सन्तानजस्तै मातापिता पनि थरीथरीका

देवकी केसी

मानिसले यही समाजबाट नै सम्पुर्ण कुरा सिक्ने अवसर पाउँछ । त्यसैले त मानिसलाई सामाजिक प्राणी भनिएको हो । त्यसो त समाजबिना मानिसको जीवन अपुरो नै छ । त्यसैले त समाजलाई सिकाइको थलो मानिएको हो । जीवनका अनेकौ भोगाइ र भागलाई बुझ्ने पाठशाला हो समाज । मैले पनि यो समाजबाट धेरै सिक्ने अवसर पाएको छु । यहि समाजमा देखापरेका अनेकौ उतारचढाव र भोगाइबाट परिपक्वताको पथतिर लम्कने अवसर मिलेको छ । समाज भोगाइको क्रमश आफुले यो समाजमा देखेका विभिन्न खाले मातापिताहरुको चर्चा गर्न मन लाग्यो ।

वास्तवमा मातापिता भन्ने संसारकै सबैभन्दा प्रिय शब्द हो । यदि भगवानभन्दा माथि कोहि छ भने त्यो मातापिता नै हो । यो समाज भोग्दै जाने क्रममा मैले केही मातापिताहरु देखेँ, जसले यो समाजमा मातापिताको महानता र निचता दुबै झल्काउँछ ।

मातालाइ धर्ती, जननी, ममताकी खानी, महानता र त्यागको प्रतिमुर्ति जस्ता अनेकौ उपमा दिएर स्वर्गभन्दा पनि उचो स्थान दिइएको छ । तैपनि समाजको पाना पल्टाउने क्रममा मैले थरिथरिका माताहरु भेट्न पाएँ । आफ्ना सन्तानको भबिस्यको लागि धेरै सौताहरु खेप्ने, लोग्नेको शारीरिक र मानसिक यातना खेप्ने र भोकभोकै काम गर्ने माताहरु पनि यहि समाजमा देखेँ । फेरि यहि समाजमा आफैले जन्म दिएका सन्तानलाई जलाएर नाठोसित भाग्ने, आफुले जन्माएको सन्तान्लाई खोलामा बगाउने, आफ्ना छोरीहरुलाई अनगिन्ती पुरुषसित रासलीला मच्चाउन छुट दिने र आफु मदिरामा लठ्ठी रहेका माताजीहरु पनि यो समाजमा मेरै आँखाले देख्यो ।

यो समाजका माताजीहरु मात्र होइन पिताजीहरुको पनि चर्चा गर्नै पर्छ । यो समाजमा मैले त्यस्तो पिताजीहरु देखेँ, जो चौबिसै घन्टा मदिरामा भुलेर पुर्ण रुपमा आफ्नो सन्तानको भबिस्यप्रति गैरजिम्मेवार थिए । अर्काथरी पिताजीहरु आफ्नो श्रीमतीको मृत्युपश्चात पनि सन्तान भनेर अर्को बिहे नगरी मातापिता दुबैको भुमिका निर्वाह गर्ने जिम्मेवार थिए । खाली स्त्रीप्रति लालायित भएर जीवनकालमा पन्ध्र बीस जना श्रीमती बिहे गरेर बच्चा जन्माउँदै हिड्ने पिताजीहरु पनि यहि समाजमा पाएँ । श्रीमतीले अन्तैबाट जन्माएर ल्याएका सन्तान पनि आफ्नै नासो सम्झेर ममता दिने पिताजीहरु पनि भेट्न पाएँ । एउटा श्रीमती मन नपरेर दोश्रो श्रीमती ल्याएर दोश्रो अर्थात आफुले खोजेको मन परेकी श्रीमतीबाट जन्मेका सन्तान्लाई चाहि जस्तो भए नि मन पराउने, मन नपरेको श्रीमतीबाट जन्मेका सन्तानहरुलाई चाहिँ नागरिकताबाट पनि बन्चित गर्ने पक्षपाती पिताजीहरु पनि यो समाजमा देखिँदा पिताजी भन्ने पवित्र शब्दमाथि पनि कता कता खेद लागेर आयो । आफैले जन्माएका सन्तानलाई नागरिकता नदिने र अर्काको सन्तानलाई हुर्काएर उत्तराधिकारी बनाउने अर्काथरी पिताजीहरु पनि यो समाजमा प्रत्यक्ष रुपमा देखियो ।

श्रीमती मरेपछि जीवनभर उसकै नाउँ जपेर बस्ने पिताजीहरु देखिने समाजमा धेरै स्त्रीलाई श्रीमती बनाउने पिताजी र सन्तानलाई लत्याएर धेरै परपुरुष रोज्ने माताजीहरु पनि भेट्नु नौलो त अवश्य होइन, यो समाजको लागि । परस्त्रीगमन र परपुरुषगमनले यो समाजमा विकृति थपेको त स्पष्ट नै छ ।

समाजरुपी खुल्ला पाठशाला बाट मैले सुखदुःख भोगाइ, नारी पुरुष सबैलाई किताबको पाना झै गरी पल्टाएर हेर्ने अवसर पाएँ । यहि क्रममा समाजका विविध रुपधारी मातापिताहरु पनि देख्ने अवसर पाएँ । सकारात्मक र नकारात्मक दुबै पक्ष यो समाजभित्र लुकेको हुन्छ । यो ध्रुवसत्य पनि हो कि मातापिताविना सृष्टि चल्दैन । सन्तानको लागि मातापिता सर्वस्व हो । तैपनि यो समाजमा मातापिताको नाउँमा कलंक र भगवान जतिको असल चरित्र भएका दुबै खाले मातापिताहरु पाईँदो रैछ । जे जस्तो भए पनि मातापिता असल भैदिए सन्तान असल आचरणका हुन्छन् ।

कामना गर्दछु, यो समाजका सबै मातापिता असल र चरित्रवान भैदिउन् र आफ्ना सन्तानलाई पनि असल र चरित्रवान बनाइदिउन् ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

One Comment

  1. अति मीठो सामाजिक घटनाको परिवेशलाई चित्रण गरिएको पाए , हार्दिक शुभकामना ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button