‘कोई लौटा दे मेरे बिते हुए दिन’

प्रकाशप्रसाद उपाध्याय

अचेल सर्वत्र महँगीको चर्चा भइरहेछ । देशभित्र मात्रै होइन, देशबाहिर पनि । हुन पनि कत्ति महँगी चर्केको । सामान्य आम्दानी हुनेहरूलाई बिहान–बेलुकाको छाक टार्न पनि धौ–धौ पर्लाजस्तो ।

सस्तो र महँगोको यस कुराले मलाई चिन्तनशील बनाउँदै पु-यायो बाल्यकाल, किशोरावस्था र युवावस्थाका दिनहरूपट्टि । र, के अनुभव गर्न लगायो भने जस–जसै मेरो उमेर बढ्दै गयो, महँगीले पनि टाउको ठडाउँदै गयो, मानौं ऊ मेरो उमेरसित होड गर्दैछ । बाल्यावस्थामा बाबाका हात समाउँदै बजार जाने र किनमेल गर्दा दुई रुपैयाँ सेर (त्यतिबेला जोख्ने साधन सेर हुने हुँदा) घ्यू (डालडा वा रिफाइन्ड तेलको प्रचलनमा नआइसकेको हुँदा) किनेको स्पष्ट सम्झना हुन्छ । समान रूपमा एक रुपैयाँ सेर चामल अर्थात सय सेर चामल भएको बोरा एकसय रुपैयाँमा सहजै किनिन्थ्यो । दशैको अवसरमा खसी–बोका किन्न जाँदा ५ रुपैयाँमा बोका (छागर, जुन देवीलाई बलि दिनको निम्ति उपयुक्त ठानिन्छ) र १५ रुपैयाँमा खसी (दश सेरसम्मको) किनेर डो-याइँदै ल्याइन्थ्यो । मालदह आँप ५ रुपैयाँमा १०० गोटा ।

जोखेर बेच्ने चलन थिएन । यही हाल दाल–तेल, चिनी र फल–पूmल आदिको थियो । साग–सब्जी, आलु–प्याज, गोलभेँडा आदिको थियो । किनिराखेको ३ रुपैयाँ सेर स्याउ र दुई रुपैयाँ दर्जन केरा अहिले किन्न जाँदा र भाउ सोध्दा आङ्ग सिरिङ्ग गर्दछ । यी वस्तुको भाउ अहिले कति पुग्यो भनि रहनु पर्छ र ? तर के गर्ने ? खाइराखेको मुख । के-के नखाई बस्ने ? महँगीलाई आत्मसात गर्न बाध्य हुन्छु ।

किनमेल गर्न पसलमा गयो । दाल–तेलको भाउ सोध्यो, साहुनी भन्छिन् – ‘महँगो छ बुआ ।’ झनक्क रिस उठ्छ । कुन चिज सस्तो छ र ? तर नियन्त्रित हुँदै र ओठमा कृत्रिम हाँसो ल्याउँदै सोध्छु, ‘उसो भए किन राखेको ? हामीलाई तर्साउन त निश्चय नै नहोला ? अनि सस्तो के छ त साहुनी ?’

साहुनी पनि हाँस्दै भन्छिन्, ‘हैन बुआ, अगावै भन्दिएको राम्रो नि । नराखी पनि नहुने ।’ साहुनीको भनाई र सोच पनि सही छ । मालसामान महँगा भए पनि व्यवसाय चलाउन त राख्नै प¥यो । धेरै थरिका गाहक आउँछन ।

धेरै अघि २१औँ शताब्दीको आगमनको अवसरमा हास्य–भाव उत्पन्न गर्ने नीयतले लेखिएको एउटा लेखको पनि सम्झना भएर आउँदछ । रेडियो जिन्दगी नामक उक्त पुस्तकमा लेखकले लेखेका थिए, ‘यस नयाँ शताब्दीमा ब्यागभरि रुपैयाँ बोकेर ल्याउनोस् र हातमा सामान समाएर हिँड्ने गर्नोस् ।’

स्थिति अहिले त्यस्तै भएको छ र यो मूल्यवृद्धिले अब हाम्रा सन्तानहरूको बढ्दो उमेरका साथ पनि विकराल रूप लिँदै जानेछ । सामान किनेर फर्किन लाग्दा कतै रेडियो या क्यासेटबाट बजिरहेको एउटा पुरानो हिन्दी फिलिमको गीत कानमा पर्दछ, ‘कोई लौटा दे मेरे बिते हुए दिन… ।’

किशोरावस्थामा सुन्ने गरेको यो गीत अहिले कानमा पर्दा गीतकारले पनि सके मेरोजस्तै अनुभव गरेका हुनुपर्छ जसलाई उनले लिपिबद्ध गरे र यो फिल्मी गीत हामीले रेडियोमार्फत सुन्न पाउने भयौँ । त्यस समय पनि मेरा मन पर्ने गीतहरूमध्ये रहेको यस गीतले आज पनि प्रसङ्गिकता पाइरहेको छ विभिन्न रूपमा र पाइरहनेछ जबसम्म यो दुनियाँ रहने छ ।

त्यस गीतले पुनः मलाई आफ्ना पुराना दिनहरूको सम्झना गराउँदछ र म त्यस गीतसित आफ्नो स्वर मिलाउँदै हिँडन थाल्छु र सोच्नथाल्छु –‘काश, बितेका दिनहरू फर्कने भए ।’

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button