‘कतै मेस्सी पाे भैन्ताेई झैं लाउँच ऐले’

यो संस्मरण पर्वतेली उपभाषिकामा लेखिएको छ ।

भकुन्नाे अर्थात भकुण्डाे

बाबुराम पाैडेल
शंकरनगर, रुपन्देही

उ बेला हाम्रा खुट्टामा जुत्ता भै दिया भए हाम्ले नि भकुन्नाे हान्दा हान्दै फुटबल खेल्नी भैन्ताे कि ? कतै मेस्सी राेनाल्डाे पाे भैन्ताेई झैं लाउँच ऐले । मतलब, २०२६/ २७ सालसम्म हाम्रा गाउँतिर हाम्रा उमेरका स्कूलेहरुका खुट्टामा जुत्ता चप्पल हुन्थेनन् । तै पनि दाईहरुले लाहुर (भारत) बाट आउँदा लगाएकाे माेजा घर बसुन्जेल फाटे भने तिनै माेजा भित्र टालाटुली वा खरबारीतिर पाईने एक प्रकारकाे च्याप च्यापी लागेर डल्लाे पर्ने कुराे काेचेर खाली खुट्टाले हानेर खेल्ने गरियाे । स्कूलकाे हाप छुट्टी वा घर फर्कीने बेलामा कतै चाैडा बाटाेमा झाेलाकाे गाेलपाेष्ट बनाएर ४/६ जना केटाहरुले तेई माेजाकाे भकुन्नाे हानाहान गरियाे । दाइहरुका माेजामा आफै प्वाल परेनन् भने प्वाल पार्ने तरीका हाम्लाई मात्र थाहा थियाे ।

२०३२ साल पछि ८/९ क्लास पढदा ताका भने हाई स्कूलमा ठूलै भकुन्नाे देखियाे । पाटै पाटा परेकाे त्याे भकुन्नाे पन्चट हुँदा हुँदा बाहीरी छालामा आठ दशाेटा टाला हालेकाे हुन्ताे । खसी बाेकाकाे फाेक्साे जस्ताे ब्लाडर छुट्टै र त्याे बाहिर छालाकाे खाेल । खाली खुट्टा दुई चार पटक नहानेकाे त हैन, तर भकुन्नाकाे कडापन र दगुर्दा ढुङ्गामा अैांला ठाेकिएर चाेट लागे पछि त्याे जिनिसतिर मनै गएन । त्याे बेला जुत्ता लगाउनी अैाकातका केटाहरु भने खेले । भलिबल पनि तिनीहरुनै खेले । बीरेन्द्र शिल्ड प्रतियाेगितामा हाम्रा स्कूलले सधै भलिबल जिताे ।

रबरकाे भकुन्नाे लिन भने हरेक बर्षकाे माघे सक्रान्तीमा आमासंग पछि लाएर रिडी धाम गैयाे । २०२८/२९ साल तिर आमा र गाउँका अरु आमाहरुकाे पछि लागेर रीडी मेलामा जानुसंग अरु पनि लाेभ गाँसीएका थिए । जाँदा आउँदा कुराउनी र ठकना राेटी, सेलकाे खाजा, घ्यू हालेकाे भात र खीरकाे खाजा खान पाईनी एक नम्मर स्वार्थ थियाे। रीडी मेलामा साढे तीन रुपीयाँ दरकाे कपडाकाे जुत्ता भाई र मेराे लागि, एक थान रबरकाे भकुन्नाे आमाले ग्यारेन्टी किनिदिने । तेश्राे स्वार्थ भनेकाे त्याे बेला तीन रुप्पे धार्नीमा पाईनी ‘गुड’ (उखु पेलेर रस पकाएर बनाउनी) पेटैभरी खान पाईनी ।

एक साल रबरकाे भकुन्नाेले गर्दा नएँघरे माईल्याँ संग झगडा पराे र वाँ संग कैयाैं बर्षसम्म म बाेलिन। ब्या,पूजा जस्ता गाउँका समाराेहमा भेट हुँदा पनि ढाेग्न पर्च भनेर तर्केर हिंडें । भयाे के भने, माघे सक्रान्तिकाे अर्काे दिन बिहानै काली गन्नकीमा नुहाएर ऋषिश्वरकाे दर्शन गरेपछि रिडीबाट घरतिर हिडिन्ताे । रिडी खाेलाकाे किनारै किनार अँघाहा (हाल गुल्मीकाे छत्रकाेट गाउँपालिका) पुगेपछि रीडी खाेलाकाे किनारमा ढुङ्गाकाे चुलाे बनाएर भात पकाएर खानी कार्यक्रम बनाे । माईल्याँले भात पकाउनी, हाम्री आमाले नुहाएका कपडा धुनी गर्दै हुनुन्ताे।मैले भने हिजाे आमाले किन्दिनु भएका नएँ जुत्ता लगाएर गुल्मीकाे अँघाहाबाट पाल्पा जिल्ला जाेडनी झाेलुङ्गे पुलमा हिंजै एक माेहरमा किनेकाे रबरकाे भकुन्नाे खेल्दै थिएँ । पुलकाे दुबै तिर मसिनाे जाली लगाएकाे हुँदा भकुन्नाे खाेलामा खस्नी चान्स थिएन । भकुन्नाे खेल्दा खेल्दै खै कसरी हाे कुन्नी पुल मुनि भात पकाउँदै गरेकाे चुलाेमा पुगेर भातकाे ताउली छाेएच । माईल्याँले ‘लाै लाबर ( रबर) ले छाेएकाे खान हुन्न’ “काेरयाकाे कुसेत्राे” भन्दै रिसले मुर्मुरिंदै भकुन्नाे टिपेर खाेलातिर सुँईक्याईदिनु भओ । भकुन्नाे बगेर उँधाे गओ, दगुरेर समात्न आँट गर्नी कुरा भएन, ठूलाे खाेलामा भकुन्नाे बगेकाे तल सम्म हेरें ।

जातिबित्ति जाे पीर पराे । पाकेकाे भात छाेडेर म रुँदै घर तिर हिंडें । आमाले ए परिख् परिख् भन्दै हुनुन्ताे, म पछि नहेरीकन बाटामा निस्कें । घर फर्कनी तिर्थालुकाे बाटामा लर्काे थ्याे, उनैका पछि लाएर हिंडें । खर्ज्याङ् पुगेर आमा पर्खेर बसें । आधा घण्टा जतिमा आमाहरु आउनु भओ । “साँईध्वा भाेकै हिंडाे” भन्दै एउटाे डल्लाे गुड र एक रुप्पेका दूईटा ठूलाकाेशे केरा किनेर दिनु भओ । खाँदै खाँदै घरतिर हिंडीयाे । आमाहरुले लाबर (रबर) का भकुन्नाले छाेएकाे भात खानु भए हाेला कि कुन्नी मैले साेधिन । भाईकाे लागि किनिएकाे भकुन्नाे आमाकाे झाेलामा छँदै थ्याे । तेई भकुन्नाे खेलिम् हामी केही महीना ।

पछि पछि भकुन्नाकाे संगतै गरीएन । दुनियाका मान्छे नसुतेर भकुन्नाे (फुटबल) हेरेया हेरेई छन् । मलाई भने खै किन हाे कुन्नी खासै चासाे लाएन बरै !

(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button