
चिनी १ किलोको ७ रुपैयाँ !
त्यो जमाना, यो जमाना
पेशल आचार्य
वाह ! समयले रङ फेरेको छ । जमाना फेरिएको छ । हिजो आजजस्तो थिएन पक्कै पनि । आज हिजोजस्तो हुने छैन अवश्य पनि ।
हिजो बाउ हो । आज छोरो । हिजो विगत् हो । आज आगत । हिजो इतिहास हो भने आज वर्तमान हो ।
फरक हुन्छ र भएको छ । समाजमा । राजनीतिमा । धर्ममा । अर्थको क्षेत्रमा । शिक्षाको क्षेत्रमा । जेमा पनि पृथक छ । जेमा पनि अलग छ ।
हामी हिजोको रस चुसेकाहरु आज पनि हिजोकै गुणगान गाइरहेका हुन्छौं । हिजोकै मादल ठोकिरहेका हुन्छौं । हिजोकै लुगामा आफूलाई रम्य्राएर हिँडिरहेका हुन्छौं । हिजो भनेको इतिहासको गर्तमा बिताइसक्यो । हिजो भनेको क्षितिमा अस्ताउने सूर्य भैसक्यो । हिजो भनेको कहिल्यै नआउने पथको पथिक भैसक्यो ।
हिजो गयो । आज आयो ।
हिजो भनेको सम्वत् २०३४ साल । त्यो बेला खसीको मासु १५ रुपैयाँ किलो पाइन्थ्यो । चरुवा खसी । बधुँवा खसी । अ¥ग्र्यानिक खसी । सँगिनी सुई नलगाएका खसी । त्यो बेला खसी नपाल्ने गृहस्थी गाउँमा हुन्थेनन् । हामीले पनि खसी पालेका थियौं । कस्तो गजब भने खसी सबै पाल्ने तर आफ्ना घरमा काटेर खान माया लाग्ने । कतिपय त आफूले पालेका खसी हाटमा बेचेर अरु नयाँ खसी किनेर ल्याउने अनि दसैँमा काट्ने गर्थे ।
मैले थाहा पाएदेखि कहिले त्यसो भयो । कहिले त्यसो भएन ।
त्यो जमानामा १५ रुपैयाँमा पाएको खसीको मासु अहिले मेरो घर काठमाडौँमा १३५० रुपैयाँसम्म पर्छ । तैपनि हामी किनेर खाइरहेका छौं । हामी केही हेर्दैनौं । चरुवा हो । बधुँवा हो । अ¥ग्र्यानिक हो । विकासे हो । अहिले खान पाए भएको छ । हिजो छानेर, रोजेर, खोेजेर, तौलेर, मोलेर र अनेक नानावली गरेर खाने हामी र हाम्रा बाहरु आज जे छ त्यसैमा चित्त बुझाइरहनु भएको छ ।
जमानाले पल्टा खाएको हो । हामीले पल्टा खाएका हौं ?
सम्वत् २०३३ सालमा चिनी १ किलोको ७ रुपैयाँ । आज १ किलो चिनीको ११० रुपैयाँ । ७ रुपैयाँमा चिनी किन्दा पनि आमाबाहरु चिनी महँगो भयो अब किनेर खान सकिँदैन भन्नु हुन्थ्यो । अहिले हामी पनि अब चिनी ११० रुपैयाँ भयो किनेर खान सकिँदैन भन्न थालेका छौं । त्यो बेलामा कसैलाई सुगर भएको सुनिँदैनथ्यो । अहिले घरमा भरसक सबै पारिवारिक सदस्यलाई सुगर भैसकेको छ नभए पनि बूढा भएका बाउआमाहरुलाई हरेक दिन सके २ वटा नसके पनि एउटा सुगरको दबाई खुवाउनु परेको छ ।

हिजो चिनी बजारमा थियो । आज चिनी बजारमा छैन । हरेक मोटा मानिसका शरीरमा पसेको छ ।
त्यस्तै खाने तेल । हामीले त खाने तेल किनेर खान थालेको नै सम्वत् २०६० साल तिर हो जस्तो लाग्छ । तराईमा तोरी खेती उधुम हुने । तोरीको साग खाएको र तोरीको पेलेको काँचो तेलसँग तातो भात खाएको हिजोजस्तै लाग्छ । तोरी पेल्न आमाका सारीको सप्को समाउँदै मारबाडीको तेल मिलसम्म गएको । घरररर गरेर मिलले तोरी पेलेको सुनेको । अनि तात्तातो तेल लिएर ट्यामी, जर्किन या बाल्टीमा घर आएको । बासी भात तताएर तातो काँचो तेल हालेर भात मुछेर भात खाएको हिजोजस्तै लाग्छ ।
सुत्ने बेलामा आमाहरुले तेल तताएर कपालमा लगाइदिनु भएको । हात गोडामा तेल लगाउन लगाएर न्याना लुगा ओढाएर सुताउनु भएको । आनन्दले तेलले शक्ति दिएको दिन देख्न अब कहाँ पाउने ?
कठैबरा ! ती दिन गैगए !
त्यो जमाना सस्तो थियो । अहिले जमाना महँगो भएको हैन । सबै चिजबिच महँगा भएका हुन् । मात्र मान्छे सस्ता भएका हुन् ।
हिजो धर्म थियो । आज धर्म हरायो । हिजो अर्थतन्त्र दह्रो थियो । आज अर्थतन्त्र धमिराले खाँदै गयो । हिजो हामी समाजमा सामाजिक भावना पाउँथ्यौं । जन्ती र मलामीमा आफन्त खोज्थ्यौं । आज सहरीकरणमा जन्ती र मलामी समेत नपाउने बेला भैसक्यो ।
हिजो अपनत्व थियो । आज सेल्फी मन पराउने र सेल्फीस भए सारा मानिसहरु । हिजो इमान र जमान भाक्थे मानिसहरु । आज इमान र जमान बत्र्याउनु पर्दा भाग्छन्– मानिसहरु ।
त्यो जमाना । यो जमाना । आकास पातालको अन्तर छ । पूर्व र पश्चिमजस्तै फरक छ । कहीँ कतै भेट नहुने समानान्तर रेखाझैँ भएका छन् –हिजोका दिन र आजका दिन ।
वाह ! हिजोको त्यो जमाना । अरे ! आजको यो जमाना ।
तुलनै हुन नसक्नेका बीच पनि के धृष्टता राखेर म तुलना गरिरहेको छु ।
तुलना गर्नु नै दुःख हो । तुलना नै दुःखको घर हो । यो मैले भनेको होइन । बुद्धले भनेका हुन्ु । बुद्धले भनेको कुरालाई मैले मेरो कदापि भन्नु हुँदैन । किनकि म बुद्ध होइन । बुद्धू हूँ ।
म बुद्धू हूँ । तर यति कुरा बुझ्छु कि– जसले जीवनमा तुलना गर्छ, उसले धेर दुःख पाउँछ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)