
कोमल ओलीले बाँदरको कविता लेखिन्, मैले बाँदर भगाउने कुकुरको
ब्राह्मणपुत्रको लकडाउन डायरी–६७
भरत शर्मा
फोटोः ओलीको फेसबुक पेजबाट
सरकारले लकडाउन जारी छ भने पनि शहरमा लकडाउन हटिसकेको अनुभव गर्न सकिन्छ । बजार र सडकमा मोटरहरु सामान्य अवस्थामा चलेका छन् । यस्तो अवस्था देख्दा शहरमित्र अझै लकडाउन जारी छ भनेर लेख्नु नैं गलत हो जस्तो लाग्न थाल्यो ।
कान्छो पुत्र शुभमले भन्यो, ‘लकडाउन हटिसक्दा पनि तपाई लकडाउन डायरी लेख्दै हुनुहुन्छ । यो काम गलत हो ।’ बाल मनोविज्ञानले समेत देशमा लकडाउन हटिसकेको अनुभव गर्न थालेको छ ।
‘सरकारले ३१ असारसम्म लकडाउन भनेको छ’, मैले भनेँ ।
‘सरकारले भनेर हुन्छ ? बजार सबै खुल्ला भइसक्यो’, घरका अरु सदस्यले भने । म अल्पमतमा परेँ । तर, पनि यर्थाथमा चाहिँ प्रशासनले लकडाउन जारी राखेको छ ।
आज राष्ट्रिय सभामा ‘बाँदर’ कविता वाचन भयो । सभासद् गायिका कोमल वलीको बाँदर कविता निकै मर्मस्पशी लाग्यो । कवितामा शब्द, भावसँगै मिठो वाचन कला सुन्दा राजनीतिमा ‘बाँदर’ प्रवृत्ति रहेको प्रष्ट भयो ।
पछिल्ला दिनमा मानिसहरुले आफ्नो मनको वह पोख्न कविता भन्ने प्रचनल बढेको छ । कविताको शक्ति निकै बलियो हुन्छ । छोटो शब्दमा धेरै कुरा समेट्न सक्ने गरी लेखिएको कविताले मानिसको मनभित्र चसक्क छुन्छ ।
लकडाउन यात्राको ६७ दिनसम्म आइपुग्दा यात्रा, अनुभव र समाजको कथा नियमित लेख्दा जुन सन्तुष्टी प्राप्त गरेँ, त्यो बयान गर्न सक्ने अवस्था छैन ।
नेपालनाम्चामा दैनिक रुपमा निरन्तर यति लामो अनुभव लेख्ने स्तभकार बन्न पाएकोमा गर्व लागेको छ । शब्दभित्रको शक्ति र हामी पत्रकारका लागि लेखनले दिने सन्तुष्टी कति हो कति !
आजसम्म निरन्तर लेखिरहदा पाठकहरुले समेत अनेक प्रतिक्रिया दिएका छन् । सोमबार नेपालको प्रशासनिक निकाय सिंहदरवार थिएँ । प्रशासन क्षेत्रका केही मित्रहरुलाई भेटेँ । भेटको पहिलो कुरा नै लकडाउन डायरी भयो । सामान्य प्रशासन मन्त्रालयका उपसचिव मित्र रविन्द्रजंग थापाले लकडाउनको समयको अनुभव साटासाट गरे । लकडाउनको समय घरमा बस्दा आफूले विगतमा गरेका अनुभवको समीक्षा गर्ने मौका मिलेको बताए ।
उनले मेरो लकडाउन डायरीको लागि धन्यवाद दिदै भने, ‘अब त लकडाउन डायरी बन्द भयो कि लेख्दै हुनुहुन्छ ?’
मैले भनेँ, ‘सरकारले त लकडाउन जारी राखेको छ नि होइन ? लकडाउन जारी रहेसम्म डायरी लेख्नुपर्ला ।’
सोमबार सिंहदरवारमा एक फन्को लगाउँदा सिंहदरवारमा दैनिकी पनि पुरानो लयमा भएको अनुभव भयो । अर्थात् देशमा लकडाउन समापन भएको अनुभव भयो । आजदेखि लकडाउनको विगतको समीक्षा गर्दै समापन डायरी लेखौं कि भनेर सोचेँ तर फेरि लकडाउन जारी छ ।
यो कस्तो लकडाउन हो ? हामीले प्रश्न गर्ने हो ? प्रश्न गर्ने र त्यसको उत्तर जस्ताको तस्तै दिने हामी पत्रकारिताको विद्यार्थीको काम हो । तर, बजारको दैनिकी देखेर कोही पनि लकडाउन जारी छ भनेर भन्न सक्दैनन् ।
राजनीतिमा ‘बाँदर’ कविताको चर्चा भइरहँदा आजको डायरीका कविता लेख्ने सोच बनेको थियो ।
कविता कुन शीर्षकमा लेख्ने होला भनेर सोच्दै थिएँ । गाउँघरतिर अहिले बाँदरले किसानले लगाएको हरियाँ मकैं खाएर हैरान गरेको खबर सुनेको थियो ।
गाउँघरतिर बाँदर लखेट्न कुकुरको सहयोग लिने गरिन्छ ।
त्यसैले आज कुकुरको कविता लेखौं भन्ने लाग्यो ।
कुकुर
देशमा बाँदरहरुले निकै दुःख दिए
बाँदरहरु कहाँ छन् ?
कुकुरले थाहा पाउन सकेनन्
गोठालाहरु घरभित्र बसेको छन्
कुकुर पनि घरभित्र थुनिएको छ
तर, बाँदरहरु सत्ताको लागि लडिरहेका छन्
बाँदरका जात धेरै
एउटै समूहमित्र गुट–उपगुट
कुकुरहरु बाँदर लखेटन नसक्ने भए
बाँदरहरु बलवान छन्
गाउँमा हरियो मकैं खाने बाँदर
अहिले शहरभित्र बसेर
देश नामको मकैं खाँदै छन्
अब कुनै दिन
बाँदरहरु गाउँ जानेछन्
र, भन्नेछन्, हामी शहरबाट गाउँ आयौं
हामीलाई एक भोट मकैं दिनुहोस् ।
फेरि पनि बाँदरहरुले भन्नेछन्
देशलाई रामराज्य बनाउने छौं
गाउँलाई सिंहदरवार
र, शहरमा गाउँ बनाउने छौं
विधर्मी हो, तिमीहरुलाई सत्तामा पु-याउन
भोट दिनुपर्ने ?
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)