
मोबाइल त किनियो, अर्को महिना चश्मा पनि किन्नुपर्ला
लघुकथा: मोबाइल
बैकुण्ठ पोखरेल, गोदावरी
‘हैन ! चार-चार पटक फोन गरेको थिएँ, किन नउठाउनु भएको हुजुरले ?’, घरमा खुट्टा राख्ने बित्तिकै बमिता रन्किइन रमितसँग ।
‘उठाउन त खोजेकै हो नि, ह्यांग भएर उठदै उठेन त के गरूँ ?’
‘हजुर पनि चार-पाँच बर्षदेखि खटारो मोबाइल चलाइरनुभाछ,अनि ह्यांग हुँदैन त ! कत्ती भन्नु एउटा राम्रो मोबाइल किन्नु भनेर । हैन, साथी-सँगीको अगाडि त्यो थोत्रो मोबाइल चलाउदा अप्ठ्यारो लाग्दैन भन्या तपाईलाई ?’
‘अप्ठ्यारो लागेर के गर्नु ! घर खर्चको सन्तुलन मिलाउनु परिगो ! तिम्लाई पनि थाह छ नि, मैले मोबाइल किन्दा घरको मासिक बजेट नै डामाडोल हुन्छ भनेर’, औंला भाच्दै रमितले भन्यो,’छोराछोरीको स्कूल फी, कोठाभाडा नून, तेल, दालचामल ती सबैको खर्च कटाएर मुस्किलले महिनाको दुई तीन हजार त जोगिन्छ अनि भन त कसरी मोबाइल किन्नू ? कत्ती न मैले नचाहेर नकिनेको जस्तो !’
‘अब हिसाब मिले मिलोस् नमिले नामिलोस् खुरुक्क एउटा राम्रो मोबाइल किन्नु ! माइतबाट आमा आउनु भाथ्यो । उहाँले नै ‘ज्वाइँलाई नदेखेको पनि धेरै भयो, यसो एक पटक फोन गरेर सोधन, आज अफिसबाट अलि चाडो आउन मिल्छ कि ? आएको बेला भेटेरै जाऊँ’भन्या भएर फोन गरेको, हजुरको खटारो फोन किन उठथ्यो र ?’
‘ए !सासु आमा पो आउनु भाथ्यो । के भन्ठान्नु भयो होला है ? जे होस् अर्को महीनासम्ममा त पन्ध्रहजार जतिमा आउने एउटा मोबाइल त किन्न सकिएला । बिहान खुत्रुके खोतल्दा बचत रकम बार हजार त पुगेको थ्यो ।
एक महीनापछि खाटमा बसेर हिजो भर्खर किनेको मोबाइल खोल्दै गर्दा स्क्रीनमा केहि धमिलो देखिए पछि घबराउँदै रमितले भन्यो, ‘बमिता ! ए बमिता ! हेर न पसले ले ठग्यो कि क्या हो मलाई हिजो भर्खर किनेको यो मोबाइल धमिलो पो देखिन्छ त !’
बुढाको मोबाइल हातमा लिएर नियाल्दै बमिता, ‘हजुर पनि के भएको होला, यो मोबाइल धमिलो भएको होइन के, हजुरको चश्मा थोत्रो भएको । एक पटक चश्मा खोलेर हेर्नुस त !’
‘ऐ..हो त रहेछ लौ !’
‘पख् ! अर्को महीनाको खर्च कटाएर जोगेको पैसाले तलाई नि फेर्छु, तँ त मोबाइल जस्तो महंगों छैनस् नि ?’, चस्मा पुछदै गर्दा रमितको मुखबाट निस्किएका वाक्यले बमिताको मन भने कटक्क खायो ।
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)



