ऊ रक्सीको ‘लिमिट’ सम्झाइरहन्छे र मेरै कविता मलाई नै सुनाउँछे

कविता कवितासँग प्रेम गर्छे

हिमाल चन्द

रातको ३ बजे मेरो फेसबुकमा एउटा रिक्वेस्ट आउँछ । मेरो बानी झट्ट एसेप्ट गर्ने छैन । उसको ब्याकराउन्ड हेरेर केही कुरा लेख्ने वा सुन्ने जस्तो लागे सजिलोसँग एसेप्ट गर्छु अन्यथा उसको केही कुरा बिशेष हुनुपर्छ ।

उसको प्रोफाइल हेर्छु । हेरौं लाग्ने कुनै कुरा थिएन । उसको एउटा तस्वीर थियो, जसमा ११ सयभन्दा बढी लाइक र थुप्रै कमेन्ट थिए । केही हिन्दी गीतहरु शेयर गरेकी थिई । मैले उसलाई एसेप्ट गरेँ । अँ, ऊ तस्वीरमा सुन्दर थिई ।

त्यसपछि उसले मेरो स्टाटसहरुमा लाइक, कमेन्ट र शेयर पनि गर्न थाली । म कहिलेकाहीँ रक्सी पिउँछु र रक्सी पिएको बेला म आफुलाई बोल्न मन लागेको व्यक्तिलाई म्यासेज प्रायः गर्छु ।

त्यो रात मैले उसलाई म्यासेज गरेँ । म पनि सानोतिनो लेखक हुँन खोज्दै गरेको व्यक्ति न परेँ । उसलाई थ्याङ्क यु भन्ने बहानामा म्यासेज गर्न सजिलो पनि भयो । उसले घर पुर्व र काठमाडौमा बसेर ब्याच्लर अध्ययन गर्दै गरेको बताई । हामी त्यो रात परिचयमा व्यस्त रह्यौं।

त्यसपछि हामी दिनमा, रातमा अझ भनौं जुनसुकै बेलामा पनि सहजै कुरा गर्न थाल्यौं । उसको नाम कविता हो । ऊ मेरो कवितालाई खुब प्रेम गर्छे ।

कहिलेकाहीँ ऊ भन्थी, ‘तपाईंको हर कवितामा प्रेम बढी भेटिन्छ । गर्लफ्रेन्डलाई यस्तै प्रेम गर्नुहुन्छ होला है ? तपाईंको गर्लफ्रेन्ड कति भाग्यमानी हो है ?’

ऊ यस्तै यस्तै अप्ठ्यारो कुरा गर्छे । म उसको सवालको जवाफ नै भेट्दिन । लेखकहरु प्रेमको बारेमा बढी लेख्छन् । त्यो म स्विकार्छु । तर, के साँच्चै मैले प्रेम गर्ने मान्छे भाग्यमानी हुनसक्छ त ? म उसको सवालहरुमा थुप्रैपटक रुमलिएको छु । मेरा कयौं सम्बन्धहरु कयौंपटक च्यातिएका छन् । टुटेफुटेका छन् ।

यदि उनीहरु भाग्यमानी हुँदा हुन त सायदै यस्तो हुने थिएन । म मनमनै यी र यस्तै कुराहरु सोचेर बस्छु । तर, उसलाई भन्न सकिरहेको छैन । मैले त उसलाई मेरो गर्लफ्रेन्ड नै नभएको झुटा कहानीहरु हुन् भनेर बताएको छु ।

मलाई उसँग कुनै अपेक्षा भएर पनि होइन । तर, हामी समयसँगै धेरै आत्मिक बन्दै गइरहेका थियौं, ‘खाना खायौ ? सुत, आराम गर, टेक केयर, तपाईंसँग कुरा गर्ने आदत बनिसक्यो ।’

हरेक म्यासेजको पछिल्तिर स्टिकर झुन्ड्याएर ऊ मलाई आफैतिर तान्न खोजिरहन्छे । मैले ढिलो रिप्लाई अथवा फरक विचार राखेँ भने स्याड रियाक्टको ठुलै स्टिकर पठाउँछे । ऊ कुनैकुनै बेला कसैको कमेन्टको बिषयमा सोधपुछ गर्छे, ‘अरे वाह ! लेखकहरुसँग केटीहरु बढी किन आकर्षित हुन्छन् ?’ ऊ फेरि प्रश्न गर्छे ।

म जवाफ भने दिन्छु, ‘म त्यति ठूलो लेखक होइन । मेरो पछि कुनै केटी आकर्षित छैन । मलाई यो कुराको अनुभव छैन ।’

ऊ देशका चलेका कवि नवराज पराजुलीको उदाहरण दिन्छे, ‘हेर्नु न, जम्मै केटीहरुकै कमेन्ट छ । उहाँको कविता नै त्यस्तो होला । मलाई त उपेन्द्र सुब्बाको ‘सम्धीज्यु एक ट्वांक चढाउ कि ?’ भन्ने कविता मनपर्छ । फेरि भन्छे, ‘कविहरु जड्याहा पनि हुन्छन् तर प्रेम बारेमा खुब जान्ने हुन्छन् ।’

उसको कुराले कहिलेकाहीँ भने चस्स बनाउँछ र खुशी लाग्छ, ऊ कविता मात्रै सुन्दिन, कविहरुको मनोविज्ञानबारे पनि ज्ञान राख्छे ।

हामी भेट्ने कुरामा हतार छौं । काठमाडौको कुनै साहित्यिक कार्यक्रमको मौका पारेर भेट्ने सम्झौता गरेका छौं । ऊ सुन्दर छे । म उसलाई खुब तारिफ गर्छु । ऊ बेलाबेला आफ्नो बारेमा कविता लेख्नुन भन्छे । म मजाकमै उसलाई ‘तिमी नै कविता जस्ती छौ, तिम्रो बारेमा म के कविता लेखुँ’ भनेर टार्थेँ ।

ऊ भन्थी, ‘सिरियस्ली भनेको मैले, कविता लेख्नु खुरुक्क ।’

Advertise
Hike & Write

समय यसरी नै बित्दै गइरहेको थियो । मेरा थुप्रैपटक टुक्रिएका सम्बन्धहरुले पनि मलाई कसैसँग प्रेम हुन दिदैनन् तर उसँग भने कुरा गर्ने उसले नै जबर्जस्ती आदत लगाएकी थिई । म उसँग बोल्दा अरुलाई बिर्सिन्छु । कहिलेकाहीँ भट्टीमा हुँदा उसलाई फोन गर्दै रक्सीका चुस्कीहरु लिन्छु । साँच्चिकै यो पल भने जिन्दगीमा मेरो लागि यादगार हुनेछ । ऊ रक्सीको लिमिट सम्झाइरहन्छे । र, मेरै कविता मलाई नै सुनाउँछे ।

म उसको उसको ओठहरुमा, आँखाहरुमा, उसको हरेक हाउभाउहरु मेरा शब्दहरुमा, उसको लयहरुमा कहाँ कहाँ कता कता हराई जान्छु । हराउँदै जान्छु ।

म कुनै कवि नै त होइन तर उसले कवि बनाएकी थिई । मलाई कविताप्रतिको मोह उसले गर्दा अझ बढेको हो ।

दस दिनपछि उसको जन्मदिन आउँदैछ । उसको अपेक्षा छ, आफ्नो बारेमा कविता लेखेर जन्मदिनको शुभकामना आओस् ।

मैले पनि नसोचेको होइन, उसको बारेमा केही लेखौं र उसलाई खुशी पारौं तर सकिरहेको थिईन । म तोकिएको बिषय वा कुनै ठोस बस्तु बारेमा योजना बनाएर केही लेख्न सक्दिन । मैले कतै सुनेको थिएँ, ‘चाँडै लेख्नु भनेको लेखनदासको योग्यता हो, साहित्यकारको होइन ।’ म आफ्नो मर्जी अनुसार जुन बेला जे आउँछ, त्यो लेख्छु । उसको बारेमा कुनै दिन त केही लेख्नेछु । म यस्तै यस्तै सोचिरहन्छु ।

उसको जन्मदिन म दिनभर काममा व्यस्त थिएँ । राती बाह्र बजे विस गर्नलाई ऊ मेरो प्रेमिका पनि होइन । उसको बारेमा कविता लेखेको पनि छैन ।

साँझतिर उसलाई म्यासेज गरेँ, ‘हेपि वर्थ डे कविताप्रेमी केटी ।’ मैले उसको प्रोफाइलमा गएर हेरेँ, उसलाई केहिले सामान्य शुभकामना दिएका छन् कसै एकले भने कविता जस्तै खुब तारिफ गरेर केही लेखेर जन्मदिन विस गरेको थियो ।

मैले सोचें, यस्तो हावा गफ लेखौं भने त म पनि लेख्थेँ तर राम्रो लेख्ने सोच पो हो त मेरो । उसले रिप्लाई गरी, ‘थ्यांक्यु सो मच् एन्ड गुड बाई ।’

म झस्किएँ । म आत्तिएँ । म केके भए केके भएँ । मैले उसलाई रिप्लाई दिने सोच्दासोच्दै ब्लक गरिछ ।

जिन्दगीमा कोहि मान्छे यस्ता पनि हुन्छन्, बिना हिच्किचाहट आउँछन्, आफ्नै मर्जी चलाएर डिस्टर्ब गरेर जान्छन्, बिना कारण सित्तैमा ।

त्यसपछि उसको कुनै पनि खबर मलाई थाहा छैन । उसँग कुनै लेनदेन त छैन । आज उसको जन्मदिन म उसलाई यसरी सम्झिरहेछु । म अब उसको लागि कविता लेख्दिनँ, हेपि वर्थ डे कविताप्रेमी केटी ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button