विमान आकाशमा ‘होल्ड’ भइरहँदा अरु आँत्तिएको पत्तै पाइनँ, म त हिमालको फोटो खिच्नमै व्यस्त

मृत्यु एक शाश्वत सत्य

केशवराज आचार्य

उडेको करीब पच्चीस मिनेटपछि विमान अवतरण हुने बेलामा विमान परिचारिकाले सबै यात्रुहरुला सूचित गर्दै हिँडिन्, “विमानस्थलमा दृश्यता कम भएकाले विमान करीब बीस मिनेट ढिलो मात्र अवतरण हुन्छ । हजुरहरु नआत्तिनुहोला ।” उमेर ढल्किँदै गएकाले होला म अचेल अलि बढी बोल्ने भएको छु । फ्याट्ट भन्न पुगेछु, “राम्रो । मैले झन् धेरै पटक हिमाल र बादलको समुन्द्र हेर्न पाएँ ।” छोरी पनि सँगै थिइन् मलाई चुप लाग्न ईसारा गरिन् ।

फुर्वी छ्याछुदेखि दोर्जे लाक्पा, लाङटाङ, गणेश, चमर, वुद्ध, हिमालचुली, मनास्लु, पिक २९, ङादी चुली, निमजुङ, रत्नाचुली, लमजुङ, पिसाङ, अन्नपूर्ण द्वितीय, अन्नपूर्ण चतुर्थ, अन्नपूर्ण तृतिय, माछापुच्छ्रे, मर्दी हिमालसम्म दृश्यावलोकन भइसकेको अवस्थामा विमान अब बायाँ मोडिँदै फेरि उचाइ छुन थाल्यो । विमान मोडिएपछि दक्षिणतिर परसम्म फैलिएको विशाल बादलको सागरमा देखिने टापूहरु झैँ सुन्दर पहाडका थुम्काहरु देखिए । म तस्बिर लिन तथा तिनको दृश्यावलोकनमा व्यस्त थिएँ । जहाजको झ्यालबाट छिरेका बिहानीका सूर्यका ताता किरणलाई आँखा चिम्लेर स्वागत गर्दा ख्याल मजा आइरहेको थिएन । विमानले लाङटाङ देखिने दायरामा पुगेर बायाँ मोड लियो । म छोरीलाई हिमालहरु र अन्य ठाउँहरु चिनाइरहेको थिएँ । छोरीले शुरुमा त रुचि देखाएकी थिइन् तर पछि अरुचि प्रकट गरिन् तथा चुप लाग्न ईशारा गरिन् ।

मचाहिँ हिमाल हेर्न, चिन्न तथा तस्बिर र भिडियो लिन व्यस्त थिएँ । विमान पहिलेकै ठाउँमा पुग्यो र बायाँ फन्को मार्न थाल्यो । म दृश्वावलोकन गर्न यति व्यस्त थिएँ कि जहाजमा सन्नाटा छाएको पनि याद गरेको रहेनछु । त्यो फन्को मार्ने क्रम तीन पटकसम्म जारी रह्यो । त्यसपछि विमानले नयाँ संकेतको आवाज दियो ।

धेरै बेरसम्म नबोली बसेकी छोरी बोलिन्, “अब ल्यान्ड गर्छ । उ सिटको पेटी बाँध्ने संकेत बल्यो ।” नभन्दै विमानले करीब बीस मिनेटसम्म आकाशमा फन्को मारे पछि विमान परिचारिकाले घोषणा गरिन्, “अब हाम्रो विमान विमानस्थलमा अवतरण गर्छ । सबैले आफ्नो सिटको पेटी बाँध्नु होला……. ।” विमान अवतरण भयो । बल्ल मान्छेहरुको कल्याङकुलुङ आवाज सुनिन थाल्यो । मेरो पल्लो पट्टी छेउमा बसेकी एकजना महिलाले भनिन्, “मान्छे मर्ने र बाँच्नेको दोसाँधमा भएको बेला तपाईं चाहिँ फोटो र भिडियो लिइरहनु भएको थियो । कस्तो अचम्मको मान्छे हुनुहुँदो रहेछ ।”

अब अचम्म हुने पालो मेरो थियो । मैले जति सम्झन खोजे पनि ती महिलाले भने झैँ कति बेला मर्ने र बाँच्नेको दोसाँध भएको थियो भन्ने पत्ता लगाउन सकिन । ती महिलाले पक्कै पनि विमानले तीन फन्का लगाउँदाको बेलालाई इङ्गित गर्न खोजेकी होलिन् भन्ने लख काटेँ । मैले बल्ल अघि जहाजमा चकमन्नत छाएको कारण अनुमान लगाएँ । मैले हाँस्दै भनेँ, “विमानले फन्को लाउँदैमा मरिन्छ र म्याडम ? बीस मिनेटको फ्लाईट समयको सट्टा चालिस मिनेटको फ्लाईट समय थियो भन्ने सोच्नुभएको भए त चिन्तै हुने थिएन नि ।” उनले थपिन्, “त्यसो भनेर हुन्छ र ? धन्न मरिएन ।”

म मज्जाले हाँसें, “विमान चढ्दा डराउन पर्दैन के म्याडम । विमान सितिमिति झर्दैन । झरी हाल्यो भने झरेको नै थाहा पाईँदैन । छैन त रमाइलो ?” अनि थपेँ, “संसारमा विमान दुर्घटना भएर भन्दा उँटको लात्ताले हानेर धेरै मान्छे मर्छन् भन्ने म्याडमले थाहा पाउनु भयो भने कम डर लाग्छ ।” सबैजना गललल्ल हँसे । तर ती महिला चाहिँ झन् रातिपिरी भइन् । विमानबाट निस्किन नपाउँदै ती महिलाको आवाज सुनियो, “आज धन्न मरिएको नि बुढा । हजुरसँग अझै सँगै बस्न लेखेको रहेछ र बाँचियो । जहाज त आकाशमा घमाएकै घुमायै गर्यो नि ।” सायद उनले आफ्नो पतिसँग गफ गर्दै थिइन् । म मनमनै हाँसें ।

बाहिर निस्की सकेपछि मालसामान सङ्कलन गर्ने ठाउँमा दुईजना अधबैँसे र दुई जना १२-१३ वर्षका गोराहरु भेटिए । अमरिकाबाट नेपाल घुम्न आएका रहेछन् । पुनहुल ट्रेकमा पनि जाने रहेछन् । मैले उनीहरुसँग जहाजले फन्को मार्दा उनीहरुको अनुभूतिबारे जिज्ञासा राखेँ । एकजना अमेरिकनले पैसा नतिरी मज्जाले हिमाल र बादलको सागरमा बाहिर निस्केका पहाडका टुप्पाहरु देखेर रमाइलो लागेको कुरा व्यक्त गर्यो । मलाई गोराहरु र हामी नेपालीहरुको मृत्यु बारेको सोचमा रहेको फरकले सँधै अचम्ममा पार्ने गर्छ । सायद उनीहरु पूर्ण जीवन बाँच्नमा विश्वास गर्ने हुँदा मृत्युबारे पनि हामीभन्दा बढी सहज रहने गर्छन् ।

त्यसपछि मैले मैले अनायास ओशोले मृत्युबारे दिएको प्रवचन सम्झन पुगेँ । ओशो भन्छन्, “हामीले चाहे पनि नचाहे पनि हामी जन्मेका दिन देखि नै मृत्युको प्रक्रियामा सामेल हुन्छौँ । हामी व्यापार गर्छौँ कि नोकरी, गृहस्थ जीवन बाँच्छौँ कि सन्यास जीवन, धार्मिक छौँ कि अधार्मिक, गीता पढ्छौँ कि कुरान, आस्तिक छौँ कि नास्तिक त्यसले जीवन मृत्युको यो प्रक्रियामा केही फरक पर्नेवाला छैन । त्यसबाट कसैले उन्मुक्ति पाउनेवाला छैन । यस बारेमा एउटा घतलाग्दो कथा छ ।”

एकजना राजाले मध्यरातमा सपना देखे । एउटा कालो छायाँ उनको काँधमा हात राखेर उभिएको थियो । राजाले सोधे, “तिमी को हौ ?” छायाँले भन्यो, “म काल हुँ । आज साँझ घाम डुब्दा नडुब्दै म तिम्रो प्राण हर्न आउने कुराको सूचना दिन आएको हुँ । तिमी निश्चित स्थानमा समयमा नै पुग्नु ।”

मृत्युको खबर सुनेर को डराउँदैन ? राजा पनि डराए । मृत्युको खबर सुने पछि को सुत्न सक्छ ? राजा पनि सुत्न सकेनन् । राजाले सपनाको अर्थ जान्नका लागि आधा रातमै राजधानीमा रहेका स्वप्न विश्लेषकहरू, जोतिषी, विद्वान, शास्त्रका ज्ञाताहरुलाई बोलाए । सबैजना हतार हतार दरवारमा हाजिर भए । राजाले मध्यरातमा आफूले देखेको सपनाको कुरा सुनाए तथा त्यसको अर्थबारे विद्वानहरुसँग सुझाव मागे ।

विद्वानहरुले आ-आफ्ना विचार राख्न थाले । विचार के भन्ने विवाद गर्न थाले । आम विद्वानहरुले झैँ आफ्ना कुरा सही, अर्काका गलत भन्दै एक अर्कालाई अपमान गर्न, खण्डन गर्न, निन्दा गर्न थाले । दश जना विद्वानहरुलाई सँगै राखिदिनुस् । अरु केही गर्नै पर्दैन । जे जे उपद्रव गर्नुपर्छ, उनीहरुले नै गर्छन् । उनीहरु बाझ्न, लड्नमा नै व्यस्त थिए ।

शुरुमा त केही बिसेक थियो । पछि त बहस पूरै दिशावीहिन हुन थाल्यो । बिहान भयो, घाम पनि उदाए । तर उनीहरुको वहस र विवाद सकिने कुनै लक्षण नै देखिएन । राजालाई डर लाग्न थालीसक्यो । घाम उदाएपछि, कति वेर लाग्छ र अस्ताउन ? घाम उदाउनु नै अस्ताउन शुरु गर्नुको संकेत हो । तर विद्वानहरु विवादमा, एक अर्कालाई हराउनमा नै व्यस्त देखिन्थे । निश्कर्षमा पुग्ने कुनै संकेत नै देखिँदैनथ्यो ।

राजाको एउटा पुरानो नोकर थियो । उसले राजाको कानमा सुटुक्क भन्यो, “महाराज, यी विद्वानहरु कहिल्यै पनि मतैक्य हुन सक्दैनन् । आजसम्म विद्वानहरु कुनै कुरामा सहमत भएको देख्नु भएको छ ? बरु प्रलय आउला, संसार डुब्ला तर यिनीहरु निश्कर्षमा पुग्न सक्दैनन् । यिनका भर नपर्नुहोस्, समय मात्र बर्बाद हुन्छ । यिनलाई विवाद गर्न छाडी दिनुहोस् । मृत्युले यही दरवारमा आएर हजुरलाई छोएर तथा स्पष्ट संकेत दिएर गएको हुनाले हजुर यस दरवारबाट जति सक्दो टाढा भाग्नु नै श्रेयस्कर हुन्छ । हजुरसँग भएको सबैभन्दा बलियो र छिटो दौडिन सक्ने घोडा लिएर यो ठाउँबाट जति सक्दो टाढा पुग्ने कोशिश गर्नुहोस् ।”

राजालाई उसको कुरा चित्त बुझ्यो । विद्वानहरुलाई विवादमै अल्झिन दिएर राजा आफ्नो सबैभन्दा तेज घोडा लिएर भागे । उनी भाग्दा उनी बिना एकछिन बाँच्न सक्दिन भन्ने पत्नीलाई सम्झेनन् । छोराछोरी, सम्पत्ति, दरवार, मित्रहरु कसैलाई सम्झेनन् । जब मृत्यु अगाडि हुन्छ मान्छेले कसैलाई पनि सम्झिँदैन । मृत्यु अगाडी हुँदा मान्छे कसैको मित्र रही रहन पनि सक्दैन । त्यो दिन राजालाई भोक तिर्खा केही लागेन । मृत्युको अगाडि कसलाई भोक तिर्खा लाग्ने ? उनको दिमागमा एउटा कुरा मात्र थियो । कसरी मृत्युबाट टाढा भाग्ने ? उनी मृत्युसँग टाढा पुग्न कुदीरहे, भागी रहे । निकै तेज भाग्ने घोडा भएकाले मृत्यु भन्दा धेरै टाढा पुग्छु भन्ने उनमा विश्वास थियो ।

अब घाम डुब्ने बेला हुन थालेको थियो । उनी दरवारबाट निकै टाढा एउटा गाउँ नजिकको जँगल पुगे । ढुक्क भएर घोडाबाट झरेर घोडालाई रुखमा बाँध्न थालेका मात्र थिए, उनलाई कोही काँधमा आएर बसेको महसुस भयो । पछि फर्केर हेर्दा त त्यही सपनामा देखेको कालो छाँया पो रहेछ । राजा निकै डराए । त्यही कालो छाँयाबाट बच्नका लागि त्यत्रो दौड, त्यत्रो मिहिनेत गरेका उनले सबै ब्यर्थ भएको महसुस गर्न थाले । बल्ल पो उनलाई भोक, तिर्खा लाग्न थाल्यो । बल्ल पो पत्नी, छोराछोरी, साथीहरु सम्झिन थाले ।

किंकर्तव्यविमूढ राजाले कालो छाँयालाई फेरी सोधे, “तिमी को हौ ?” कालो छाँयाले भन्यो, “तिमीलाई मैले मध्यरातमा नै खबर गरेको थिएँ त । तिमी निश्चित ठाउँमा, निश्चित समयमा पुग्नु, म घाम डुब्ने बेलामा लिन आउँछु भनेर ।” उसले थप्यो, “तिम्रो मृत्यु यही रुख मुनि लेखेको थियो । त्यही भएर त म तिमीलाई बेलैमा सूचना दिन गएको थिएँ । मलाई डर थियो । सारै चिन्तित थिएँ । यो ठाउँ तिम्रो दरवारबाट यति टाढा छ, तिमी समयमा पुग्छौ कि पुग्दैनौ ? म तिम्रो घोडालाई धन्यबाद दिन्छु, जसले समयमा नै तिमीलाई यहाँ पुर्यायो ।” राजाले सोचे, “ओहो ! मैले मृत्युबाट जोगिनका लागि जुन माध्यम रोजेँ, त्यही पो मेरो मृत्युको कारण बनेछ ।”

यो कथा राजाको मात्र होइन । मेरो, विमानमा त्रसित महिलाको, हामी सबैको हो । फरक के मात्र हो भने कसैको घोडा छिटो भाग्ला, कसैको ढिलो, तर सबैको घोडाले निश्चित ठाउँमा, निश्चित समयमा मृत्युले चाहे अनुसार पुर्याउँछ, पुर्याउँछ । मान्छेले आफ्नो जीवनका सारा उपाय, सारा उपक्रम दुःख र मृत्युबाट टाढा हुनका लागि गर्छ । तर आजसम्म मान्छे दुख र मृत्युसँग टाढा भाग्न सकेको छैन ।

त्यसैले मृत्यसँग भागेर, लुकेर वा मृत्युलाई छल्न खोजेर मात्र जीवन प्राप्त हुन सक्दैन । निश्चित नियम र सुरक्षाका उपायहरु ईमान्दारिकताका साथ पालना गरेर मान्छेले जीवनयापन गर्ने कोशिशमा रहने हो । गाउँ छेउमा रहेको जंगलको रुखमा पुग्ने समय आएको छैन भने जीवन रहन्छ । जीवन नरहनु भनेको मृत्युवरण गर्नु हो तथा ढिलो चाँडो त्यो पल सबैका जीवनमा अवस्य आउँछ भन्ने शाश्वत सत्यलाई स्वीकार्दा नै मान्छेले झन् सहज जीवनयापन गर्न सक्दछ ।

सबैको जय होस् । सबैको कल्याण होस् ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button