शेरबहादुर देउवा पाँच पटक प्रधानमन्त्री भएर मलाई हिजो निकै फाईदा भयो

व्यंग्य

केशवराज आचार्य

धेरैले भनेको सुनिन्छ, ‘शेरबहादुर देउवा पाँच पाँच पटक प्रधानमन्त्री भएर देशलाई के फाईदा भयो ?’

देशलाई र अरुलाई के फाईदा भयो मलाई थाहा छैन तर मलाई चाहिँ हिजो निकै फाईदा भयो । के के न नेपाल घुमेको भनेर फुईं लाउने गरेको मलाई डडेलधुरामा विमानस्थल छ भन्ने नै थाहा रहेनछ । मलाई मेरो त्यो कमजोरी थाहा पाउन र सुध्रिन चाहे सुध्रिनका लागि मार्गदर्शन गर्न सहयोग गर्नुहुने सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा र माननीय मन्त्री ‘प्रेम रतन धन पायो’ प्रेम भाइ प्रति ‘तहे दिल से’ कृतज्ञ छु । यसपालीको वजेटमा ‘डडेलधुरा विमानस्थल स्तरोन्नति गरिने’ भनिएकाले डडेलधुरामा विमानस्थल रहेको अनुमान गरेको हुँ । आफ्नै सरकारले भने पछि पत्याउन पनि पर्यो ।

सुदूरपश्चिमका सात पहाडी र दुई तराई/मधेसका जिल्लाहरु मध्ये डडेल्धुरा मात्र विमानस्थल नभएको जिल्ला हो। अरु सबै जिल्लामा हुने तर झन् पाँच पटक प्रधानमन्त्री हुने व्यक्तिको जिल्लामा विमानस्थल नहुने, त्यस्तो पनि हुन्छ? भन्ने नेपाली मनोविज्ञानले त्यहाँ “नभएको विमानस्थल” को स्तरोन्नति गरिने भएको होला भन्ने अनुमान गर्न सहजै सकिन्छ ।

विमानस्थलको स्तरोन्नति गरिने भनिएको स्थान चाहिँ डडेलधुरा जिल्लाको अजयमेरु गाउँपालिका, वडा नं. १ समैजीको पुइलेकदेखि वयलडाँडासम्मको १२ सय मिटर जग्गामा रहेछ। त्यो स्थल सदरमुकामबाट १२ किलोमिटर उत्तर बैतडी जिल्लाको सिमा नजिक रहेको छ। धेरैलाई थाहा पाउन सहज होस् भन्नाका लागि हामीलाई बाल्यकालमा स्व. तारानाथ शर्माले चिनाउनु भएको ‘घनघस्याको उकालो’ यस प्रस्ताविक विमानस्थलबाट सिधै पश्चिम रहेको छ ।

सुदूरपश्चिममा रहेका विमानस्थलहरु मध्ये धनगढी र बाजुराका विमानस्थल मात्र राम्रोसँग चलेका छन् । ती दुबै चल्नुमा बुझ्न सकिने कारण छन् । बझाङको पनि चलेको छ तर सायद अव धेरै चल्ने वाला छैन। अछाम, साँफेबगरको जबरजस्ती चलाइएको विमानस्थलको के कुरा गर्नु? भोटको राजनीतिका लागि डडेलधुरामा विमानस्थल बनाइएमा त्यो पनि बनेको भोलिपल्ट देखि बन्द हुनेमा कुनै शंका नगरे हुन्छ । यदि विमानस्थलको खाँचो नै महसुस गरिएको हो भने बैतडीको पाटनस्थित विमानस्थललाई स्तरोन्नति गरेमा त्यसले दार्चुला, बैतडी, डडेलधुरा र बझाङ जिल्लासम्मलाई सेवा प्रदान गर्न सक्छ ।

थाहा छ यस्ता कुराले शाषकलाई छुनेवाला छैन । किनकि सत्तामा बस्नेहरुको दिमागमा फरक रसायन उत्पादन हुने रहेछ । उनीहरुलाई के चीजले छुन्छ र उनीहरुको दिमागमा कस्ता प्रकृया र प्रतिकृयाले कुन खाले रसायन उत्पादन हुन्छन् भन्ने थाहा पाउन सत्तामा पुग्नु पर्ने रहेछ तर त्यहाँ पुग्दासम्म पुग्ने मान्छेको पनि दिमागमा त्यस्तै खाले रसायनिक प्रकृया र प्रतिकृयाले नयाँ रसायन उत्पादन भइसकेको हुनेरहेछ । Vicious Circle, you know याने दुष्चक्र !!!


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button