
अर्थमन्त्रीज्यु ! करको पनि कर कहिलेसम्म ?

राजकुमार कार्की
मे न पा-१५, झापा ।
माननीय अर्थमन्त्री जू
नेपाल सरकारको अर्थमन्त्रालय, सिंहदरबार, काठमाडौँ ।
आराम छु, आरामको कामना गर्दछु । नेपाल सरकारको गरिबीको रेखामुनि रहेका गरिबी जनताहरुलाई गरिबीको रेखाभन्दा माथि ल्याउने नेपाल सरकारको नीति असाध्यै राम्रो छ । बैंक तथा वित्तीय सस्थाहरुले नै दिनुनुदिन गरिबको उन्मुलन गरेको कार्य त माननीय मन्त्री जूलाई अवगत नै होला । गाउँघरमा लघुवित्तले हिजोआज गरिबी मात्रै होइन, गरिबको नै उन्मुलन अभियान चलाएको कुराको बारे शब्द कोषका शब्दहरुबाट मात्रै वर्णन गरेर सकिने अवस्था छैन । चर्को व्याजदर गरिबले तिरेर कहिल्यै नसकिने भए पछि दिनानुदिन आत्महत्या गर्ने शरीरमा पेट्रोल छर्केर आत्मादाह गरेको कुरा अवगत नै होला । प्रेम आचार्यदेखि हजारौं दैनिक यमराजको घरमा जबर्जस्ति जान बाध्य छन् ।
सायद नेपाल राष्ट्र बैंक शिवरात्रीमा खाएको भाङ धतुरोबाट होशमा आएको छैन । गरिबी उन्मुलन गर्ने हो भने सबै गरिबको उन्मुलन गरिदिए पुग्छ सरकार ! सबै गरिब सिद्धिएपछि नेपाल संसारको धनी देशमा पर्ने छ अनि युरोप, अमेरिका, जापान नेपालमै हुने छ । के सरकारको यही हो त नीति ?! तीन वटा सरकार छन् । स्थानीय, प्रदेश र केन्द्रीय सरकार यिनको के काम ?
बैंक वित्तीय सस्था लघुवित्तीय सस्थालाई राज्यले हस्तक्षेप नगर्ने हो भने देश नागरिकबिहिन हुनेछ पक्कै एक दिन, त्यसैले माननीय मन्त्री जूको घैटोमा बेलैमा घाम लागोस् । हिजोअस्तिसम्म हाम्रा गामतिर हात्तीले मान्छे लखेट्ट्दै थियो, सायद त्यही सिको गरेर आजभोलि हात्ती बनेर लघुवित्त भन्ने संस्था गामतिर पसेर मान्छेहरुलाई लखेट्दैछन्, झुपडी कमजोर भएर होला छानीछानी खेदाउँदैछ, मान्छेको डरले घरमा बास हुन छाडिसक्यो ।
या त सरकारले साँढे छोडेको भएर त्रिशुलले डामेर छाडी दिन पर्यो अन्यथा मुलुकमा सरकार छ भने उक्त हात्तीलाई समातेर चारकोसे झाडीमा ताबारले घेरेर त्यहाँ ल्याएर राख्न पर्यो । अन्यथा गरिब समाप्ति भएपछि गरिबका नेता हौ भन्न नपाइएलाकी त !
विभिन्न विदेशीवाद पढेको अर्थमन्त्री जू हुनुहुन्छ, अर्थको ज्ञाता । मानौं एउटा गाडी विदेशबाट ल्याउदा साढे चार सय प्रतिशतसम्म सरकारले भन्सार लिन्छ । राज्य चलाउन करको आवस्यकता छ तर कति कर कसरी लिने भन्नेमा के राज्यको ध्यान जानु जरुरी छैन । एउटा सानो गाडी दुई लाखमा भारतमा खरिद गरिन्छ अनि राज्यलाई कर भन्सारमा चारलाख बुझाइन्छ र गाडी नेपालमा भित्र्याइन्छ, अब त्यो गाडी व्यापारीले छ लाखमा बेच्दछ । व्यापारीले छ लाखको नै भ्याट बिल काट्दछ । गाडीको मूल्य त वास्तविक दुई लाख हो, त्यही दुई लाखाको मात्रै भ्याट बिल काट्नु पर्ने हो । तर छ लाखको नै किन भ्याट बिल काटिन्छ, त्यो चार लाख त गाडी ल्याउदा तिरेको भन्सार कर हो, त्यो करको फेरि किन कर लगाइन्छ । करको कर तिर्नु पर्ने देश त सायद नेपाल मात्रै नै होला ! गाडीको मूल्य दुई लाख, चारलाख भन्सार कर, अब भन्नुहोस्, त्यो चारलाख त कर तिरेको हो तर करमा किन कर लगाइएको !? यो त एउटा सानो उदाहरण मात्रै हो । यस्ता समग्र विषयहरुमा ध्यान जाओस् । यो त ठगीको पराकाष्ठा भएन र !? यो ठगीको अन्त्य कहिले होला । ल त अहिलेलाई बिदा पाउ, गाईलाई खोले पकाएर खुवाइ दुध दोहेर आलस गोड्न जानलाई हतारो छ ।
तपाईंको भलो चिताउने गरिबको वाद मर्न नदिने गरिबीको आजीवन सदस्य गाउँले ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)