ठमेल-दरबारमार्गमा ‘छूट’का नाममा ‘ब्रम्हलूट’

रामेश्वरी पन्त

सक्नेले जहाँबाट सक्छ, त्यहीँबाट देश लुटिरहेको, जनतालाई चुसिरहेको वर्तमान अवस्थामा कुनै एक व्यक्ति वा समुहले लुटेको–चुसेको कुरा लेख्नु निरर्थक जस्तै हुनजाला तर पनि एक सचेत नागरिक भएको नाताले आफू अन्यायमा परेको, आफू ठगिएको कुरा बाहिर ल्याउनु आफ्नो कर्तव्य ठान्दछु र बेलाबेलामा प्रयास पनि गर्ने गर्दछु । यसो गर्दा कुनैकुनै बेला सकारात्मक परिणाम पनि आउने गर्छ र खुशी पनि लाग्छ तर कुनैकुनै बेला निराशा मात्र हात लाग्ने गर्छ ।

सकारात्मक परिणामको कुरा गर्दा धेरै वर्षअघि रुपन्देहीको बजारमा आएको भारतीय आलुमा भएको अत्यधिक बिषादीको उजुरी गरेपछि रुपन्देहीको बाणिज्य कार्यालयले उक्त आलु खोजिखोजी नष्ट गरेको र यसरी उजुरी गरेबापत उपभोक्ता मञ्च रुपन्देहीका तत्कालीन अध्यक्षले मेरो निकै प्रशंसा गर्दै लामो समयसम्म पनि ‘सचेत नागरिक’ भन्दै सार्वजनिक कार्यक्रमहरूमा सम्झना गरिरहेको खुशी अझै याद आइरहेछ । त्यस्तै केही वर्षअघि डि डि सि को दूधमा भएको मिसावटबारे उद्योगमै फोन गरेर जानकारी गराएपछि त्यहाँका प्रमुखले तुरुन्तै मेरो डेरामा कर्मचारी पठाएर दूधको नमूना संकलन गरी धन्यवाद दिनुभएको र भोलिपल्टै दूधको गुणस्तर सुध्रिएको खुशीको अनुभव पनि संगालेर राखेकी छु । यसै क्रममा संगालेर राखेका केही तीता अनुभव अलि पछि राख्नेछु ।

अब आजको विषयमा प्रवेश गर्न चाहेँ । हरेक अंग्रेजी नयाँ वर्षको आगमनको पूर्वसन्ध्यामा ठमेल र दरबारमार्गका केही ‘ब्रान्डेड’ व्यापारीहरूले वर्षभरि बिक्री गरेर बाँकी रहेका आफ्ना सामानको ‘क्लियरेन्स’ गर्नको लागि ‘डिस्काउन्ट अफर’ भनेर सुचना जारी गर्दछन् । यसै सिलसिलामा गत हप्ता ठमेलमा रहेको युनाइटेड ब्रान्डबाट अमेरिकी ब्रान्डको ‘मार्मोट’ कपडामा ६० प्रतिशत छूट दिइएको सुचना मोबाइलमा आयो । सर्वसाधारणको लागि मार्मोटका कपडामा सतप्रतिशत मूल्य तिरेर किन्नु पहुँच भन्दा बाहिरको कुरा हो । जाडोको मौसम, ६० प्रतिशत छूटमा ‘ब्रान्डेड’ न्यानो कपडा किन्ने लहड चल्यो र पुगेँ मार्मोटमा । तर त्यहाँ पुग्दा थाहा भयो, ६० प्रतिशत छूट भनेको अलि फरक कपडामा रहेछ । कुनैकुनैमा ५० प्रतिशत छूट रहेछ । आफूलाई चाहिएको एउटा डाउन ज्याकेट किन्न खोजेको त त्यो चाहिं जम्मा ३० प्रतिशत छूटमा रहेछ । मूल्य हेर्दै सातो गयो । त्यसपछि साँझ बिहान भान्सामा कामगर्दा लगाउन सजिलो र हल्का ठानी अर्को ‘५० प्रतिशत छूट’ भनिएको अर्थात् आधा मूल्यमा एक हुड्डी किनेर आएँ ।

भोलिपल्टबाट साँझ बिहान गरी जम्मा दुई दिन लगाएको हुड्डीमा बाहुलाभरि डल्लैडल्ला परे । एक त ब्रान्डेड भनिएको, दोस्रो त्यति चर्को मूल्य तिरेको कपडाको त्यो हालत देखेपछि अर्कोदिन पुगेँ ठमेल र देखाएँ कपडाका डल्लाहरू । पसलको एकजना भाइले मुख्य साहुजी नआएकोले कपडा छोडेर जान र भोलि आउन भने । भोलिपल्ट फोन गरेर गएँ । ‘मुख्य साहुजी’ भनिएका एकजनाले मेरो उही कपडा प्याक गरेर दिंदै भने ‘दिदी ! यो भुवा निस्कने कपडा नै हो । यसको भुवा निकालिदिएको छु । दिदीलाई दुख भयो, माफ पाउँ है !’ मैले भनें, ‘यत्रो धरै मूल्य तिरेको कपडा दुई दिन लगाउँदा यस्तो ? यो लान्नँ, मलाई कि पैस दिनुस् कि अर्को कुनै कपडा दिनुस् । तपाइँहरू ब्रान्डेडको नाममा यस्ता कमसल कपडालाई यति चर्को मूल्यमा बेचेर ठग्ने ? हामीले तपाइँका सामानमा कम्प्लेन किन नगर्ने ?’ मेरो चर्को आवाज सुनेर उनले हात जोर्दै भने, ‘दिदी ! यो डुप्लिकेट सामान होइनँ, ठगेको पनि होइन । यसलाई ६० डलर त मेरै परेको छ ।’

उनले ठगेको होइन भने पनि सरासर ठगी भएको कुरा उनकै मुखले ओकलेको उनले पत्तै पाएनन् । उनले ६० डलर तिरेको कपडामा दोब्बर मूल्य लेखिएको स्टिकर टाँसेर ५० प्रतिशत छूटमा बिक्रि गरिरहेको र मैले नै उनले तिरेको ६० डलर बराबरको नेपाली रुपयाँ तिरेर उक्त कपडा खरिद गरेकी थिएँ । मैले कुरा बुझिहालेँ । न्यानो ज्याकेटहरूमा २२ देखि ३५ हजारसम्म मूल्य राखेर ३० प्रतिशत छूटमा बिक्रि भइरहेका कपडामा पनि त त्यस्तै ठगि रहेछ । यस्तो ठगि मार्मोटमा मात्र होइन, ठमेल र दरबारमार्गका ब्रान्डेड भनिएका हरेक पसल जसले ‘डिस्काउन्ट’ वा ‘सेल’ भनेर गरिरहेका छन् । किन्नेले छूटमा पाएँ भनेर मक्ख पर्ने, बेच्नेले छूटको नाममा अकूत नाफा कमाउने यस्ता पसल र व्यापारीको बिरुद्धमा उजुर गर्न कहाँ जाने ?

छन त यस्ता उजुरीको लागि सरकारी निकाय र अन्य केही संस्था छन् तर यस्ता संस्थामा उजुरी गर्नुको कुनै तुक नभएको बिगतको आफ्नै अनुभवले गर्दा ठमेलको यो ठगिलाई आमसञ्चारको माध्यमबाट आफै सार्वजनिक गर्ने निधो गरेँ ताकी थाहा पाउने र बुझ्ने उपभोक्ताहरू स्वयंले यिनीहरूलाई बहिष्कार गरुन् । हुन त सञ्चारमाध्यममा यस्ता ठगिका समस्या पु¥याउन खोज्दा विगतमा आफै जिल्लिएका केही अनुभव छन् । जस्तो, केही वर्षअघि हुलासको वासमति चामल भनेर किनेर ल्याएको ५ किलोको प्याकेट खोलेर पकाउँदा मन्सुली चामलको भात खाएजस्तो भयो । वासना त परैको कुरा भयो, भात पनि साह्रो न साह्रो । यो कुरा सामाजिक सञ्जालमा राखेपछि एउटा टेलिभिजन च्यानलबाट मलाई फोन आयो । मैले भएको कुरा बताइदिएपछि एकजना टेलिभिजन पत्रकारले ठेगाना मागे, दिएँ । दिउँसोतिर क्यामेरासहित आएका उनले मेरा कुरा, पसलेका कुरा अनि वरपरका केही मान्छेका कुरा सुनेर रेकर्ड गरे, चामलको फोटो खिचे, भिडियो खिचेर गए । साँझ फेरि फोन आयो, ‘म्याडम ! त्यो चामल र त्यही पसलबाट त्यही लटको अर्को प्याकेट चामल किनेर राखिदिनु, हामी लिन आउँछौं र टिभीमा प्रसारण गरिदिन्छौं ।’ मैले भने अनुसार फेरि अर्को प्याकेट चामल किनेर घरमा लगेर राखेँ तर उनी लिन आएनन् । न हुलास जस्तो नामी ब्रान्डको ठगि र उजुरीको समाचार नै प्रसारण भयो । बरु अर्को दिन आफूलाई हुलास खाद्य उद्योगका म्यानेजर बताउने व्यक्तिले फोन गरेर भने, ‘म्याडम ! माफ गर्नुहोला, त्यो हाम्रो ठगि नभएर कामदारको गल्तिले त्यो लटको चामलमा त्यस्तो भएको हो । बिन्ति छ, यो कुरालाई मिडियामा नलैजानु होला ।’ मैले पत्याइनँ र फोन नम्बर चेक गरेँ, हुलास खाद्यान्न उद्योगकै रहेछ । सोचेँ, यो खबर आखिर हुलाससम्म पु¥यायो कसले ? किन यो खबर टेलिभिजनबाट प्रसारण भएन र माफिनामा आयो ? अलिअलि अन्दाज लगाएँ र ‘यस्तै रहेछ यहाँको चलन’ भन्दै चित्त बुझाएँ ।

यस्तै अर्को घटनाको अनुभव यहाँ बताउन चाहेँ । पाँच छ वर्ष अघि भाटभटेनीबाट किनेर ल्याएको ओट्स पकाएर खाँदा अमिलो भयो जसमा प्याकेजिङ मिति भर्खरैको थियो, एक्सपायर हुने त कुरै भएन । मैले बबरमहलस्थित खाद्य अनुसन्धान अफिसमा त्यो ओट्स लिएर गएँ र सबैकुरा बताएँ । त्यहाँका सम्बन्धित अधिकारीले ‘यो ओट्स छोडर जानुस्, हामी अनुसन्धान गरेर तपाइलाई खबर गर्छौं’ भने, मैले एक किलो ओट्सको डिब्बा नै छोडेर आएँ तर हप्तादिनसम्म फोन आएन, न भाटभटेनीमा कुनै छापा होनेको खबर नै सुनियो । त्यसपछि म आफै फेरि खाद्य अनुसन्धान कार्यालयमा गएर के भयो ? भनी प्रश्न गरेँ । ती अधिकारीले बिर्सेजस्तो, सम्झेजस्तो गर्दै भने, ‘ए ! त्यो ओट्स ? त्यसमा खासै किरा लागेको त रहेनछ, ओसिएर अमिलो भएको रहेछ । यसमा हामी बिचार गर्दैछौं’ भन्ने जबाफ दिए । उनको कुरा पनि बुझिहालेँ ।

मैले ओट्सको बट्टा फिर्ता मागेँ र सरासर भाटभटेनी गएँ अनि काउन्टरमा पुगेर ओट्स अमिलो भएकोले फिर्ता गरेर अर्कै कुनै सामान लैजान पाउने जिकिर गरेँ तर त्यहाँ रहेकी नानीले हुँदैन, मिल्दैन भनिन् । त्यसपछि मलाई झोंक चल्यो, बिगतको तीतो अनुभव नै भए पनि तर्साउनकै लागि पनि सो ओट्स लिएर मिडियामा जाने धम्की दिएँ । मेरो कुरा सुनेर उनले कतै फोन लगाइन् र तलको काउन्टरमा गएर सामान फिर्ता गरी बील लिएर आउन भनिन् । मैले त्यसै गरेँ र फिर्ता आएको पैसाले अर्कै सामान किनेर फर्केँ । आखिर जे भए पनि मिडिया र पत्रकार भनेपछि जो पनि हच्किहाल्छन् नै । त्यसो त मिडियाको शक्ति नभएको पनि कहाँ हो र ! त्यसैले त आज यही शक्तिको आशा लागेर फेरि एक पटक ठमेल र दरबारमार्गका व्यापारीहरूबाट ‘छूट’का नाममा हुनगरेको ‘ब्रम्हलूट’लाई सार्वजनिक गर्ने जमर्को गरेकी छु । आशा छ, यसमा सरोकारवालाहरूको ध्यान जानेछ र यसले सार्थकता पाउने छ ।

त्यसो त हामी उपभोक्ताहरू यस्ता एकदुई ठाउँमा मात्र होइन, हरेक ठाउामा, हरेक उपभोग्य वस्तुमा ठगिईरहेका हुन्छौं र ठगिएको थाहा पाउँदा पाउँदै पनि चुपचाप पैसा तिरेर गुणस्तरहीन सामाग्री बोकेर घरतिर लाग्छौं तर यस्ता कुरामा बोल्ने र बिरोध गर्ने हिम्मत गर्दैनौं अथवा हामीमा यस्तो बानी वा सचेतना नै विकास हुन सकेको छैन । हाम्रो यही चुपलाग्ने बानीको फाइदा देस चलाउने शासकहरू देखि लिएर गाई भैंसीको शुद्ध दूध भन्दै पानीमा पाउडरदूध घोलेर सरकारी मूल्यभन्दा २० रुपयाँ बढी मूल्यमा बेच्ने डेरीवालाहरूले उठाइरहेका छन् । अतः नागरिक आफै सचेत नभएसम्म ठगहरूको ठगि रोकिनेछैन ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button