गमलामा धान रोप्दै गर्दा शर्मिला, जानुका र मेनुकाहरुको याद आयो

अम्बिका घिमिरे
फोटोः अशोक सिलवाल

गमलामा धान रोपेर
असार पन्ध्र मनाउँदै गर्दा
धानको गावा लगाउन सिकाउने
कमला दिदीको याद आयो
साह्रै छिटो रोप्ने
विमला दिदीको याद आयो
कमला दिदी र विमला दिदीको दुखद अन्त्यको याद आयो ।

हजुरआमाले ठेकीमा जमाएको
बाक्लो दहीको याद आयो
दहीजस्तै हिलो खेली
हिलाम्य भएका रमाइला
दिनहरुको याद आयो
बर्षौदेखि नभेटिएका
शर्मिला, जानुका र मेनुकाहरुको याद आयो ।

पुच्छरले हिलो छेपिराख्ने
तारे माले गोरुको याद आयो
खेतको गरामा बसेर खाएको
दहीचिउरा र अचारको याद आयो ।

एकै छिनमा उर्लेर आइहाल्ने
पात्लेखोलाको याद आयो
हात समाएर खोला तारिदिने
बिसे काकाको याद आयो ।

बर्षौदेखि नभेटिएका
अंकल आन्टीहरुका याद आयो
हजुरबा हजुरआमाहरुको याद आयो
बालखीहरुको याद आयो
सानैमा देखेका र देख्नै नपाई
हुर्किसकेका भाइबहिनीको याद आयो
जन्मस्थानको सारै याद आयो ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button