
‘बुझ्नु छैन मलाई गाँजा साँजाको अर्थतन्त्र’
केशवराज आचार्य
सिभिल इन्जिनियर
सडक पेटीमा हिँड्दै थिएँ, एकजना दिदीले गाँजाका बोट उखेल्दै गरेको देखेँ ।
मैले अनुरोध गरेँ, ‘पख्नुस् पख्नुस् दिदी नउखेल्नुस् । ह्वाँ ठूला ठूला पढेका मान्छेहरु, भुपू सचिवज्यू, काठमाडौं महानगरको मेयर हुन तम्सिनु भएको महानुभावज्यू, पूरै देशको स्वास्थ्यको जिम्मा लिनुभएको महानुभावज्यू, आदि अनेकौँ गण्यमान्य महानुभावहरुले अव गाँजाले मात्र यो देशको अर्थतन्त्रलाई माथि लैजाने सक्छ त्यसैले यसको प्रवर्धन र उत्थानका लागि हरेक नेपाली मिलेर केही न केही गर्नुपर्छ भन्नुभएको छ। हजुर हामीले नबुझेर हुँदा खाँदाको देशको सबल अर्थतन्त्रको खम्बालाई यसरी लडाउने कार्य त गर्नु भएन नि ।’
शुरुमा उहाँले मलाई खाउँला झैँ हेर्नुभयो अनि मेरो त्यस्तो अनुनय विनयको वावजुद झ्याप्पै गाँजाको बोट उखेलेर भुइँमा फाल्दै भन्नुभयो, ‘बुझ्नु छैन मलाई गाँजा साँजाको अर्थतन्त्र । बरु ती अर्थतन्त्र बुझ्नेलाई भनिदिनुहोला भाइ ५-६ आना जग्गामा बनेको घरको एउटा कुनामा बसेर फेसबुकमा गाँजा अर्थतन्त्र वारे दुनियालाई पढाउनु भन्दा आफ्नै गाउँघर तिर बाँझो परेको खेतबारीमा २-४ वटा गाँजाका बोट फलाए बढी प्रभावकारी हुन्छ ।’
मैले ‘देशको त्यत्रो सबल अर्थतन्त्र’ भुइँमा फालीएको लाचार भएर हेर्ने, त्यसको तस्वीर लिनेबाहेक अरु केही गर्न सकिन ।
सायद त्यो एउटा गाँजाको बोटले केही हदसम्म भए पनि भविष्यमा आपत् आइहालेमा देशलाई दुर्घटना हुनबाट जोगाउँथ्यो कि ? तर के गर्नु मैले त्यो बोटको रक्षा गर्न सकिन ।
मेरो असक्षमताका लागि मलाई माफ गर्नुहोला है आदरणीय गाँजा अर्थविद्हरु !
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



