मनोहरा किनारमा महारानीको ‘चटपटे’ प्रेमकहानी

कथाः रियाशा

कल्याणी तिमल्सिना

रियाशा नियमित साँझकालीन हिँड्डुलमा जाने गर्छिन् । हरपटक उनलाई नयाँ ठाउँ मनपर्छ । तर धेरै जसो घरनजिकै मनोहरा खोला किनारमा लम्पसार सुन्दर पार्क जाने गर्छिन् ।

हरेक दिन उनलाई यो पार्क नयाँ लाग्छ र उति नै सुन्दर लाग्छ जति पहिलोपटक देखेकी थिइन् । लगभग दुई किलोमिटर लम्बाइको खोला किनारको यो पार्क कम्तिमा हरेक दिन चार पटक हिँड्छिन् । त्यस बखत उनलाई दुइटा कुरा निकै मनपर्छ । त्यो हो, मकै पोलेर बेच्ने दिदी र चटपटे बेच्ने भैया । उनीहरू सदा भेटिन्छन्, उनीहरूबाहेक पार्कमा कहिले पनि एउटै अनुहार दोहराएर उनले देखेकी छैनन् । सधैँ नयाँ नयाँ अनुहार देख्छिन् ।

पार्कमा हिँड्दैहिँड्दै वा हुर्कँदा जवान कपुरका रुखको छायामा बसेर मानिसहरू अर्थात हुर्कदा वैंशका जोडीहरू आ–आफ्ना कहानी सुनाइरहेका हुन्छन् । लाग्छ यहाँ कोहि पनि एक्लो हुँदैनन् । अधिकाँश जोडीहरू हिँड्ने त्यो पार्कमा उनी भने सधैंजसो एक्लै हुन्छिन् । उनी बेलाबखत सोचमग्न हुने गर्छिन् र मनमनै कथ्छिन्, “एकदिन यो पार्कमा म पनि मेरो आफ्नो मान्छेसॅंग हिँड्छु अनि यी मान्छेहरूले जस्तै आफ्नो कुरा उरलधुरल सुनाउॅंछु उसलाई । कस्तो हुन्छ होला त्यो पल म निस्पिक्री मनको अन्तर्यमा नै महसुस गर्न आतुर छु ।”

रियाशा मनकी सुन्दर छिन् । उनलाई कहिले कुनै कुराको कमी महसुस भएन । तर उनले कहिले पनि कसैलाई साथी बनाउन भने सकेकी छैनन् । न केटा न केटी, उनका कोही पनि साथी छैनन् । घरमै बस्ने र साँझपख हिँड्नेबाहेक उनको कुनै अर्को रुटिन थिएन । उनको खुसी भनेको घर, परिवार, क्याम्पस र बाँकी समय प्रकृतिमा आफूलाई मस्त राख्नु थियो । यो भन्दा बाहिर के हुन्छ उनले महसुस नै गरेकी छैनन् ।

रियाशाले पनि आम मानिसको चर्या बनेको फेसबुक चलाउन थालेकी छिन् । यो क्रममा निकै मजा आउॅंदै थियो । फेसबुकमा एकदिन उनलाई ह्रदयको साथी बन्ने अनुरोध आउॅंछ । धेरैको आइरहेका छन् । तर उनले ह्रदयको आइडी खोलेर हेर्छिन् किन हो कुन्नी ठीकै लाग्छ र अनुमति दिन्छिन् । अब ती दुईबीच कुराकानी शुरु हुन्छ । रियाशालाई ह्रदयको कुरा खुब मन पर्छ । तर फेरि पनि रियाशा डराउँछिन् । घरमा आमा बबाले थाहा पाउँछन् कि भन्ने थियो । तर पनि उनी खुलेरै ह्रदयसॅंग कुराकानी गर्दै गइन् । ह्रदयलाई पनि उनको खुला दिल खुब मन पर्यो ।

रियाशा खुलेर बोल्दाबोल्दै म निस्कन लागेँ । बाई भनिन र फेरि खोलापारीको पार्कमा गइन् । आज पनि त्यो पार्क उति नै सुन्दर छ, जति हिजोअस्ति थियो । उही बाटो, उही हरियो रुखहरू अनि ती मकै दिदी र चटपटे भैया । अरु सबै नयाँ अनुहार । ओहो, चराका आवाज त कुरै नगरुँ । कति मीठो सुनिएको ? आज पनि चारै पटक ओहोरदोहोर गरिन् र घर आईन । खाना खाएर सुतिन् । तर मनमा आज कुरा भएको मान्छे सम्झिन् । अनि किन यति धेरै कुरा मलाई सुनाएको होला उसले भन्दैभन्दै उनी निदाइन् ।

शनिबारको दिन बिहान उठ्ने बित्तिकै एसएमएसको घन्टी बज्यो । ह्रदयको मेसेज थियो, “गुड मर्निङ ।”

उनले पनि “मर्निङ्” भनिन् ।

उसले भेट्न इच्छा देखायो ।

हिजो बोलेको । आजै त के भेट्नु ? हुन्न ।

तर खै किन हो, ह्रदयलाई आजै साँझ भेट्न मन थियो ।

रियाशाले हुन्छ आउनु न खोलापारी भनिन् । तर ह्रदयले होस्, आज काम छ भोलि आउछु भन्यो ।

उनलाई सारै रिस उठ्यो र भनिन्, के बेकारको नाटक गरेको ? मलाई त मन पर्दैन । आफूले आफूलाई व्यस्त देखाएको ? अब हाम्रो भेट कहिल्र्य हुँदैन । बाई ।

तर ह्रदयले हैन, म आउँछु, अहिले नै नरिसाउनु । म हिंडे है भन्यो ।

मलाई थाहा भएन यस्ता कुरा भनिन् र चुप बसिन् । एकछिन पछि म पुगें । महारानी भनेको एसएमएस आयो ।

जवाफ दिँदै उनले मलाई मजाक मन पर्दैन, झुटो नबोल्न आग्रह गरिन् ।

तब ह्रदयले भिडियो कल गरेर खोलापारीको पार्क देखाए ।

किन यति चाँडै आएको ? म त आउॅंदिन अहिले नै त ।

फेरि जवाफमा आयो, “मैले आफैँलाई सजाय दिएँ । हजुर जतिबेला आए नि म केहि भन्दिनँ ।”

उनी न हाँसिन् र चुपचाप बसिन्, दुई घन्टापछि सधैँको समयमा उनी घरबाट निस्किन् । कौतुहलताको सिमा थिएन, कस्तो होला त्यो मानिस ?

कुराकुरामा मन उपार्दै उनी पार्कमा पुगिन् । ह्रदयको फोन आयो, “खै, मैले कहिँ देखिन हजुरलाई ?”

उनले देखिन् र जवाफमा भनिन्, “अगाडि हेर्नु न । म हिँड्दै छु ।”

ऊ आयो । रियाशाले हात मिलाउँदै भनिन्, स्वागत छ, म हिँड्ने पार्कमा यहाँलाई ।”

“कस्तो छ हजुरलाई ?”

“मलाई ठीक छ । यहाँसँग भेट भयो, खुसी लाग्यो ।”

“मैले आफैलाई सजाय दिएँ, दुई घन्टा कुरेर बसेँ । माफी चाहन्छु है म बिजी त थिइन तर खाना खाएको थिइन र मात्र भनेको थिएँ कि हजुर त कस्तो रिसाएको ।”

अनि रियाशाले मुस्कुराउँदै भनिन् “न आको भए नि केहि हुन्न थियो ।”

रियाशाले चटपटे खाने हो ? मलाई त खुब मनपर्छ भनिन् ।

ह्रदयले भन्यो, मैले अहिलेसम्म चटपटे खाएको छैन । त्यो पनि बाटोमा खाने र ? जाम बरु कफी पिउन ।

रियाशाले भनिन्, मलाई त बाटोमा अनि झुपडपट्टीमा खान मन पर्छ । खाने हो भने खान्छु भनौँ, होइन भने म त खान्छु । रियशा अगाडि बढिन् ।

ह्रदयले पनि खान्छु भन्यो । उनी निकै खुसी भइन् । अनि “भैया, चटपटे बनाइदिनु” भनिन् । सधैँ एक्लै खाने रियाशा आज दुई जना भएर साथमा थिए । कुरा गर्दै उनीहरूले चट्पटे खाए । ह्रदयलाई पीरोले पानी पिउने नै बनायो । दुवै हाँस्दै फर्किए । अनि छुटिए ।

राती, फेसबुकमा कुरा भयो । धेरै कुराकानी भए । एक्कासी कुराकानीकै क्रममा “महारानी, म हजुरलाई तिमी भन्न सक्छु ?”

रियाशाले “हुँदैन” भनिन् ।

भोलिपल्ट फेरि कुरा भयो ।

“हजुर त मैले सोचेभन्दा निकै राम्री र खुल्ला मन भएको मान्छे हुनुहुँदोरहेछ । धेरै खुसी लाग्यो ।”

रियाशा आफ्नो तारिफ सुनेर मख्ख थिइन् ।

“रियाशा, म आज पनि आउँछु है ?”

“हुन्छ ।”

साँझपख भेट भयो । आज उनीहरू मकै खाँदै पार्कमा टहल्लिए । निकै मिठा मिठा कुरा भयो । समय लुखुर लुखुर हिडिसकेछ । सात बजिसकेको थियो । आकाश खुल्ला थियो । थोरै पहेंलो जून आकाशमा लजाए झैं उनीहरूतिरै हेरिरहेकी थिइन् । रियाशा सधैं जूनलाई देखेपछि फ्लाइङ्ग किस दिने गर्छिन् । आज पनि दिन बिर्सिनन् । त्यसैबेला, ती दुईबीच कुरा भैरहेको छ । अचानक ह्रदयले “आई लभयु रियाशा, हजुरले जे सोच्नु मलाई मतलब भएन तर हजुर मलाई साँच्चै मन पर्यो ।”

“विश्वास साडे तीन अक्षरको शब्द हो, तर यसलाई कमाउन पुरै जिन्दगी कम हुन्छ हजुर” भनेर रियाशाले कुरा मोडिदिन्छिन् । अनि उनीहरू कफी पिउन जान्छन् । कफी टेबुलमा आयो । ह्रदयले फेरि “रियाशा दोस्रो पटक भन्दैछु, आइ लभ यु मलाई यसको जवाफ चाहिन्छ । यो कफी सकिएर निस्किँदा नत्र हामी आजबाट कुरा नगरुँ , मलाई गारो हुन्छ । म अझै धेरै डुबेँ हजुरका मोहनीरूप र पारदर्शी बोलीवचनमा । नाइ नभन्नु ल हजुर ।” आफ्नो भनाइ निरन्तर राख्तै “यसै पनि डिप्रेसनबाट आएको मान्छे म” ह्रदय चुप भयो ।

रियाशालाई चसक्क हुन्छ ।

“हुन्छ, नबोल न त । गारो नै हुने भए त । यहाँबाट निस्किँदा यहाँको जवाफ आउॅंदैन ल ।”

ह्रदयले एकछिन सोच्यो र भन्यो, “माफ पाउॅं । हजुरले मेरो बारेमा बुझेको नै छैन । मैले यसो भन्न मिल्दैन थियो । तर म हजुरसँग हुनचाहन्छु । त्यसैले भनेँ तर केहि छैन । भन्न ढिलाचाहिँ नगर्नु है ?”

रियाशाले हाँसेर भनिन्, “माथि जानुभन्दा पहिलेसम्म त जवाफ दिनेछु ।”

“मलाई हजुरसँग यहि जिन्दगी बिताउन मन छ र पो निवेदन गरें महारानी, माथि गएपछि त के छ थाहा छैन । काल्पनिक कुरामा मेरो न भरोसा न लिप्सा केही छैन । तसर्थ, यही पृथ्वी र यही जुनीमा, महारानीसँग सँगैसँगै बाँचौं, रमाऔँ भन्ने मनमा इच्छा पलाएकोले विन्ती बिसाएको हजुर ।”

कुरैकुरामा समय पर पुगिसकेछ । विदा भए आजलाई ।

भेटको तेस्रो दिन एसएमएस आयो, “अब हाम्रो भेट हुन्नहोला । म बाहिर जाने भएँ ।”

“हुन्छ , केहि फरक पर्दैन काम पनि उत्ति नै जरुरी छ । जानुस् ।”

यहाँबाट सुरु भयो यी दुईबीच मनमुटाव ।

लामो मनमुटावपछि रियाशाले “बि हेप्पी” भनिन् एसएमएसबाट । यसको मतलब अब कहिले हाम्रो कुरा हुन्न भन्ने नै हो । उनले मेसेजनम्बर सबै मेटिन् र चुप बसिन् ।

समयले बिर्सन दिएन । ह्रदयले मोबाइलमा कल गर्यो । उनले उठाइनन् । फेरि आयो कल । यो पालि उठाइन् । मनले धर दिएन न ।

“मलाई बोल्न मन छैन ।”

“मेरो कुरा त सुन्नु मैले मजाक गरेको । सरी ल । पिलिज ।”

रियाशा सुन्नेमा छैनन् । आफ्नै खालको घमन्ड छ । साँझ फेरि भेट भयो । रियाशालाई अरु दिनभन्दा अलि फरक महसुस भयो ।

केहि दिनअगाडि निकै खुसी हुँदै सोच्थी, कस्तो हुन्छ होला ? मन परेको मान्छेसँग हिँड्दा । तर, आज कुरा भएको पाँच दिन र भेट भएको चौथो पटकमै मन दुख्दा एक्लै ठीक रहेछ भन्ने कुरा पो सोचिन उनले । र भनिन, “मजाक हैन भने पनि केहि फरक पर्दैन । जुन ठाउँबाट यात्रा गरियो, त्यहि ठाउँबाट अलग हुँ न त ।”

यस्तै कुरा हुँदै थियो । कोटको खल्तीबाट गुलाफ निकालेर ह्रदयले भन्यो, “सरी महारानी, यति ठूलो मजाक गरेँ । माफ पाउॅं ।”

रियाशाले हाँसेर, “हस्, अब मजाक नगर्नु है ” भनिन् । गुलाफ समाइन् ।

रियाशा र ह्रदय दुवैले खुल्ला आँखाबाट देखेको सपना आज फूलका रूपमा झुलुक्क देखिएको छ । यसमा किरा चर्न, चिमोटिन र अनेक चोटहरूबाट उन्मुक्त लहलहाउन हरक्षण अगाडि गइरहेछन् ।

कस्तो मिठो, यो अहिले, जहिले पनि अहिले (यो समय) मुसुक्क जूनसँग उदाइरहोस् ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button