि खुब माया लागेर आउँथ्यो । त्यसैले होला, मैले सन्तोषलाई रोज डे को अघिल्लो दिन रोज किन्न लगाएँ अनि मलाई रोज दिन । ऊ मैले भने अनुसार रोज ल्याएर चौतारोसम्म आएको थियो । यसरी हामी सबै दिन त्यही विशेष अनुसार मनाएका थियौं ।

कुरा किस डे को । त्यो दिन मैले कल गरिनँ न त उसले । नभेटे पछि मलाई खुब रिस उठेको थियो अनि अन्तिममा उसको कल आएको थियो, के गर्दै छौ भनेर । मैले उत्तरमा किस डे मनाउन जाँदै छु अरु छन् भनेँ । सायद उसलाई रिस उठेछ क्यारे । कल राखेको केही समयपछि दौडिँदै ऊ मेरो रूमसम्म आएको थियो ।हाम्रो ओठ जुध्न आतुर थिए । ऊ मसँग फोन माग्दै थियो । फोन नदिएपछि ऊ ममाथि मेरो बेडमा पल्टिन पुगेछ । उसको तातो सासले मेरो मुटुको धड्कनको गति बढिरहेको थियो । अचेत जस्तै बनाएको थियो अनि ऊ पनि अचेत जस्तै भएको थियो ।

ओठको स्पर्श हुँदै थियो । ठीक त्यही समयमा कोही आएर बोलाएका थिए । हामी जुरुक्क उठेर मुखमा हेराहेर गर्यौं । त्यसपछि हामी दुवै उठेर ढोका खोल्यौं ।

अर्को दिन प्रपोज डे । त्यो दिन ऊ कल गरेर नजिकको पुलमा भेट्न आतुर थियो । म पनि उसलाई मन पर्ने कलरसहितको ड्रेस लगाएर गएको थिएँ । कयौं पटक ऐना हेरेकी थिएँ । मन् आतुर थियो । तर म उसले बोलाए अनुसार जान सकिनँ । २ घण्टा ढिलो भएछ । ऊ मलिन हुँदै घर फर्किएछ । जब म उसको घर पुगेँ, ऊ रिसले आगो भएको थियो । कोठामा एक्लै चुकुल लगाएर सायद मेरो बाटो हेर्दै रिसको तगारो लगाएको थियो । ऊ उसको ढोका बनाउन खोजेँ तर मलाई पुन खोकी लगातार लाग्यो । बोल्न सकिनँ । र, अन्तिम पटक मैले भनेँ, ‘सन्तोष, तिमी मेरो खुसी हौ । आऊ । मलाई तिमी आवश्यक छ ।’

त्यति भनेपछि उसले मलाई स्वार्थी नाम दियो ।

म आतुर हुँदै घर पुगेँ । मेरो खोकी रोकिएको थिएन । मलाई घरमा पनि आमाले घुम्न जाँदा रमाउँदा केही भन्नु हुँदैन थियो । बरु म कहिलेकाँही खुसी हुँदै गर्दा आमाका आँखा रसाएका हुन्थे । आमा मसँग खुसीको आँसु भन्नु हुन्थ्यो । तर, त्यस दिन मलाई खोकीले गारो बनाएपछि खोक्दा रगत आएको थियो । तीन दिनसम्म मलाई समस्या भै रहयो । मलाई मेरो शारीरिक पीडा थिएन । थियो त केवल सन्तोषको याद अनि मैले गर्दा ऊ निरास भएको चिन्ता लागिरहेको थियो । चार दिनको दिन भने मलाई श्वासप्रश्वासमा पनि समस्या, छातीको दुखाइ र रगतको खोकीले गलाएपछि म बेहोस भएछु।

जब होसमा आएँ, म अस्पतालको बेडमा थिएँ । मेरो छेउमा भने अमृता, रश्मी अनि आमा आँसु बगाउँदै थिए । त्यो देखेर म पनि रोएँ । मैले सन्तोषको नाम पुन लिन सुरु गरेँ तर ऊ भने मलाई भेट्न आएको थिएन त्यहाँ । मलाई त्यस दिन बाहिर घुम्न जान मन लाग्यो । रश्मीले मलाई लिएर हावा खुवाउन हिँडेकी थिइन् ।

हामी बाहिरबाट बेड भएको रूममा आउँदै थियौं, डाक्टरले आमासँग भन्दै थियो, छोरीको यो धर्तीमा अब आयु कम छ । अहिलेसम्म औषधिले काम गर्यो । अब सम्भव छैन । हामी आफ्नो ठाउँबाट सक्दो सहयोग गर्यौं । बरु हजुरहरू नानीलाई खुसी बनाउँदै उनका इच्छा पूरा गर्नु ।

के के भन्दै थिए, मेरो आँसु रोकिएन ।

त्यस दिन थाहा भयो, आमाले भिटामिन भनेर हरेक रात खुवाउने औषधि क्यान्सर र टीबी रहेछ । तर मैले सन्तोषप्रति देखेको जिन्दगी कटाउने सपना यो जुनी पूरा गर्न सकिनँ । न त मैले उसलाई प्रपोज डे को दिन भेट्न नसक्नुको कारण बताउन सकेँ । न त समय नै पाएँ । मलाई स्वार्थी नाम दिए पनि मलाई थाहा छ, उसले मलाई सताए पनि खुब प्रेम गर्नी गर्दथ्यो । मैले रश्मीलाई मेरो च्याप्दो रोगसँगै सन्तोषलाई भन्नु पर्ने सबै कुरा रेकर्ड गरेर दिएकी थिएँ । म प्रेम गर्ने भएको हुनाले उसको पर्खाइमा थिएँ । मेरो शरीर मरेको थियो । आत्मा मरेको थिएन । मर्न खोज्दै गर्दा सन्तोषको प्रेम र यादले प्राण जान गार्हो परिरहेको थियो ।

मैले रेकर्डमा भनेकी थिएँ, किस डे को दिन लगातार खोकी रगत आएको अनि म बेहोसी भएको । उसको खुसीको लागि म उसलाई न भन्न सके न वाचा पूरा गर्न । अन्तिम अवस्थामा थाहा भयो, आमाको एक मात्र सन्तान म अनि बाबु म सानै हुँदा भगवानको प्यारो भएर होला आमा मलाई भगवान कहाँ जाऊ भन्ने मन् गर्नु हुँदैन थियो । त्यसैले होला मेरो खुसीमा आँसु बगाउने, एक्लै रुनी गर्नु हुन्थ्यो । मेरो आयु लामो होस् भन्ने सोचेर होला, मलाई त्यो औषधिको रहस्य कहिले बताउनु भएन । थाहा त मलाई डाक्टरको कुरा सुनेर पो भयो ।

रश्मी मेरो लागि जुस लिन भनेर पसल जाँदै गर्दा सन्तोष विदेश हिँड्न लागेको रहेछ । ऊ हतारहतारमा हुँदाहुँदै पनि रश्मीले त्यो रेकर्ड ऊसम्म पुराएर आएकी थिइन् अनि भन्दै थिईन्, सन्तोषले तिमीलाई सम्झँदै थियो । उसले तिम्रो सबै कुरा थाहा पायो । आँसु खसाल्दै थियो । ऊ नचाहँदानचाहँदै पनि गाडीमा चढ्न बाध्य भयो अनि म जुस लिएर आएँ ।

भनिन् ऊ भेट्न नपाए पनि तिमीलाई हेर्न चाहन्छ । त्यसैले भिडियो कल गर्नु भनेको छ मलाई भनिन् । म बोल्न नसक्ने अवस्थामा थिएँ । आँसु खसाल्दै उनको फोनमा सन्तोषको घन्टी सुन्न आतुर थिएँ । उसले मेरो रेकर्ड सुनेपछि जहाजमा बस्दै गर्दा कल गर्यो अनि अन्तिम पटक खुसी हुँदै मेरो लागि आँसु बगाएको थियो । खुसी हुने म मर्दा होइन, मलाई देख्न पाउँदा खुसी भएको थियो अनि म खुसीले आँसु खसाल्दै सबै कुरा जानकारी गराउन पाउँदा ।

अब कुनै पछुतो रहने भएन । सायद स्वर्गमा बास हुन्छ जस्तो लाग्यो । बोल्न नसके पनि हात दिएँ । उसले पनि स्पर्श गरे जस्तै गरेर भन्यो, ‘म तिमीसँग छिटै आउने छु । मलाई पर्खनु । अर्को जुनी दुवै मिलेर अधूरा सपना पूरा गरौंला ।’

म मुस्कुराएँ । तर त्यो मुस्कान प्राण त्यागको थियो । सजिलै प्राण त्याग्न सफल भएँ । अनि मेरो सन्तोषलाई भेट्न कुरा गर्न कालान्तरसम्म कुरिरहने छु । सन्तोष आँधीसरी आएको थियो मेरो जीवनमा भने सन्तोषसँग मेरो प्रेम सपना जसरी पूरा नहुँदै टुंगियो ।

(कसैको जीवनमा मेल खान गएमा संयोग मात्र हुनेछ ।)


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button