
पत्नीले फेरि नाङलो फटकिन्, चराहरू फेरि आए
मानिस र चराचुरुङ्गी
प्रकाशप्रसाद उपाध्याय
देशको राजनीतिक स्थिति, बाढीको प्रकोप र कोरोनामय वातावरणका कारण बाहिर निस्किन नसकेबाट मन उच्चिटिरहेको अवस्थामा केही लेख्ने मन गरिरहेको थिएन । तर यस बीच एउटा फाउन्डेशनका महासचिवले फाउन्डेशनका संस्थापकको ७५औं जन्मजयन्तीको उपलक्ष्यमा प्रकाशित हुने भएको एउटा अभिनन्दन ग्रन्थका लागि मेरो पनि लेखको लागि फोनमार्फत आग्रह गरे ।
यस सम्बन्धमा हीरक महोत्सव मूल समारोह समितिको तर्फबाट १–२ दिन पछि पत्र पनि प्राप्त भयो । अभिनन्दन हुने व्यक्ति बहुआयामिक व्यक्तित्वका धनी, समाजमा सुविख्यात रहेका र मेरा सुपरिचित पनि रहेकाले नाईं गर्ने कुरै भएन । फेरि मजस्तो सामान्य पत्रकार, लेखकलाई सम्झेर लेखको आह्वान गरिएको देख्दा पनि नाईं गर्न मन लागेन । तर सोच्न थालेँ– कसरी थालूँ ?
यही सोच्दै बार्दलीमा गएँ । पत्नी त्यहीँ रहिछन् चामल केलाइरहेकी । उनले फटकेको नाङलोको ध्वनि सुनेर आएका केही भँगेराहरूले छेउमै तल झरेका चामल र कनिकाहरू च्याप्दै भोक मेटाइरहेका देखेँ । तर म पुगेको देख्ना साथ ती भुर्र उडे र छेउकै बोटमा गई आपस्तमा क्रीडा गर्न थाले । म उनीहरूको क्रीडा हेर्न थालेँ ।
पत्नीले फेरि नाङलो फटकिन् । चराहरू फेरि आए । तर, यसपाली मदेखि डराएनन् । सोच्न थालेँ– पहिले मदेखि डराउने यी भँगेराहरू अहिले किन निर्धक्क ? कोरोनाको यस महामारी, बर्ड फ्लुको पनि उत्तिकै खतरा फैलेको बेलामा यी चराहरू कति निर्धक्क, कति निडर भएका ? कहिले आँगनमा, त कहिले बार्दलीमा वा यताउतिका बोटमाथि ? जता–ततै स्वच्छन्द भइ उड्नसक्ने । हामी भने घरभित्र खुम्चिएर बसिरहने, त्यो पनि सोसल र फिजिकल डिस्टेन्सिंगको पालना गर्दै । प्राण त सबै प्राणीको एकसमान हो । मात्र स्वभाव र आचरणमा अन्तर । मानिस बुद्धिजीवि भएर बुद्धि–विवेकको प्रयोग गर्दछ र तर यिनीहरूमा सायद बुद्धिको प्रयोग गर्ने क्षमता मानिसमा भएजति हुँदैन । बुद्धि हुँदैन भनुँ भने आफ्नो ज्यान जोगाउन मदेखि डराई किन उडिगएका ? डर त यिनीहरूलाई पनि हुँदो रहेछ प्राणको । समातेर मार्छ कि भन्ने डर नहुँदो हो त उडेर जाने थिएनन् ? वातावरणमा विद्यमान अदृश्य शत्रुको भय नभएर मृत्युसित नडराएका हुन् कि ? हामी चाहिँ बुद्धिजीवीहरू भएर यी अदृश्य शत्रुबाट भयभीत भई हाउसबन्द ।
मेरो ध्यान भँगेराहरूका क्रियाकलापपट्टि नै केन्द्रित हन थाल्यो । यस बीच एउटा काग पनि आई पुग्यो । यता–उति टाउको घुमाउँदै हेर्न थाल्यो । भँगेराहरू आहारा टिप्नमा व्यस्त भएका र हामी दुईलाई पनि उपस्थित देखेर तत्कालै उडेर गयो र नजिकको बोटमाथि बसेर ‘काँ-काँ’ गर्न थाल्यो । आफ्नो बोलीमा केही भनेको हो कि ? बुझ्न सकिएन । तर अनुमान गरेँ, भँगेराहरूलाई भन्दैछ– ‘चनाखो भई बस है भँगेरा–भँगेरी हो, यो मानव जाति भरपर्दो हुँदैन । आफ्नो जाति, वर्ग र साथी–भाईको त दुश्मन हुने जातिले तिमी हामीलाई के छाड्ला ? कति बेला पासोमा अल्झाएर तीन तारा देखाउने हुन् थाहा पाउने छैनौ ।’
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)



