दुष्करको किताब उल्टोबाट पल्टाउँदा के भयो ?
मान्छे किताब हाे । संसारका दुरूह किताबमा मानिसकाे गणना हुन्छ । सजिला, रसिला, क्लिष्ट र सबै खाले किताब मान्छे भएकाले नेपालनाम्चामा याे स्तम्भ 'मान्छे' सुरू भयाे । अनायासै सुरू भएकाे यसकाे शैली हदै अनाैपचारिक हुनेछ । फिलिङ्गहरू यहाँ समेटिनेछन् । याे कहिले दिनहुँ हुनेछ भने कहिले हप्ताकाे एकपटक । यसकाे एउटै नियम छ कि यसकाे कुनै नियम नै छैन । देखेकाे, भाेगेकाे, पढेकाे र सुनेकाे कुरा मान्छेमा लेखिन्छ । -सं
दोस्रो पटक पनि किताबबाटै फन्फनी संसार भ्रमण !
पेशल आचार्य
पढ्ने काम उहिले धेरै हुन्थ्यो । आजकाल फेसबुक र इन्टरनेटले समय चिर्लिप्प खोसेको छ । हिजोआज इन्टरनेट हाम्रो दिनचर्याकै अजिनोमोटो बनेको छ । चाखेपछि खाइरहन मन लाग्ने । किताब भन्या फलफूलको रसजस्तै । तर पनि किताब हेर्यो कि उता अनलाइन केके भयो जस्तो लागिरहने ।
माघको मीठो चीसो छ जताततै । कोठामा पसेपछि म पुष्कर शाहको चर्चित किताब संसारलाई साढे पाँच फन्को पल्टाउँछु । पहिले पहिले म किताबहरु सुरुबाट पढ्थेँ । आजकाल चाहिँ उल्टोबाट पढ्छु । यसको पनि कहानी छ । कुनै दिन भनूँला ।
दोस्रोपटक पुष्कर शाहको किताब उल्टोबाट पल्टाइरहेको छु । किनकिन अफ्रिका महादेशका २७ देशहरुको भ्रमणले तान्न खोजिरहेको छ । पुष्करले भोगेका कुरा बेधडक लेखेका छन् । कतिपय ठाउँमा त पाठक भएर पनि आरिसको भाव उब्जने भन्या । अफ्रिकाको संस्मरणमा मैले यहाँ थ्रि एम् देखेको छु । एक, मस्ती दुई, माउजर र महिला । भ्रमण अफ्रिकाको डरलाग्दो रहेछ तर मलाई किनकिन यही महादेशको भ्रमणले तानेको छ । झुसिल्कीराको चट्नी खाएकोदेखि लिएर एक रातकी स्वास्नी बनाएका घटनालाई शाहले नलजाई जस्ताको तस्तै राखेका छन् ।
लेखनमा लेखक इमान्दार हुनु पर्छ भन्ने भन्ने कुरा यहाँ प्रष्ट भएको छ । मरुतानियाको भ्रमणमा सहारा मरुभूमिमा अलपत्र पर्दा भाषाका कारण विलखबन्दमा परेका बेला भाषाका कारण भोग्नुपर्ने कठिनाइ सायद् जीवनकै सबैभन्दा ठूलो कठिनाइ हो । मरुभूमिबीच उनले भनेका कुरा सम्झँदा पनि मनै सिरिंग हुन्छ ।
जीवनमा धेरै किताब पढियो होला । लेखाजोखा छैन । कति पढियो ? कसरी पढियो ? धेरै कम मात्र किताबहरु दोहोर्याएर पढिएको छ । पुष्करको यो किताब पनि ती थोरै तर दोहोर्याएर पढिएका किताबहरुमा पर्दछन् । एकपटक त टाउको दुखेर फुट्ला जस्तो भएका बेला यो किताब झिकेर अफ्रिका महादेशका संस्मरण पढेपछि निम्स नै नखानुपर्ने गरी च्वाट्ट निको भएको पनि छ ।
यो किताब युवाहरुले पढ्नु पर्ने खालको छ । अझ विदेश जान्छु भनेर खुट्टो उचाल्नेहरुले त झन् नपढी हुँदैन । संसारको विविधता, भाषा, जाति, संस्कृति, रहनसहन, खानपिन, लूगाफाटो, धर्म, सञ्चार माध्यम, पुलिसहरुको लिच्चडपन, माग्ने, फटाहा, बेश्याका नौरंगी शैलीहरु, रक्सी, बियर, गाडी चालकका बानी बेहोरा यी कुराहरु मिहीन रुपले पढ्न सके त यो किताब मलाई सोसोलजीको माष्टर लेभलको किताब भन्दा माथिल्लो कोटीको लाग्छ ।
पोहोरै पुष्कर मन्थली नि आएथे । इलाम टु रारा साइक्लिङ गर्दै । बिहान सानीमदौमा वृक्षरोपणमा मेरो एकजना जिज्ञासु छात्रले मलाई खबर पनि गरेथे तर मलाई त्यो दिन अनायाशै डाइरियाले समातेर जान पाइनँ । पछि फेसबुकमा पुष्करसँग क्षमा मागेँ । मलाई उनलाई मैले काम गर्ने स्कुलमा एक दिन न एक दिन कक्षामा हुलेर विद्यार्थीलाई मोटिभेसन क्लास लिन अनुरोध गर्न मन छ ।
आमासँग भएको १०० रुपैयाँ मागेर संसार घुम्न निस्केका पुष्कर बास्तवमा मेरा अनुमानमा दुष्कर (अप्ठ्यारो) इच्छामा रमाउने दृढ युवक हुन्, जसले खेलाँचीखेलाँचीमै ११ वर्ष साइकलमा संसार घुमे । कति किलोमिटर घुमे होलान् भन्दा यो संसारलाई साढे पाँच फन्का लगाउन सकिनेजति घुमे । त्यो कुरा किताबमै लेखिएको छ ।
किताब दोहोर्याएर पढ्दा सिनेमा दोहोर्याएर हेरेको जस्तो लाग्दो रहेनछ । सिनेमा योपछि त्यो दृश्य आउँछ भन्ने प्रष्ट थाहा हुने तर किताबमा नहुने । दोस्रो पटकको अध्ययनले अझ महक थपेको छ । यो पटकचाहिँ केही लेख्छु भन्ने लागेको थिएँ । आज लेखेँ मनै हलुंगो भएको छ । लेख्नका लागि सल्लाह दिने नेपालनाम्चाका दोस्त अशोक सिलवालजी धन्यवादका पात्र हुनुहुन्छ ।
अबको एक वर्षपछि म पनि जागिरबाट फुर्सद् लिएर घुम्ने धोको बनाएको छु । देशभित्रै घुमिन्छ कि विदेश पनि चाहारिन्छ त्यो यतिखेर केही थाहा छैन । विन्दास पाराले घुमेर भोगेका कुरा लेख्ने रहर मनमा उमारेको छु ।
उनीसँग त साइकल थियो । म केमा घुम्ने होला देश विदेश ? पैसा न कौडी विदेश विदेश दौडी भनेर कसैले भनिदियो भने के गर्ने होला त्यो बेला ?
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)