मेरो गाउँ: किन यस्तरी हराएको ?

महेश अधिकारी

प्रश्न एक थियो, जिज्ञासा र कौतुहलता अनेक ! त्यसमा माया थियो । त्यसमा हामी दुई बीचको पुरानो आत्मियता पूनः उजागर भएको थियो । दशकभन्दा बढीपछिको यो आत्मिय भेटले मन गदगद् थियो । उनको त झन् के कुरा ? हाम्रो बाटो अलग भईसकेको बर्षौ भईसक्दा पनि आत्मियता झनै फ्रेस झनै बलियो ? उनी उ बेला मलाई जसरी चाहन्थिन्, अहिले भेट्दा पनि मैले त्यहि रूपले चाहेको भान् प्रतित् भएको थियो । उनले प्रश्न एकै सासमा ब्यक्त गरिन् । तर मसंगको जवाफ भने सयौं मागिरहिन् । मैले मनमनै आफैलाई प्रश्न गरिरहें, कुनैबेला आफ्नो मन-मुटुमा बसेको मान्छे समयको यती लामो अन्तरालपछि भेटिदा पनि उही सामिप्यता, उही लगाव र उन्माद् कायमै रहनुलाई म के ठानुँ ? चोखो माया !

कस्तो संयोग, हामी आज आएर एकैछिनको, अझ भनौं, केही घन्टाको यात्रामा साथ भएका छौं । मैले यतिखेर उनलाई साथमा पाएर मेरो वास्तविक धरातल भुलिरहेको छु । मेरो परदेशी जीवन, मेरो परिवार, काम-व्यवसाय सबै भुलिरहेछु । उनी पनि यो छोटो हामी दुईको सहयात्रामा सबै भुलिरहेकी छिन् क्यार सायद । मलाई लाडिएर उनको हातमा रहेको काँसको लामो फूलले मेरो गालामा हिर्काउँदै अर्को प्रश्न तेर्साईन्- के कुराले भुलायो तिमिलाई बिदेशमा यतिका बर्ष हँ ?

हामी गफिँदै उकालो काटिरहेछौं । तल फेदीमा पाउँदी खोला, दशैंको समयमा राम्रैसंग नदी झैं देखिन्छ । पारी थान्सिंग-नेटादेखि दुराडाँडासम्म आधुनिक पाराले बनाईएका घरहरू र जस्ता पाता टल्किरहेका छन् । हरियाली उस्तै घना देखिएको छ र चर्को घाम पनि हामी दुईलाई आनन्द नै दिईरहेको छ । जंगलको हरियालीको शितलता, साना साना पानीको बर्खे छहरा, बर्षौंपछिको त्यही आफ्नो ठाउँको पैदल यात्राको उकालो पनि हामी दुबैलाई सहज लागिरहेछ ।

म उनको प्रश्नमाथिको अर्को प्रश्नमा पनि मौन नै छु । मात्र यो हाम्रो निकै लामो अन्तरालपछिको भेटमा नै मनमनै मख्ख छु र उनलाई नियालीरहेछु । उतिबेला तँ-तँ र म-म गर्ने हामी आज तिमिमा बदलिएका छौं । उनी थोरै लजाउँदै, धेरै ढाढ़स प्रस्तुत गर्दै मलाई कटाक्ष गरिरहेको मलाई मज़ा लागिरहेछ । उनी प्रति-प्रश्न गर्छिन्- गाउँको याद आएन ? म मौन मुस्कुराईरहेछु । मलाई त कहिल्यै सम्झेनौ होला है ? म केही नबोली उनीसंगै उकालो काटिरहेछु । बोल न के !! म झस्कन्छु ।

उतीबेलाको १ नं. हावा तिमि, तिम्रो बोली उता गएर बन्द भएको हो ? म बोल्न बाध्य भएँ- तिमिले मलाई कहिल्यै सम्झ्यौ ? उनी अव अलि बढि खुलिन् र बोलिन्- साँचो बोलुँ कि झूट ? उनले उल्टै प्रश्न गरिन्- मैले भनें जे मन लाग्छ, बोल ।

हामी देउरालीमा आईपुगेका थियौं । उनले भनिन्- कति सहजै उकालो काटियो ? कति चाँडै घर आईपुगियो ! मैले कर गरें- एकछिन चौतारीमा सुस्ताउँ न, थाकियो । उनले जिस्काईन्- बिदेश बसेर होला, म त ठिक छु ।

हामी, संगैको हामी सानोमा पढेको स्कूलको चौरमा सुस्तायौं । भरखर दुबै मिलेर काटेको उकाली र पारी दुराडाँडा हेर्दै रमायौं । उनले प्रश्न गरिन्- सानोको बेलाको तिम्रो र मेरो के याद छ तिमिलाई- यो स्कूलमा हुँदाको ? म मुस्काएँ र उनैलाई प्रतिप्रश्न गरेँ…… तिमिलाई त ??? उनी फरररर बोलिन्….. तिमि र म कक्षा छलेर ऐसेलु खान गएको याद छ, तिमिले मलाई काफल टिपेर दिएको याद छ । दशैंमा तिमि र म संगै लिंगे पिंग मच्चाएको याद छ । हामीलाई अरूले जिस्काएको याद छ । तिमि काठमान्डौ गएपछि मैले धेरै सम्झेको याद छ ।

म मौन नै सुनिरहेँ र मनमनै ति बिगत सम्झिरहेँ । उनलाई कति धेरै मनले चाहेका ति दिनहरू याद गरेँ । उनले मेरो नजिक सर्दै भनिन्, तिमिले त कहिले सम्झेनौ होला है ? मलाई भन्न कर लाग्यो- म तिमिलाई पहिले जति चाहन्थें, त्यति नै आज पनि मन पर्छ । उनले पत्याईनन् र भनिन्- चेपारे ! हामी दुबै मौन रह्यौं । एकले अर्कोलाई कसले बोल्ने भनि प्रतिक्षा गरिरह्यौं- मैले हिम्मत गर्दै आफ्नो हात उनीतिर बढाएँ, उनी पुलुक्क मेरा आँखामा आँखा जुदाईन, म मुस्काएँ । उनले टाउको निहुराईन् । मैले उनलाई आफूतिर तानें…… उनी डराएको भावले अस्विकृत जनाईन् । मैले कर गरिन ।

अव जानुपर्छ, मलाई घरमा खोज्छन् । उनी उठ्न खोजिन् । मैले रोकें । उनले हात झट्कालेर उठीन्, म ब्यूँझें ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button