
लुगा भन्नु जुत्ता होइनथ्यो सायद
सुकिला साथीहरू हाम्रा फुटेका कुर्कच्चा र नङमा लागेको घाँसको कस हेरेर होच्याउँथे । टुकीको ज्वालोमा निद्राले उँगेर कपाल त कति डढ्ने डढ्ने ! स्कुले जीवनमा हामी सत्तरी प्रतिशत कृषक र तीस प्रतिशत मात्र विद्यार्थी थियौं ।
स्कुल उमेरका ती दिन
टीका आत्रेय
हामी अहिले एक्काइसौँ शताब्दीको डिजिटल युगमा बाँचिरहेका छौँ । हामी सबैका हात हातमा क्यामेरावाला मोवाइल छन् र यस्तो कुरा सामान्य जस्तो पनि भइसक्यो । फोटो खिच्नु र विभिन्न माध्यमबाट तिनीहरुलाई सुरक्षित गरेर राख्न अहिले सजिलो छ । साँच्चै बजारमा अहिले फोटो राख्ने एल्बम पाइन्छन् कि पाँइदैनन् होला ? जे होस्, जीवन फर्किएर हेर्न कहिलेकाहीँ एल्बमका फोटोहरूले खूब सहयोग पु-याउने रहेछन् । म यो डिजिटल युगमा उभिएर अतितमा फर्किएकी छु यतिबेला ।
केही समयअघि घर सफा गर्ने क्रममा पुरानो एल्बम भेटियो र एल्बममा भेटियो मेरो स्कुल पढ्दा सम्भवतः जीवनकै पनि हुनसक्छ पहिलो पटक खिचिएको फोटो । त्यो फोटो केवल मेरोमात्र फोटो थिएन, त्यो समयको एउटा गतिलो फोटो पनि थियो, हो । एल्बम हुनु, फोटो हुनु, फोटो खिच्दाको पोजिसन, लुगाफाटा, त्यो बेलाका साथी सङ्गी र त्योभन्दा पनि परको कुरा त नदेखिने तर सम्झना जिन्दगी । फोटोमा देखिएको मेरो हुलियाले मलाई अतितसम्म पु-यायो र यो लेख लेख्न मन गरायो (वाध्य होइन) ।
मेरो शिक्षाको प्रारम्भ इलाम जिल्लाको तत्कालिन फुएतप्पा (अहिले फाकफोकथुम)को विष्णु नि.मा.वि.बाट शुरु भएको हो । हामी पढुन्जेल र धेरै पछिसम्म पनि सो विद्यालय नि.मा.वि. नै थियो । त्यो बेला नि.मा.वि. सात कक्षासम्मको शिक्षालाई मानिन्थ्यो । मैले भेटेको मेरो फोटो पनि कक्षा सातमा पढ्दाको नै थियो । जाडो ठाउँ त हुँदै हो हाम्रो ठाउँ त्यसमाथि समय पनि जाडो हुनुपर्छ, ओड्ने ओडेको फोटो छ त्यो । ओड्नेले सर्ट छोपिएको निलो फ्रकसहित स्कुलको लाइन लागेका ठाउँमा उभिएको फोटो । माथि लुगा छ, खुट्टा खाली, धुलैधुलो देखिने फुस्रा खुट्टा । सायद लुगा भन्नु जुत्ता होइनथ्यो त्यो बेला । ममात्र होइन अधिकांश साथी र भाइ बहिनी (सात कक्षा भएकोले)का पनि खुट्टा खाली नै छन् भने केहीका चप्पल छन् फोटोमा । कक्षा सातभन्दा अघिका अन्य समय पर्गेल्ने सम्झना मसँग कम छन् यो प्रसङ्गमा, आएपछि लेखिएला ।
नि.मा.वि.को पढाइ सकेपछि हाम्रो लागि नजिक पर्ने हाई स्कुल पाँचथर जिल्लाको रविमा थियो दुर्गा मा.वि.(अहिले त क्याम्पस भइसकेको छ) । रवि बजारमै रहेको सो स्कुलमा बजार एरिया र आसपासका सुकिला विद्यार्थीहरुको बाहुल्यता र हालीमुहाली थियो । हामी गाउँबाट पढ्न जानेहरुका लागि केही असहज पक्कै पनि थियो । हामी नियमित स्कुल जाने विद्यार्थी भए पनि हाम्रो जीवन भोगाइ सत्तरी प्रतिशत कृषक र तीस प्रतिशत मात्र विद्यार्थी थियो । अहिले पनि मलाई सामुदायिक विद्यालयका बेस्याहार बालबालिका देख्दा आफ्नै बाल्यकाल र स्कुले जीवनको याद आउँछ । त्यस बेला उनीहरू सफाचट भएर स्कुल आउने बजारका, हामी धुस्रा फुस्रा गाउँबाट आउने । एक डेढ घण्टा कहिले धुलामा र कहिले हिलोमा हिँड्दा धुस्रिनु फुस्रिनु त सामान्य नै थियो । त्यसै पनि उनीहरू रैथाने हामी नयाँ, हामी हेपाइमा पथ्र्यौ नै । कक्षा आठको रिजल्ट पछि कक्षा नौ भर्ना भएपछि यो क्रम अलि घटेर गयो मेरो पनि र मजस्ता गाउँले विद्यार्थी सबैको, तथापि हामी गाउँले गाउँले नै रहन्थ्यौँ ।
मैले अघि पनि भनेँ हामी विद्यार्थीभन्दा बढी कृषक थियौँ । आम्दानीको ठूलो स्रोत कृषि र पशुपालन । बेच्नुपर्ने कुरा केही घरमा बेचे पनि धेरै बजार लगेरै बेच्नुपर्ने, किन्नेले पनि बजारबाटै । बजार लाग्ने दिन औंसी र पूर्णिमामा रवि बजार । हाम्रो काम स्कुल जानुमात्र थिएन, बजार लाग्ने केही दिन अघि चै स्कुल जाँदा मकै, गहुँ, कोदो, तोरी-धान चै घरमै किनबेच हुन्थ्यो बजार लाने चलन थिएन) के के बेच्नु छ, भारी लिएर जानुपथ्र्यो र आमा बुबाले भन्नुभएको चिनेको दोकानमा भारी राखेर स्कुल जानु पथ्र्यो । यसरी भारी बोकेर स्कुल जाने भरियालाई साथीहरूले असल नै ठान्नुपर्छ भन्ने पनि भएन र थियो पनि त्यस्तै । भारी बोक्दा डडाल्नामा आउने पसिना आफ्नै ठाउँमा छन् तर रवि चिसो ठाउँ भएकोले पसिना स्वीटरले छोपिदिन्थ्यो । बजार लाग्ने दिनका आसपासका कुरा ती भए, अन्य समय दही लानुपथ्र्यो र ठेक्का गरिदिएको होटलमा छोडेर स्कुल जानुपथ्र्यो । यी हाम्रा पढाइसँगैका नियमित काम हुन्थे । अहिले त गाउँमा धेरैवटा दुध डेरीहरू छन्, दुध गाउँमै बिकिहाल्छ, दही बेच्ने चलन त छैन नै ।
स्कुल जानु दिउँसो थियो तथापि बिहान उठेर पानी लिन पँधेरो जानु, घर कसिङ्गर लाउनु, भाँडा खरानी लगाउनु, लोहोटा माझ्नु । कोही बुबासँग गोठ जानु, गोबर सोहोर्नु, घसेटा टिप्नु यी बिहान चिया खानुभन्दा अगाडिका काम । चियापछि घाँस काट्न जानु र घाँस काटेर आएपछि खाना खाएर स्कुल जानु हाम्रो नियमित काम हुन्थ्यो । स्कुलबाट फर्किएपछि पनि घाँस र घरको काम भइहाल्थ्यो । अझ मंसिरमा धान पराल ओसार्न र वैसाख जेठमा गहुँ भित्र्याउन खेत कुद्नुपथ्र्यो, हामी त्यसै गथ्यौँ । अहिले त धान, पराल, गहुँ दाउरा सबै ट्याक्टरले ओसार्छ खेती नै गरे पनि । हुन त अहिले खेती गर्ने चलन नै हराएर गइसक्यो । खेत बारीलाई माया गर्ने पाखुरा कि शहरमा छन् कि विदेशमा । अब त त्यहीँ हुर्किएका नानी बाबूहरूलाई समेत हाम्रा भोगाइ कथा बन्न सक्छन् । असारमा चाहिँ स्कुलको बर्खे बिदा हुने हुनाले एकोहोरो काममात्र हुन्थ्यो ।
आर्थिक रूपले हाम्रो परिवार आफ्नो श्रमले हात मुख जोर्न पुग्ने वर्गमा पथ्र्यो । पढ्न जान्छु भनेर हामीले कुनै कुस्ती खेल्नु परेन बरु हामी भाग्यमानी छोराछोरी जो विना मानसिक सङ्घर्ष नै स्कुल जान पायौँ । पायौं त भनेँ, यसको पनि लामै कथा रहेछ । कुनै दिन त्यसलाई लेखौँला नै तथापि हामी स्कुल जान पाउनुको कारण बुबा आफैँ शिक्षण पेशामा आबद्ध रहनु पनि थियो । बुबा स्वयं शिक्षक हुँदाहुँदै पनि शिक्षकभन्दा बढी कृषक नै हुनुहुन्थ्यो र बुबासँगै हामी पनि सँगसँगै काम र सँगसँगै स्कुल गथ्र्यौ । सेवा निवृत्त भएपछि पनि उत्तिकै सक्रिय हुनुहुन्छ बुबा उमेर अनुसार र शरीर अनुसार । पहाडी धरातल, गाउँले बसोबास, कृषि र पशुपालन मुख्य व्यवसाय भएको कारण शारीरिक रूपमा हामीले धेरै नै सङ्घर्ष गनुपथ्र्यो । अझ पहिले पहिले त ढिकी र जाँतो पनि थिए हाम्रा बेलुकाको अँध्यारोका साथी, पछिमात्र गाउँमा मिल हालिए ।
स्कुलमा दिइएको घरकाम गर्न रातिको समय छुट्याइएको हुन्थ्यो तर दिनभरिको धमाधमले खूब निद्रा लाग्थ्यो । पढ्ने उज्यालो टुकीको । टुकीको ज्वालोमा निद्राले उँगेर कपाल त कति डढ्ने डढ्ने । निदाएको देख्नुभयो भने बुबाले कुट्नु पनि हुन्थ्यो तर यस्ता सजाँय त्यो बेलाको सामान्य कुरा थियो । निदाउनेमा मभन्दा दिदीहरू अगाडि । बुबालाई छल्ने पनि हाम्रो राम्रै आइडिया थियो । पहाडका घरमा तल्लो तलामा चुलो अगेनो र माथ्लो तलामा सुत्ने ठाउँ हुन्छ । तल आगो बालेपछि माथि धुँवा जान्छ नै । हाम्रो घरमा हामीलाई पढ्न मिल्नेगरी कोठा बनाइदिनुभएको थियो । हामी धुँवा आउँछ भनेर ढोका लगाएर बस्थ्यौँ । काठको भ-याङ बजाउँदै बुबा माथि आएपछि ननिदाएकोले निदाएकालाई ब्युँझाउने गथ्र्यौ र जोगिन्थ्यौँ । पछि हाम्रो डढेको कपाल हेरेर होला बुबा आमाले लालटिन किनिदिनुभयो । भाइहरूका पालामा त सोलार नै राख्नुभयो, अहिले बिजुली छ, वाइफाई छ । बुबा आमासँग आनन्दले अनुहार देखाएर गफ गर्न पाइन्छ ।
कहिले काहीँ अरूका प्रगति हेर्दा केही गर्न सकिएन जस्तो पनि लाग्छ, फेरि विगतका दिनहरू सम्झँदा र ती भौतिक काम गराइसँगका विद्यार्थी जीवन सम्झिँदा धन्न यहाँसम्म आइपुगियो जस्तो पनि लाग्छ । कतिपय ऊ बेलाका सुकिला साथीहरू जो हाम्रा फुटेका कुर्कच्चा र नङमा लागेको घाँसको कस हेरेर होच्याउँथे, उनीहरूको खूब सम्झना पनि आउँछ किनकी त्यो उमेरजन्य सोचाइ थियो होला उनीहरूको र हाम्रोचाहिँ बाध्यता । जे होस्, जतिसुकै कामका बाबजुद पनि विद्यालय जान पाइयो । अक्षरहरूसँग रमाउन पाइयो र आज यति सुन्दर संसारलाई र यो प्रविधिलाई नजिकबाट नियाल्न पाइएको छ । त्यो समयका हाम्रा नाङ्गा खुट्टा समयका उपहार हुन् । यी उपहार भन्नु जीवन भोगाईका अनुभव पनि त हुन् । सधैँ त्यस्तो हँुदैनथ्यो होला कि ? सायद त्यो फोटो खिचेको दिन चप्पल लगाएको थिएन होला कि ? अथवा जे जस्तो भए पनि मेरो जग त्यही थियो, त्यही जगमाथि उभिएर नै आज मैले यो लेख लेख्न सकेँ ।
धन्य ! मेरो स्कुले जीवन ।
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)



