ट्वाइलेट सित्तै प्रयोग गर्न अप्ठेरो लागेर चिया खान बसेको

सुष्मा खत्री

शनिवार छुट्टी । यसो बिहान कान्तिपुरी नगरीतिर लागियो । देवदेवीको मन्दिर दर्शन गर्न । बाटोदेखिको लामो लाइन रहेछ । मन्दिर दुई फन्का लगाउने गरी ।ढिलो नगरी लाइन बसिहाल्यौं । मन्दिर परिसर वरीपरि पूजा सामान बेच्ने पसलहरू । पूजापाठ गराउन बसेका पण्डितहरू । कोही बच्चा च्यापेका । कोही अपाङ्गता भएका । कोहि बृद्धबृद्धा । माग्न बसेका । लाइनमा ४५ मिनेट, १ घण्टा बिताउँदा अनेकन अनुहार देख्न पाईन्छ ।

मन्दिर माथिबाट परेवाले बिस्ट्याईदिन्छ । पुछपाछ गर्यो । जुत्ता फुकालेर फन्को मार्दा गोडाले के के कुल्चिन्छ के के । कहिले जुत्ता हराउँछ । सुनिन्छ कसैको आवाज, मोवाइल र पैसा कतिबेला ब्यागबाट हराइसकेछ । हुन त प्रहरी यताउता घुमेकै देखेको थिएँ । कस्तो भिड । लाइन नबसी दर्शन गर्नेहरू पनि त्यत्तिकै । बत्ती बाल्ने, पाठ गर्नेहरू सब आफ्नै धूनमा । बल्ल बल्ल भित्र पुग्यो, ल ल छिटो छिटो भनेर तानिहाल्छन् । हुन पनि त्यतिकालाई पालो दिन त पर्यो नै ।

पूजारीलाई भेटी, नैवेद्य उठाउन भ्याईनभ्याई । दानपात्रमा पनि दानपैसा जम्मा भएकै देखिन्छ । दर्शन गरेर बाहिर निस्केपछि बल्ल ट्वालेट जान पर्ने भनेर यताउति खोज्छु ।अहः छैन । अब कुनै रेष्टुरेण्ट छिर्न पर्यो भनेर हिँडियो । बिहानको समय त्यति खोलिसकेको नहुने रहेछ । घरै पुगौ भने पनि समय लाग्ने । कस्तो आपद । घरबाट निस्केको २, ३ घण्टामा त शरिरले ट्वाइलेट खोजिहाल्दो रहेछ । बल्ल एउटा रेष्टुरेण्टभित्र पस्यौं । ट्वाइलेट छ भनेर सोध्न सकिएन । चिया, ब्रेकफास्ट बन्छ भनेर सोध्यौं । बस्यौं । कालो चिया आयो । बल्ल यहॉ ट्वाइलेट छ भनेर सोधे्रँ । गएँ । धन्य, सफा रहेछ ।

टोस्ट, चिया खाई सकेर पैसा तिरियो । अनि मलाई अहिलेको जल्दोबल्दो प्रश्न सोध्न मन लाग्यो । तपाईकहाँ फ्रि ट्वाइलेट प्रयोग गर्न मिल्छ ? उहाँले मिल्छ भन्नुभयो । ‘ए, हामी त ट्वाइलेट सित्तै प्रयोग गर्न अप्ठेरो लागेर, चिया खान बसेको । नगरपालिकाले भनेको कुरा के कस्तो भईरहेको रहेछ भन्ने कुरा मेरो आँखाले अबलोकन गर्न खोज्यो । नगरपालिकाद्वारा फोहोर उठ्दै थियो । स्वंयसेवकहरू समेत लागिपर्नु भएको छ । यसो हेर्दा त बढी फोहोर त रेष्टुरेण्ट, हस्पिटल, कारखाना, कार्यालय, तरकारी फलफूल बजार आदिबाट निस्कने रहेछ । अझ बाटोबाटोमा ल्याएर फोहोर फ्याँक्नेहरूलाई के भन्ने ? फोहोर छुट्याएर फ्याँक्न नसक्ने नागरिकहरू । यी सब देखेर उदेक लाग्छ ।

रेष्टुरेण्टहरूले फ्रि शौचालय प्रयोग गर्न दिएर नगरपालिकालाई सहयोग गर्ने कुराचाँहि सह्रानिय छ । यो अहिलेको आवश्यकता नै रहेछ । मन्दिरमा उठेको पैसाले एउटा शौचालयको व्यबस्था हुन पनि जरूरी देखिन्छ । एउटा मन्दिर वरीपरी नै अनेकन सुधार गर्नुपर्ने पक्षहरू देखिन्छन् । केही त स्वयंले आफैले पनि गर्न सकिन्छ । भिडभाड नगरिकन लाइनमा बसिदिनु । प्लास्टिक, फोहोर जहिँतहिँ नफ्याँकिदिनु । केही दान गर्नु । परेकालाई सहयोग गर्नु ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button