डाक्टरको पनि बुबा भइयो

उमेर मनोविज्ञान

रामहरि अधिकारी

अस्ति शुक्रबार आफ्नो स्वास्थ्य परीक्षणको लागि नजिकैको अस्पताल गएँ । पर्ची लिइवरी डाक्टरको कोठा खोज्दै गएँ । खोजेको कोठामा पुगेपछि ढोकाबाट चिहाएर हेरेँ । भित्र डाक्टरसाब बिरामी हेर्दै थिए । दुई तीनजना बिरामी पालो पर्खिरहेका थिए । डाक्टरसाबले मतिर पुलुक्क हेरेर भने, ‘बुबा, एकैछिन पर्खिनुस् है, तपाईँको पालो आएपछि बोलाउँछु ।’

‘अलि चाँडो गर्दे केटा, आखिर तँ छोरै त रहेछस्’, भन्न मन थियो । तर, मुखबाट हस् डाक्साप भन्ने वाक्य फुत्त बाहिर निस्केछ ।

एउटी नर्सबाहिर केहि काम गर्दै थिइन् ।

मैले ती नर्सलाई सोधेँ, ‘ए सिस्टर बैनी, फलानो डाक्साप भर्खरको केटा हो र ?’

‘होइन, उहाँ त बिशेषज्ञ भैसकेको डाक्टर पो त । तर, मान्छे त्यस्तो उमेर खाको देखिनु हुन्न, भर्खरको ह्यान्डसम पो देखिनुहुन्छ’, मसक्क गरे झैँ गरिन् तिनले ।

‘अनि डाक्सापले मलाई बुबा पो भन्नु भो त’, मैले गुनासो गरेँ ।

‘अनि तपाईँले आँखाको डिलदेखि नाक मुखसम्म पुरै छोपिने मास्क र निधार छोपिने गरी क्याप लगाउनु भा’छ, त्यहि भएर डाक्सापले तपाईँको जवान अनुहार देख्नु भएन होला नि त अंकल !’, ती नर्स खिलखिलाईन् ।

‘धन्न ! यिनले अंकलसम्म भनिन्’, अलिकति खुशी पनि लाग्यो । जवानभन्दा भन्दै पनि अंकल भनेकोमा भने रिसै उठ्यो । जिस्क्याएकी पो हो कि भन्ने आशाले रिस थामियो ।

म जाँचिने पालो आयो । भित्र पसेँ ।

फेरि बुबा नभनुन् भनेर मैले मेरो मास्क तल तानेर चिउँडोसम्म पुर्याएँ ।

डाक्टरसाब त आत्तिँदै ‘ल ल बुबा, कहाँ मास्क खोल्नु भएको पो भन्छन् त !’

झनक्क रिस उठ्यो ।

गएको पुषमा एकजना पहिले सँगै काम गरेका दाई भन्दै हुनुहुन्थ्यो, ‘हेर भाई, मलाई त बिहान बस चढेर अफिस जान लाग्दा कलेज जाँदै गरेका केटीहरुले उता सर्नुस् बाजेु पो भने । त्यो दिनदेखि यो ऊनीको टोपीसोपी निकालेर फाल्दिएँ ।’

धन्न ! मलाई त बाजे भनेनन् भन्ने सोचेर मनलाई नियन्त्रण गरेँ ।

मेरो छालामा समस्या थियो । डाक्टरसाबलाई मेरो समस्या बताएँ, ‘मेरो छालामा अलिकति कन्याउँदा बित्क्किै रगत पो आउँछ डाक्साप ।’

डाक्टरसाबले भने, ‘बुबा, तपाईँको छाला एकदम नरम र सुकोमल रहेछ, त्यहि भएर हो ।’

अहिले भने केटोले मेरो मन राखिदियो भन्ने लाग्यो ।

बाहिर निस्केँ ।

अघिकी नर्स त्यहाँ थिइन, ‘अन्तै गैसकेकी रहिछिन् । यसो आँखा घुमाएँ, कतै देखिनँ ।’

बाटोमा एउटा किराना पसलको ढोकाको चेपो अलिकति खुलेको रहेछ । टक्क अडिएँ, एक पोका मेहन्दी किनेर लैजाउँ कि क्या हो जस्तो लाग्यो । तर, दिमागमा के आयो कुन्नि, अडिएका पाइलाहरु फेरि आफैँ घरको बाटोतिर अगाडि सरे ।

‘लौ, आजबाट डाक्टरको पनि बुबा भईयो’ भन्ने सोच्दासोच्दै म त घरै आइपुगेछु ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button