सोफामा बसेर सोफै बेच्ने सुरेश
राजेन्द्रमान डंगोल
त्यसो त कोभिड– १९ ले वाङ नखाएको पर्यटन व्यवसायी को होला र ! फरक यति हो कोही वाङ खाएर खुत्रुक्कै भएका छन् भने कसैलाई त्यसको आभासै छैन । त्यसैमध्येका एक हुन् पर्यटन व्यवसायी सुरेश आमगाईं ।
२०३७ साउन १२ गते गोरखाको सुलिकोटमा जन्मेका उनी २०६३ मा काठमाडौँ आएका थिए । १५ वर्ष लामो संलग्नता छ उनको पर्यटनमा । यसबीचमा उनले थुप्रै कठिन दिनहरूको सामना गरेका छन् ।
“कहिल्यै हार नमान्नुस् । आज कठिन छ । भोलि अझै कठिन हुनेछ । तर नआँत्तिनुस्, पर्सि अवश्य दिन आउने छ ।”
ज्याकमाको यो भनाइजस्तै भयो उनको सवालमा पनि । ग्राउन्ड लेबलबाट उठ्दै सफलताको यात्रातर्फ अगाडि बढ्दै गए उनी । कठोर सङ्घर्ष गरेपछि ट्रेल ब्लेजर ट्राभल्स एन्ड टुर्सका मालिक बने । उनले दिने सेवाको मूल्यमा कहिल्यै कसैसित प्रतिस्पर्धा गरेनन् उनले । प्रतिस्पर्धा गरे त केवल गुणस्तर र सिर्जनशीलतामा । पर्यटनमा व्यापक पब्लिक रिलेसन बनाएका उनी नेपाल एसोसिएसन अफ ट्राभल एन्ड टुर्स (नाट्टा)को कार्यसमिति सदस्य पनि हुन् ।
पर्यटन व्यवसाय पूर्णतः पुरानो अवस्थामा फर्किसकेको छैन । थुप्रै पर्यटन व्यवसायी फुर्सदिलो हुँदा उनी भने उदायचलदेखि अस्ताएचलसम्म अत्यन्तै व्यस्त छन् । पर्यटन सुस्ताए पनि सुस्ताएको छैन उनको व्यवसाय । कोरोनापछि उनी फर्निचर उद्योगमा लागे । बीस–पच्चीसजनालाई रोजगारी दिएका छन् । काठमाडौँको बालजुमा छ उनको सो रूम ।
घर, अफिस, रेस्टुरेन्ट र होटलका लागि इच्छाअनुसारको कलर, इच्छाअनुसारको साइज, इच्छाअनुसारको डिजाइन् । थरिथरिका सोफा बेच्छन् उनी ।
एक थान सोफाको लगानी काठ, किलाकाँटा, कपडा, ज्याला हो । यसैमा थोरै भीमसेन भाग राखेर सस्तोमा बेच्छन् उनी । गुणस्तरीय काठ र कपडा भएपछि ग्राहकहरू खोजीखोजी आउँदारहेछन् उनको सो रूममा । नाफा कमाउन महङ्गोमा नै किन बेच्नु प-यो र ! धेरै परिमाणमा बेचेपछि स्वतः नाफा भइहाल्ने । कतिपय फर्निचर व्यापारी सस्तो काठलाई बाहिर झिलिमिली कपडाले बेरेर महङ्गोमा बेच्छन् र एक वर्षमा कुस्त कमाएर पेसा नै छाडिदिन्छन् । तर सुरेशको चाहना त्यस्तो छैन । पर्यटन र फर्निचर दुवैलाई चीरकालसम्म लैजान चाहन्छन् उनी ।
अक्सर नेपाली उचाइ भएका । गोरो वर्ण, मिजासिला र हँसमुख । अग्रज र अनुज सबैलाई उत्तिकै सम्मान गर्छन् उनी । मिठो बोल्न जानेका छन् । दिएर र खाएर त कसलाई पुग्छ र ! मिठो वचन सुन्न पाएपछि मान्छेहरू आकर्षित हुने नै भए । ग्राहकहरू पल्काएका छन् उनले ।
सोफा व्यापार चम्केको छ सुरेशको । शुभकामना सुरेशलाई !
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)