शेयरबजारः आँप र थरीथरीका लगानीकर्ता
अन्जन सिलवाल
सरल बुझाइमा बजारमा दुइ किसिमका लगानीकर्ता हुन्छन् । एउटा इन्भेस्टर र अर्को ट्रेडर । इन्भेस्टर, जसले लामो समयको लागि शेयर किनेर राख्छ र राम्रो नाफा आएपछि बेच्छ । ट्रेडर, जसले छोटो समयको लागि शेयर खरिद बिक्री गर्छ । तर, यसलाई म थोरै परिमार्जन गर्न चाहन्छु ।
इन्भेस्टर भनेको त्यो हो, जसले कुनै पनि संस्था (कम्पनी) सुरुवात हुँदा लगानी गर्छ, जसले कम्पनीको शेयर रु. १ सयमा किन्न पाउँछ र किन्छ । सरल भाषामा भन्नुपर्दा हामीले भर्ने आइपिओ । आइपिओमा हामीले लगानी गर्दा हामी इन्भेस्टर भयौं । तर, जब त्यही आइपिओ दोस्रो बजार अर्थात् सेकेन्डरी मार्केटमा कारोबार हुन्छ, त्यो शेयर खरिद बिक्री गर्नेलाई ट्रेडर भनिन्छ । ट्रेडरलाई मैले ३ हिस्सामा विभाजित गर्न चाहेँ ।
१. सर्ट टर्म ट्रेडर, जसले छोटो समयको लागि शेयर होल्ड गर्छ (५ देखि १५ दिन) । यो वर्गमा छोटो समयमा जे जति नाफा हुन्छ, त्यो बूक गरिहाल्नेहरु पर्दछन् ।
२. मिडल टर्म ट्रेडर, जसले केही समयको लागि शेयर होल्ड गर्छ (१५ देखि ६० दिन) । यो वर्गमा बरु केहि समय शेयर होल्ड गर्छु र सकेसम्म आफूले सोचे जति नाफा बूक गर्छु भन्ने खालको मान्छे पर्दछन् ।
३. लङ्ग टर्म ट्रेडर, जसले केही लामो समयको लागि भनेर शेयर खरिद गरेर होल्ड गर्छन् (६० दिन भन्दा बढी) । यो वर्गमा प्रायजसो बोनस खाने सोच भएका लगानीकर्ताहरु र बरु धेरै समय नै कुर्न किन नपरोस्, राम्रो नाफा लिन्छु भन्ने लगानीकर्ताहरु पर्दछन् ।
छोटकरीमा भन्नुपर्दा मार्केटलाई आपँको रुखसँग दाँजेर ३ वटै टाइपको ट्रेडरलाई समेट्ने हो भने, एउटा काँचोमै आपँ टिप्ने र स्वाद अमिलो भए पनि अमिलोकै मजा लिने । दोस्रो, थोरै काँचो थोरै पाक्या आपँ टिप्ने । तेस्रो, पाक्या आपँ टिप्ने र पुरै आपँको स्वाद लिने । यसलाई अझै विभिन्न ढङ्गबाट ब्याख्या र विश्लेषण गर्न सकिन्छ तर अहिले यहाँ म त्यतातिर जान चाँहिन ।
हामीले धेरै हस्तीहरुका नाम सुनेका होलाउँँ, जसले शेयरबाट धेरै नै पैसा कमाए । केहि त विश्वमै गनिने धनीको सुचीमा पनि छन् । तर, मलाई लाग्दैन कि ती सबैले दोस्रो बजारबाट नै सबै कमाएर धनी भए । तिनीहरुले कम्पनीमा लगानी गरे र दोस्रो बजारमा त्यो शेयरको मुल्य बढेर उनीहरु धनी भएका हुनुपर्छ ।
…
(अन्जन शेयर बजारका जानकार हुन् र माथिको लेख उनको व्यक्तिगत विचार हो । उनी नेपालनाम्चामा शेयरबजारबारे नियमित लेख्छन् । तपाई पनि अन्जनले जस्तै शेयरबजारबारेका लेख, टिप्पणी र अनुभव नेपालनाम्चको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)