
सेयरः उलकले उल्का गरे, लकडाउनमै तीन ‘पेटी’ कमाए
भरत शर्मा
पछिल्लो एक हप्तादेखि सेयर बजार घट्दै छ । लगानीकर्ताहरु हतोत्साही हुँदैछन् । ब्यापार पनि कम भएको छ । १९ अर्ब पुगेको बजार ७ अर्बमा झरेको छ । यसबीचमा साना लगानीकर्ता निराश भएका छन् ।
सेयरलाई भन्नेहरुले भने, ‘यो जुवा हो ।’ सायद नेपालका ठूलै नेताले समेत यो भनेका थिए । उनको नाम लेख्नु पनि त्यति उपयुक्त लागेन । त्यसैले नाम लेखिनँ । तर यो कुरा भन्ने नेताको नाम मलाई थाहा छ । सायद तपाईहरुलाई पनि थाहा छ ।
देशको अर्थतन्त्र सुधार नभएसम्म देश बन्दैन । व्यक्तिले जति नैं अध्ययन गरे पनि उसले आफुनो जीवनमा अध्ययनसँगै आफ्नो अर्थस्थितीसुधार गर्न सकेन भने जीवन सोचेजस्तो नहुने रहेछ । ज्ञान र अर्थस्थिती दुवैलाई साथसाथ लिएर जान अलि अप्ठ्यारै रहेछ । त्यसैले पहिले ज्ञान त्यसपछि अर्थस्थिती बलियो बनाउँदा जीवनले सार्थक फल प्राप्त गर्छ भन्ने मेरो व्यक्तिगत बुझाई हो ।
शास्त्रले भनेको छ, कलिकालमा धनको अपार महिमा छ । धनी व्यक्तिको गुणगान गरिन्छ । धनीका मानिसका पछि मानिस लाग्छन् । तर, यो कुरा नभूल्नु नि, धनी मानिस कहिल्यैं खुसी र सुखी हुन सक्दैन ।
सेयर बजार देश र व्यक्ति विकासका लागि काम लाग्ने बजार हो । यो बजारमा प्रवेश गर्दा पहिले ज्ञान र धन दुवै चाहिन्छ । धन भएर मात्र नहुने, ज्ञान मात्र भएर नहुने यो सेयर बजारमा प्रवेश गरेर मानिस दुखी र सुखी दुवै हुनसक्ने रहेछ ।
शेयर मूल्य बढ्दा सुखी, घटदा दुःखी नभईकन समानान्तर लक्ष्य लिएर अघि बढ्ने हो भने शेयर बजारले ब्यक्तिको अर्थस्थिती र मनोबल माथि पु¥याउने रहेछ भन्ने मेरो दुई बर्षको अनुभव हो ।
तपाईहरुलाई थाहा होला, यस पटकको लकडाउनमा सबै ब्यापार बन्द भए पनि सेयर बजार व्यापारचाहिँ बन्द भएन । अनलाइनमा किनबेच गर्दा मेरो एकजना सेयर बजारका चतुर मित्र सुरेश उलकले तीन पेटी खु्द नाफा गरे । उनी भन्दै थिए, ‘सेयर बजारमा कारोबार गर्ने व्यक्ति बाठो हुनुपर्छ ।’
जिन्दगीमा बाठो हुने उपाय सबैले खोजे पनि सबैजना सफल हुन सक्दैनन् । सफल भएन भनेर कर्म गर्न नछोड्नु भन्ने शास्त्रीय पक्षधर म ।
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)