पतिको नाम उच्चारण गर्न हुँदैन भनेर पत्नीहरु पतिका साथ मतदान गर्न जान्थे
उहिलेको चुनाव, अहिलेको चुनाव
नवराज न्यौपाने
हामी सानो छँदा चुनावमा मताधिकार प्रयोग गर्न एक्काइस वर्ष उमेर पुगेको हुनुपर्थ्यो । नागरिकताको प्रमाणपत्र बनाउने प्रचलन पनि थिएन । मतदाता नामावली सङ्कलन गर्न आउँदा नाम लेखाउन जाने प्रचलन पनि थिएन । अरु व्यक्तिले नामथर, ठेगाना, उमेर र बाबुको नाम टिपाइदिने पनि हुन्थ्यो ।
राजनीतिमा चासो राख्ने व्यक्तिले कलिला नानीबाबुका उमेर एक्काइस वर्ष पुगेको भनेर नाम टिपाइदिन्थे । त्यो बेला निर्दलीय पञ्चायती व्यवस्था थियो । कुनै परिचयपत्र, नागरिकताको प्रमाणपत्र र फोटो केही नचाहिने भएकोले नाम ,ठेगाना ,उमेर र बाबुको नाम (विवाहिता महिलाको हकमा पतिको नाम) भनेर भोट् खसाल्न पाइन्थ्यो ।
पहिलेका महिलाहरु लोग्नेको नाम उच्चारण गर्न हुँदैन भन्थे । त्यसैले आफ्ना पतिका साथ मतदान गर्न जान्थे । मतदाता नामावली र व्यक्तिगत घटना दर्तासँग कुनै अन्तरसम्बन्ध थिएन । नाम टिपाउँदा जति उमेर थियो, हरेक चुनावमा उमेर त्यति नै लेखिएको हुन्थ्यो । मृत्यु भएका र बसाइ सरेका व्यक्तिहरुको नाम पनि हटाइएको हुन्नथ्यो ।
मतदान केन्द्र पनि गाउँ पञ्चायत भवनमा हुन्थ्यो । त्यसैले टाढा घर भएका वृद्ध, वृद्धा र अशक्तहरु मतदान गर्न जाँदैनथे । त्यतिबेला मानिसहरु अर्काको नाउँमा भोट् खसाल्नु पाप सम्झन्थे । त्यसैले स्कूल क्याम्पस पढ्ने विद्यार्थीलाई खाजा खुवाएर उम्मेदवारका प्रतिनिधिहरुले विवरण घोकेर भोट् खसाल्न लगाउँथे । हातको मसी मेटेर एउटै व्यक्तिले ९, १० जनाको नाममा भोट् खसालेका पनि भेटिन्थे । अहिलेको जस्तो झडप र झमेला कतै पनि हुँदैनथ्यो ।
सामाजिक सुरक्षा भत्ता पाउने भएपछि मात्र प्रौढ नागरिकले नागरिकता बनाउन थाले । विद्यार्थीलाई भने क्याम्पस पढन नागरिकताको प्रमाणपत्र अनिवार्य रुपमा चाहिन्थ्यो । पछि आएर १८ वर्ष पुगेपछि मताधिकार प्रयोग गर्न पाइने व्यवस्था गरियो । वहुदलीय व्यवस्था आएपछि राजनीतिक दलहरुले नै आफ्ना समर्थकहरुलाई मतदाता नामावली अद्यवधिक गर्न सचेत गराउन थाले ।
पुलमुनि धेरै पानी बगिसकेछ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)