हाउसवाइफ: बेलुका ढिलो आउँदा पनि छोराछोरीले भान्सा समाल्छ्न्

ठमेलमा उनको पसल छ । विभिन्न संघसस्थामा समेत आवद्ध छिन् । तर, सबभन्दा महत्वपूर्ण कुरो, उनी हाउसवाइफ पनि हुन् । भन्छिन्, ‘सबै कुरालाई मिलाएर हिँड्न गाह्रो हुन्छ तर पनि अगाडि बड्ने कोसिस गर्दै छु ।’
नेपालनाम्चाले सुरु गरेको खास स्तम्भ हाउसवाइफमा शकुन्तला देवकोटा

सामान्यतया बिहानदेखि बेलुकासम्मको तपाईंको दैनिकी बताउनुस्न ।
मेरो दैनिकी अलि फरक किसिमको छ । म बिहान अलि छिटो उठ्ने गर्छु । घर सरसफाइ, खाना बनाउनु, सबैलाई खुवाउनु घर सरसामानको व्यवस्था गर्नु, आफ्नो काममा जानू , बेलुकी घर फर्किए पछि फेरि भान्सा समाल्नु नै मेरो दैनिक हुन्छ ।

भन्न मिल्छ भने तपाईंको परिवार र परिवारका सदस्यहरुबारे केही भन्नुस्न ।
मेरो सानो परिवार छ । एक छोरा, एक छोरी, श्रीमान, हजुरआमा (बुढीसासु) र म । छोरा १२ सकेर बीबीएस पढ्ने तयारी गर्दै छन् । छोरी १२ पढ्दै छिन् । श्रीमान सरकारी स्कुलमा पढाउनु हुन्छ । हजुर आमा घर कुर्नु हुन्छ ।

कत्तिको घुमघाम गर्नु हुन्छ ?
समय मिलेसम्म घुम्ने गर्छु ।

तपाईलाई सबैभन्दा रमाइलो के गर्दा लाग्छ ?
आफुले गरेको काममा सफलता मिल्दा रमाइलो लाग्छ म ।

तपाईंको जीवनको सपना के हो ?
अबको सपना आफ्नो सन्तानलाई सफल, सक्षम बनाउने, परिवारलाई खुसी राख्ने, समाज सेवा गर्ने ।

तपाईंलाई सबैभन्दा बढी चिन्ता के को लाग्छ ?
सबैभन्दा बढी चिन्ता छोराछोरीको । काठमाडौको ठाँउ, बच्चालाई स्कुल छोडेर हामी दुबैजना काममा जाने गथ्यौं । बेलुका बच्चाहरु आफै स्कुलबाट आउँथे । बिहान राखिदिएको खाजा खाने, खेल्ने गर्थें । दैनिक जसो बालबालिका हराएको समाचार आउँथ्थो, टिभि, रेडियोमा । समय खराब, काम नगरे खान बस्न नपुग्ने । काममा गए बच्चा घर आए कि आएनन् भन्ने पीर । सारै दुख गरी हुर्काएँ । आजभोलि सजिलो छ । म बेलुका ढिलो आउँदा पनि छोराछोरीले भान्सा समाल्छ्न् ।

सानो हुँदा भविष्यमा के बन्छु भन्ने सोच्नु हुन्थ्यो ?
म सानो छदा ठुलो भएपछि सरकारी जागिर खान्छु, आमाबुवालाई सहयोग गर्छु भन्ने लाग्थ्यो । तर, छोरीमान्छेको जीवन त्यस्तो हुने रहेनछ । मेरो सरकारी जागिर खाने समय पनि त्यस्तै रह्यो । देश चरम द्वन्दमा थियो । बिहे भयो । आफुले सोचेको विपरित भयो । जिन्दगीले अर्को मोड लियो ।

तपाईंको खुशी के हो र परिवारको खुशी भनेको के हो ?
आजभोलि परिवारको खुशी नै मेरो खुशी हो । मेरो लगानी परिवारलाई नै गरेको छु जस्तो लाग्छ ।

तपाईंलाई सबैभन्दा बढी झर्को के ले लाग्छ ?
आफ्नो देशमै व्यवसाय गरौं भनेर लागियो । अहिले देशको अवस्था देखेर दिक्क लाग्छ । काम गरेर खाने वातावरण छैन ।

नेपालको राजनीतिक दल, तिनका नेता र राजनीतिक घटनाहरु देखेर तपाईंलाई कस्तो लाग्छ ?
राजनिती आफैमा नराम्रो होइन, राजनिती गर्ने पात्र खराब निस्किएकोमा दुख लाग्छ । म राजनीतिशास्त्र मै मास्टर्स् गर्दै छु । मेरो मनपर्ने विषय हो यो ।

टिभी, पत्रपत्रिका कत्तिको हेर्नु हुन्छ ? टिकटक, फेसबुक कत्तिको चलाउनु हुन्छ ? अनि सबैभन्दा बढ्ता के मन पर्छ ?
पहिले पहिले टिभी-पत्रपत्रिका खुब हेर्ने गर्थें । आजभोलि कम हेर्छु । सबै कुरा मोबाइलमै भेटाइन्छ । फेसबुक, टिकटक समयसँगै आएको प्रविधि हो । धेरै ज्ञानबद्र्धक कुराहरु पनि पाइन्छ । समयले साथ दिदा चलाउँछु । रमाइलो लाग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button