आहा ! त्यो बालापनको दशैँ

शान्ति तिमल्सिना
गोदावरी नगरपालिका

आहा ! त्यो बालापनको दशैँ कस्तो रमाइलो । अहिलेसम्म पनि दशै आउँदा त्यही बेलाकै झल्को आउँछ । नयाँ लुगा लगाउन पाँउदाको त्यो खुशी अहिले महिनैपिच्छे किन्दा भन्दा बढी हुन्थ्यो । शहरमा बस्नु भएको आफन्त अनि धेरै टाढाबाट आउनु भएको आफन्त सबै जना भेट हुँदा बेग्लै अनुभुती हुन्थ्यो । खेतमा धानका बाला लहलह झुलेका हेर्दा मनै लोभिने खालको सौन्दर्य दिलाउने प्रकृतिले पनि ।

खेतबारीको कामको चपेटा पनि दशैकै समय हुने फेरि तैपनि किन किन त्यतिबेलाको मौसम नै अत्यन्तै रमाइलो लाग्थ्यो मलाई । सेतो कमेरो र रातो माटोले पोतेको घर देख्दा यस्तो राम्रो लाग्थ्यो कि अहिलेको महँगो केमिकल वाला वाटरप्रुफ रङहरुले पनि फेल खान्छ । दसैंको टीकाको दिनमा घरमा धेरै जना जम्मा हुनुहुन्थ्यो । घरमा हाम्रो बुढी हजुरआमा हुनुहुन्थ्यो । सबै गाउँ घरको आफ्नो मान्छेहरु उहाँकै हातबाट टीका थाप्न आउनु हुन्थ्यो । टीका लगाइसकेर फोटो खिच्ने छुट्टै कार्यक्रम हुन्थ्यो । अहिले जस्तो स्क्रिन टच मोबाइल थिएन । रिल्वाला क्यामराले सबैको पालैपालो फोटो खिच्दा रात पर्थ्यो । जुनेली रातमा त्यही जुनको उज्यालोमा मामाघर लगायत अन्य आफन्तहरुकोमा टीका लगाउन ओहोरदोहोर गर्दा पनि धेरै रमाइलो हुन्थ्यो । घरमा आउने पाहुनाहरुको आदरसत्कार र उहाँहरुसङ गफ गर्न, गफ सुन्न पाँउदा मनै आनन्दित हुन्थ्यो ।

हुन त रमाइलो नरमाइलो भन्ने आफ्नो मनबाट हुने कुरा हो । बस, त्यति बेला बुबाममीको काखमा चिन्ता न केहि जिम्मेवारी केहि थिएन । त्यसैले अलिक बेग्लै परिस्थिति थियो । बुबासङ शहरतिर मामाघरतिर जादा झनै रमाइलो लाग्थ्यो । बुबाले सबै ठाउँ घुमाउनु हुन्थ्यो । सबैसङ्ग चिनजान गराउनु हुन्थ्यो । यतिबेला पनि श्रीमान घरपरिवारसङ बसेर रमाइलो गरिन्छ । बच्चाहरुको रमाइलो हेरिन्छ तर पनि त्यतिबेला आफू सानो हुँदाको त्यो दशै कहिले भुल्न नसक्ने गरि यादगार छाप बनेर मनमा बसिरहने रहेछ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button