
के रजनोवृत्ति रोग हो ? पढ्नैपर्ने लेख
रजनोवृत्ति
कृष्ण शर्मा
महिनावारी प्राकृतिक प्रक्रिया हो । यो सृष्टिको अति आवश्यक नियमित चक्र हो । यो विना सृष्टि असम्भव छ । महिनावारीकै चक्रको अन्तिम चक्र महिनावारी सुक्ने समयलाई रजनोवृत्ति भनिन्छ ।
रजस्वला गराउन सहयोग गर्ने हर्मोन उत्पादनमा कमि आएपछि रजनोवृत्ति हुन्छ । यो उमेर ढल्केपछि प्राकृतिक रुपमा नै हुन्छ । कहिलेकाही प्रजनन् अंगमा रोग लागेर गर्भाशय वा अण्डाशय फाल्नुपरेको कारण पनि रजनोवृत्ति हुने गर्दछ ।
रजनोवृतिको समयमा महिलाहरुलाई विभिन्न खालका शारीरिक तथा मानसिक समस्या देखा पर्दछन् । रजनोवृत्तिको क्रममा रहेका महिलामा देखिन सक्ने शारीरिक लक्षणहरु हुन्ः शरीरको तापक्रम बढ्ने, प्रजनन् अंग सुख्खा हुने, यौन चाहना घट्ने, मुटुको धड्कन बढ्ने, रातमा निद्रा नपर्ने, छाला सुख्खा हुने, हास्दा, खोक्दा, हाछ्यु गर्दा पिसाब थाम्न गाह्रो हुने, चाडोचाडो पिसाब लाग्ने र जीउ टाउको दुख्ने, शरीर पोलेजस्तो या केही हिँडेजस्तो हुने, हातखुट्टा झमझमाउने र लाटो भएजस्तो हुने, महिनावारी गडबडी हुने, तौल बढ्ने, थकानका साथै चिन्ता र मानसिक तनाव बढ्ने, झर्को लाग्ने, स्मरणशक्ति कमजोर हुने, कुनै कुरामा ध्यान नलाग्ने आदि ।
रजनोवृत्ति भएपछि होशियार हुन नसक्दा हड्डी खिइने, भाँचिने तथा मुटुको रोग, मस्तिष्कका कोशिकामा रगत जम्ने, जलविन्दु हुने, पाठेघर वा स्तनको क्यान्सर हुने, गर्भाशय झर्ने जस्ता समस्याहरु आउन सक्छन् ।

त्यसै गरी मानसिक समस्याहरुमा डिप्रेशन, चिडचिहापन, चिन्ता, भावनात्मक अस्थिरता, आत्मविश्वासमा कमी भएको अनुभूति हुने साथै कुनै पनि काममा आफूलाई ध्यानकेन्द्रित गराउन गाह्रो हुने लगायतका मनोबैज्ञानिक असरहरु देखापर्ने गरेको पाइन्छ ।
यस प्रकारका शारीरिक तथा मनोवैज्ञानिक समस्याहरुलाई समाधान गर्न स्वस्थ जीवनशैली अबलम्बन गर्ने, हरियो सागपात र फलफूल प्रशस्त खाने, भटमास र त्यसबाट बनेका परिकारहरु सेवन गर्ने, थोरै बोसो भएका खानाहरु खाने, दुध वा दुधका परिकारहरु सेवन गर्ने, दैनिक प्रयाप्त झोलिलो खाना तथा प्रशस्त पानी पिउने, दैनिक ब्यायामका साथै बिहान दैनिक हिँड्ने, खुशी रहने, आफ्ना अनुभवहरुलाई साथीहरुमाझ शेयर गर्ने, सामाजिक काममा सक्रीय बन्ने जस्ता क्रियाकलापहरुले हाडजोर्नी स्वस्थ हुनुका साथै हड्डी खिइएर जाँदैन र मजबुत हुन्छ ।
दैनिक चिसो पानीले नुहाउने, सुती कपडा लगाउने, चिया, कफि, मदिरा वा प्रशोधित पेय पदार्थ, सुर्ती सेवन नगर्ने, मसलेदार, बर्षमा दुई पटक प्रजनन् अंगको परीक्षण गराउने, प्रजनन् अंगका मांसपेशीहरु खुम्च्याउने र छाड्ने खाले अभ्यास गर्ने, आवश्यक परेमा चिकित्सकसँग परामर्श लिने, यसबारेमा महिलाहरुले विशेष खाले ध्यान राख्ने र अरुसँग समस्याका बारेमा छलफल गर्ने, परिवार तथा समाजले पनि यस समस्यालाई बुझेर सहयोग गर्ने गर्नुपर्छ । यसबाट परिवार, समाज र देशलाई पर्न सक्ने पारीवारिक, आर्थिक, सामाजिक, बोझलाई कम गर्न मद्दत पुग्छ ।
रजनोवृत्ति महिलाको महिनावारी चक्रभित्र पर्ने अति महत्वपूर्ण र संवेदनशील विषय हो । मेनोपज अर्थात रजनोवृत्ति सँगसँगै महिलाको प्रजनन् कार्य सकिन्छ । नेपाली समाजमा महिनावारीको यो अन्तिम चक्रको बारेमा खासै चर्चा गरेको पाँइदैन ।
यति बेला महिलालाई अझ बढी चेतना र परामर्शको खाँचो परेको हुन्छ । यसर्थ महिलाको महिनावारी अन्त्य हुने अवस्था, मेनोपजको बारेमा ब्यापक सचेतना बढाउन जरुरी छ ।
रजनोवृत्तिको बेला हर्मोन परिवर्तनका कारण महिलाको शरीरमा विभिन्न समस्याहरु देखापर्नसक्ने हुनाले यो बेलामा महिलालाई सचेत गराउन सकेमा त्यसबाट उनीहरु यसप्रति सकारात्मक बन्नुका साथै जस्तोसुकै समस्याहरुको सामना गर्न मानसिक रुपले तयार हुन सहयोग मिल्छ ।
मेनोपजको समयमा निद्रा नलाग्ने, हर्मोनको गड्बडीले गर्दा रिस उठ्ने, झर्को लाग्ने, तनाव बढ्ने, खलखल पसिना आउने, एकैछिनमा शरिर चिसो हुने जस्ता शारीरिक तथा मानसिक उतारचढाव हुने गर्दछ ।
औसतमा नेपाली महिलाको पैंतालिसदेखि पचास बर्षको उमेरको हाराहारीमा महिनावारी बन्द हुन्छ । नेपाली समाजमा महिनावारी बन्द हुनुलाई स्वाभाविक रुपमा लिइन्छ । महिनावारी बन्द भएपछि महिलाको शरीरमा हुने हर्मोनको उत्पादन कम हुन थाल्छ । यस्तो प्रक्रिया सबै महिलामा एकै किसिमको नहुन पनि सक्छ । कसैलाई रगत धेरै बग्ने, कहिले धेरै तातो या कहिले धेरै चिसो अनुभूति हुने हुन सक्छ । शरीर आलस्य हुने, शरीरका अंगहरु सुनिने, पसिना आउने, रिस उठ्ने, तनाव बढ्ने, आदि रजनोवृत्तिको चरणमा देखा पर्ने समस्याहरु हुन् ।
महिलालाई यस्तो बेलामा परिवारको साथ र सहयोगको ज्यादै नै खाँचो परेको हुन्छ । हाम्रो समाजमा यस बारेमा खासै चर्चा हुँदैन । यसको व्यापक चर्चा र वहस हुनु पर्छ । सचेतना अभिवृद्दि पनि जरुरी देखिन्छ । धेरैजसो महिनावारीको शुरुको कुरा तथा चर्चा गरिन्छ तर मेनोपजको बारेमा खासै बहस गरिदैंन । मेनोपज के हो र यसका सम्भावित समस्याहरु के के हुन् भनेर अनुभवहरु सेयर गर्ने हो भने पनि त्यस खाले समस्याको पुर्वानुमान तथा मानसिक रुपले तयार भई सो को सामना गर्न महिलालाई सहज हुन जान्छ ।
यस्ता खाले समस्या आई नपरोस् भनेर मेनोपजको शुरुवाती अवस्थादेखि नै खानपानमा विशेष ध्यान दिनुपर्छ । योगासन र व्यायामलाई जीवनमा प्रयोग गर्नुपर्छ । पत्रु खानाहरु खानु हुँदैन । क्यालोरीमा नियन्त्रण गर्नुपर्छ । यदि स्वास्थ्यको वास्ता गरिएन भने मोटोपनको समस्या र त्यसकै कारण मधुमेह, उच्च रक्तचाप लगायतका समस्याहरु देखा पर्न सक्छन् ।
महिनावारी बन्द हुनु कुनै रोग होइन । पश्चिमी मुलुकहरुमा महिनावारी बन्द भएपछिका साधारण समस्या हटाउन पनि विभिन्न किसिमका औषधीहरुको प्रयोग गर्ने गरिन्छ । यस्ता सामान्य समस्याका लागि हर्मोन रिप्लेस्मेन्ट थेरापी जस्ता उपचार पनि सिफारिस गर्ने गरिन्छ । यसर्थ महिनावारी बन्द हुँदाको सामान्य समस्यामा जथाभावी औषधी सेवन नगर्न र यसबारेमा सबै महिलालाई सचेत हुन जरुरी हुन्छ ।
पछिल्ला दिनहरुमा नेपालमा पनि विस्तारै रजनोवृत्तिलाई एक प्रकारको रोग जस्तै ठान्ने चलन बढ्दै गएको छ । यद्यपि यसबारेमा छलफल, बहस भने हुने गरेको खासै देखिदैन । अब यस्ता विषय सम्बन्धमा विशेष खाले छलफल, अन्तरक्रिया, सचेतना, जानकारीहरु आदानप्रदान गर्ने र रजनोवृत्तिको चरणमा सामना गर्नुपर्ने संभावित समस्याहरुका बारेमा उजागर गर्न आवश्यक देखिन्छ ।
महिनावारी शुरु हुने अवस्था जस्तै यो सुक्ने अवस्था पनि महिलाहरुका लागि जटिल हुन्छ । शुरु हुँदाको जस्तै अन्त्य हुने चक्र पनि संवेदनशील हुन्छ । शरीरमा हर्मोनको गड्बडी हुँदा मानसिक तथा शारीरिक समस्याहरुले महिलालाई सताउने गर्दछ । यसै चरणमा डिभोर्सका घटनाहरु पनि घट्ने गर्दछ, जब परिवारमा अरु सदस्यहरुले भन्दा बढी श्रीमानले बुझ्नुपर्ने बेलामा श्रीमानले पनि ख्याल नगर्दा यस्ता विषयले जटिल रुप लिन सक्दछ ।
शिक्षित महिलाहरुमध्ये थोरै मात्र यसबारेमा सचेत र जानकार देखिन्छन् । सामान्य साक्षर महिलालाई त रजनोवृत्तिका सम्बन्धमा त्यति राम्रो ज्ञान पनि हुँदैन । त्यसकारण महिलाहरुबीचमै पनि यस्ता विषयका बारेमा चर्चा हुन जरुरी देखिन्छ । ताकि सचेतना र जागरणले सम्भाव्य जटिल समस्याबाट सहज सामना गर्न सहयोग पुग्न सक्छ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)