
त्यो साँझ किन रोए राजा ?

शेरबहादुर ढुङ्गाना
हजुरबाका पालामा उहाँका पूर्वज यस सुन्दर गाउमा आएका रहेछन् । पिताजीले गाई, भैसी, बाख्रा पाल्ने, यति विशाल जगर बगरमा खेतिपाती गरी पातलो गाउँ समाजमा ईज्जत कमाएका रहेछन् । यही खाइनपाइन हेरेर आमालाई यहा बिहे गरी ल्याएको भन्नुहुन्छ आमा पनि ।
पहिलो, दोस्रो, तेस्रो, चौथो सन्तान पनि छोरी जन्मेपछि गाउँसमाज अनि माइतमावलमा चासो र चिन्ता बढ्ने नै भो । हुँदाहुँदा विकल्पको खोजी हुँदा नि पिताजीले कान्छी भित्र्याउँदिन, जे होला होला, देउताले दिएको हात थाप्छु भन्दा त खलाका सत्तरी मुरी थान थन्क्याउने दिन घिमिरेका घरमा जन्मियो काखभरीको छोरा ।
भाइलाई दिदीहरूले औधी माया दिए । गोडामा धुलो लाग्न दिएनन् । घरमा उसलाई राजा भन्न थालियो ।
बच्चा जन्माउने क्रम थियो नै । राजा वर्षीको भएपछि अन्तरी जन्मी ।
गाउँघरमा परिवार नियोजन, सुखी परिवारको खुब कुरा हुन्थे । घरमा पाँच छोरी, एक छोरा भएपछि घरमा नभनी बाबु सदरमुकाम गएर परिवार नियोजन गरेर आए । केही दिन बिरामीको बहाना गरे । हप्तादिनपछि मात्र सदा झैको काममा लागे ।
यता राजा निकै गुदुमुने भई सकेको थियो । यसै बीच जेठी छोरीलाई बेला मौकामा चाहिन्छ भनेर गाउघर नजिक विहे गरिदिए । यो विवाहमा राजा सानै भएकाले ठूल्दिदीको विहेबारे थाह पत्तो छैन ।
माहिली दिदीको विहे ऊ अलिक सम्झन्छ ।
साहिली दिदीको विहेमा रमाई रमाई काम गरेको अनि अन्माउने बेला आमाले आखा राता पारेको राजालाई याद छ ।
साहिली दिदीको विहेमा गाउँको विद्यालयमा विदा लेखेर दिदीका विहेमा खटेको अस्ति जस्तो लाग्छ ।
यता, जिल्ला सदरमुकाममा बाह्र पढ्दै गर्दा राजालाई बाबुले घर बोलाउनु भो । जुरूक्क उठेर बिहानभरीको पूर्वी बाटो हिडेर घर पुग्यो । पातलो गाउँ, भोलि पल्ट तल्ला घरे काकाले तलाई विहे गर्न बोलाको भन्नासाथ सहरमा पलाउदै गरेको प्रेमको टुसो सम्झियो । घरको आवश्यकता र पढाई सम्झियो । केही भन्न नसकी घर आयो ।
घरको संघार टेक्नै लाग्दा पिताजीले भात खार काकासँग केटी हेर्न जा भन्ने आदेशमा समेत प्रतिक्रिया नदिई हस् मात्र भन्यो ।
माईजुकी नाता पर्ने केटी भुकाले माइजुले मिलाको रहेछ । हिँड्दा हिँड्दा ठूलो साँझमा मात्र केटीका घर पुगे । विहे गर्नेबारे कुनै कुरा नभई सालको अन्तिम फागुनमा विहेको साइत हेरियो ।
फागुनको अन्तिम लग्नमा राजाको गइन्नले विहे भो । उस्को विहेपछि एक–एक सालको फरकमा काहिली र अन्तरीको विहे भो । यी विहेमा उसले चाजो पाजो मिलाउनु पर्यो । ऊ नसुती खुब खट्यो ।
कान्छी बैनीको विहेको प्रसङ्ग झन् गज्जबको छ । तिनओटी चेलीको जिल्ला सदरमुकाममा विहे भएकाले दिदी बहिनीहरू बैङ्क जादा बैङ्कमा देकेका लोबरा केटालाई बैनी दिन चाहन्थे ।
आखिर यो कामना पनि पूरा हुने भो । तिनै युवक बैनीको हात माग्न आए । जिल्ला सदरमुकामको बैङ्कको जागिरेलाई बैनीको हात दिन पाउँदा राजा मनमनै औधी खुशी थिए । पिताजीले बहिनी दिने, साइत जुराउने काम गरेकाले ऊ साक्षी मात्र बसेको भान भो । चौथी चेली पनि जिल्ला सदरमुकाममा दिन पाउनु उस्लाई खुशीको बिषय थियो ।
विहेको तयारी गरे । पन्चै बाजा बजाएर जन्ती आए । दिनभर विहे भो । साँझपख बैनी अन्माउँदा राजाका आशु थामिएनन् । आफुले आली लगाउँदा कान्छी बहिनीले भित्तो खौरेको, काम व्यवहारमा बैनीले सघाएको यी सबै सम्झेर राजाका आखा रसाए । त्यतिखेर बैनी बोकेको गाडी पर पुगिसकेको थियो ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)