
एनटीवी कर्मचारी युनियनमा नँया कार्यसमिती, मन्त्रीले दिए होमवर्क
नेपाल पर्यटन बोर्ड (एनटीवी) कर्मचारी युनियनमा बोर्डका अधिकृत गोपाल भण्डारीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन भएको छ । नँया कार्यसमितिको उपाध्यक्षमा सुरेन्द्र सिंह लामा , सचिवमा सीताराम दाहाल, कोषाध्यक्षमा शुशीला कुमारी बराल, सहसचिवमा रामप्रसाद लामिछाने र सदस्यहरूमा जयशक्ति शर्राफ, शिवराज पाण्डेय, विद्या गौतम र कल्याणी लामिछाने रहेका छन् ।
कार्यसमिती २०७७ मंसिर २६ गते आयोजित नेपाल पर्यटन बोर्डको एकल कर्मचारी युनियनको साधारणसभाबाट निर्वाचित भएको हो । युनियनका अध्यक्ष कुन्दन मिश्रको सभापतित्वमा भएको कार्यक्रममाा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन सचिव यादव कोइराला, बोर्डका कार्यकारी समितिका सदस्यहरु दीपक महत तथा अवधेशकुमार दासलगायत अतिथिका रुपमा सहभागी थिए ।
कार्यक्रममा युनियनका सचिव सन्तोषविक्रम थापाले नेपाल पर्यटन बोर्डको कर्मचारी युनियन एकल युनियन रहनुको पृष्ठभुमि, विगतको संकटको बेला पर्यटन पुनउत्थानको बेला खेलेको रचनात्मक भुमिका र हाल महामारीमा गरेका कार्यहरुको जानकारी दिँदै स्वागत गरेका थिए ।
कार्यक्रममा युनियनका अध्यक्ष कुन्दन शर्मा मिश्रले नेपाल पर्यटन बोर्डको कर्मचारी यूनियनको तर्फबाट बोर्डको निर्देशक तह आवाधिक हुनुपर्ने एक सुत्रीय माग पेश गरेका थिए । बोर्डमा कर्मचारीहरुको बृति विकासका अवसरहरु पर्याप्त नहुँदा कर्मचारीहरु निरुत्साहित भएको हुनाले बोर्डमा अधिकृत तहमा सेवा प्रवेश गरेका आठौं तहका अधिकृतहरुले सेवा निवृत हुने समयसम्म कम्तीमा निर्देशक पदबाट निवृत हुने ब्यवस्था सुनिश्चत हुनुपर्ने माग सम्पूर्ण कर्मचारीहरुको हस्ताक्षरसहित मन्त्री, सचिव, कार्यकारी प्रमुख र बोर्ड कार्यकारी समिति सदस्यहरुसमक्ष पेश गरेका थिए ।
साथै बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले कोभिड महामारीका बेला युनियनको भुमिका पहिलेभन्दा धेरै महत्वपूर्ण र संवेदनशील भएको बताएका थिए ।
बोर्डका अध्यक्ष समेत रहेका मन्त्रालयका सचिव यादव कोइरालाले युनियन किन र कसरी स्थापना भएको र बोर्डका कार्यहरुलाई थप प्रभावकारी बनाउन कर्मचारी युनियनले अह्म भुमिका खेल्ने उल्लेख गरे ।
यसैगरी कार्यक्रममा मन्त्री योगेश भट्टराईले आशा गरिएको २०२० मा पर्यटन विकास तथा प्रर्वधनका कार्यहरू गर्न नसकिरँहदा २०२१ मा नेपाललाई विश्वमा नै आर्कषक गन्तव्यका रुपमा विकास गर्ने योजनामा बोर्ड तथा युनियनको नवीन योजनाको खाँचो रहेको बताए । उनले कोराना महामारीको अन्त्यपछि अन्तराष्ट्रिय पर्यटनको क्षेत्रमा बाढी नै आउने भएको कारण सो अवसरलाई प्रयोग गर्न बोर्ड लाग्नुपर्ने निर्देशन दिँदै भने, ‘अब तपाईहरुलाई अन्तराष्ट्रिय पर्यटन बजारमा के गर्न सकिन्छ सो को कार्ययोजना बनाउने होमवर्क समेत दिन्छु ।’
नवगठित कार्यसमितीले बोर्डका कर्मचारीका हकहित मात्र नभई पर्यटन क्षेत्रको विकासका लागि बोर्डका कर्मचारी र निजी सरोकारवालाहरुको नियमित अन्तरक्रिया, कर्मचारीको बृति विकास तथा पर्यटन क्षेत्रको उत्थानका कार्यक्रमहरु गर्न समन्वयकारी भुमिका खेल्ने युनियनका नवनिर्वाचित अध्यक्ष भण्डारीले बताए ।
