नेपाल, जहाँ आफ्नो शरीरको पूजा गरिन्छ

रितु शाक्य

बाल्यावस्थामा प्रत्येक चाडपर्वको बेग्लै आनन्द हुन्थ्यो । खेल्यो, खायो, मोजमस्ती गर्यो । न दुख थाहा छ, न समस्या, न अभाव थाहा छ, न व्यथा । ती दिनहरु सम्झँदा आज पनि मन उत्साहित हुन्छ । आनन्दको बहार आउन थाल्छ ।

नेवार समुदायमा जन्मेकी म, दशैं र तिहार मेरो मनपर्ने चाड रह्यो । दशैंमा बिहान–बिहान उठेर आमासँग नयाँ कपडा पहिरिएर म मठमन्दिरमा पूजा गर्न गएको, डमरु बजाउँदै नाचेको, दाईहरुसँग बसेर छतमा चंगा उडाएको, आमा–भाउजुसँग बसेर मिठा परिकार पकाउन सिकेको पलहरुको याद आउँछ ।

त्यस्तै तिहार त सबभन्दा मनपर्ने चाड । बुवालाई जिद्दी गरेर झिलिमिली बत्ती किन्न लगाएर घरमा बालेको, साँझ हुनेबित्तिकै हतारहतार लिपेर बाहिर कुमार मण्डला बनाएको याद आउँछ । पटाकाहरू पड्काउँदा डरले थरथर काँपेको याद आउँछ ।

म्ह पूजाको दिन नेपाल राष्ट्रिय सम्वत शुरु हुन्छ । त्यो दिन हाकु पटासी साडीमा सजिएर न्हू द या भिन्तुना र्याली गएको याद आउँछ । बेलुकी म्ह पूजाको लागि बुवा–दाइहरु मिलेर मण्डला तयार गर्नु हुन्थ्यो । बुवाले म्ह पूजाको विस्तृत उद्धेश्य बताउनु भएको थियो, जुन यहाँ शेयर गर्दैछु ।

दिनभर घरका महिलाहरु विभिन्न व्यञ्जन पकाउनमा ब्यस्त भने साँझ पुरुषहरु मण्डला बनाउन । सर्वप्रथम घरभरि दियो बालेर लक्ष्मीमातालाई म्ह पूजा गरिसकेपछि अनि म्ह पूजाको तयारी गरिन्थ्यो । बुवाले हामीलाई प्रत्यक कुरा बुझाउनु भयो ।

म्ह पूजाको मण्डला बनाउँदा पहिले देव मण्डला, त्यसपछि मानव मण्डला, त्यसपछि फेरि देव मण्डला बनाउनु पर्छ । मानव मण्डला घरमा कतिजना परिवार छन्, सबको लागि बनाउनु पर्छ । यदि कोहि विदेशिएको छ भने पनि उसको नाममा पनि मण्डला बनाएर पूजा गर्नु पर्छ । प्रत्येक मण्डलाको माथिपट्टि दायाँमा सुर्य मण्डला र बायाँमा चन्द्र मण्डला बनाउनु पर्छ । सुर्य मण्डलामा देवा यानिकी दियो र बायाँमा गोजा यानिकी देवताको दुतको रुपमा चिउरा भिजाएर बनाएको मन्दिर जस्तो वस्तु राखिन्छ जसमा धुप अड्याउने गरिन्छ, त्यसको सँगै चिनीबाट निर्मित मयुर, ख्याक, ज्वोलान्हाकन, सिन्हामु आदि प्रत्येक मण्डला सँगै एउटा एउटा राखिन्छ जुन मलाई औधि मन पर्थ्यो ।

मण्डला बनाउनु पुर्व पानीको घेरा बनाउनु पर्छ । त्यसभित्र सेतो चामलको पिठोबाट आठ पत्रसहितको कमलको फूल आकृतिको मण्डला बनाउनु पर्छ । त्यसमा अबिर पनि राखिन्छ । यो आठ पत्र हृदयकमल, आठ दिशा र अस्टांगिक मार्गको प्रतिक रहेछ । मण्डलाको बीच भागमा ५ घेरा लाग्छ, जसमा पहिलो घेरामा कालो भटमास्, दोस्रो घेरामा जौ फुराएर बनाएको मकैजस्तो चिज, तेस्रोमा जौ, चौथोमा कालो मासको दाना र पाँचौमा सिंगो चामलको घेरा बनाउनु पर्छ । त्यस भित्रचाहिँ तेलको मण्डला बनाउनु पर्छ । ती पाँच अन्न पञ्चइन्द्रियको प्रतिक रहेछ, जसबाट हाम्रो शरीर बनेको छ । मण्डलाको अगाडिको भागमा फलफूल सजाउनु पर्छ जुन शक्ति स्वस्थता र पवित्र मनको प्रतिक रहेछ । फलफुल माथि काँचो धागोको माला (कोखा) राखिन्छ, जुन लामो आयुको प्रतिक, सुपारी फूलको माला जुन दिर्घायुको प्रतिक र त्यसको माथि गोदावरी फूल जुन प्रज्ञाको प्रतिक रहेछ ।

मण्डलाको आठ पत्रमा आठवटा सयपत्रीको फूल राखेर सजाउनु पर्छ । मण्डलाको बायाँ भागमा लामो कपडा बेरेर बनाएको चार वटा लामो बत्ती (खेलु इता) राखिन्छ, त्योपूजा को क्रममा बाल्नुपर्छ त्यसको अर्थ हुन्छ, आत्मज्ञानले सारा जगतलाई उज्यालो बनाउनु । शुरुको देव मण्डला र अन्तिमको देव मण्डलाले हामी पञ्चतत्वबाट जन्मियौं र त्यही पञ्चतत्वमा विलिन हुनुपर्छ भन्ने संकेत गर्छ । देव मण्डलको सँगै नांग्लो जुन शिवको औजारको प्रतिक, कुचो लक्ष्मीको औजार र पानीको घैंटो जुन यमुनाको प्रतिकको रुपमा राखिन्छ । कसै कसैले किताव सरस्वतीको प्रतिक र खल कुमारको प्रतिकको रुपमा पनि राख्छन् ।

म्ह पूजा गर्दा देव मण्डलापछिको मानव मण्डला सँगै घरको पुरुष मुखिया बस्नु हुन्छ । त्यसपछि पुरुषमा उमेर र पद अनुसार माथिबाट तल लहरै मण्डलको अगाडि बस्नुपर्छ । त्यसपछि बिहे नभएको कुमारी छोरी बस्छन् । त्यसपछि बुहारीहरु पद अनुसार माथिदेखि तलसम्मको लहरै बस्छन् । मचाहिं बीचमा पर्थेँ । घरकी मुली आमाले पूजा सुरु गर्नु हुन्थ्यो । बुवाले शान्ति पाठ गर्नु हुन्थ्यो । आमाले शुरुमा सुकुन्दा जसमा गणेश नाग, कलश र दीप हुन्छ, त्यसको पूजा गर्नु हुन्थ्यो । गणेश मंगलको प्रतिक, नाग कालको, कलश लक्ष्मीको र दीप प्रकाशको प्रतिक रहेछ । त्यसपछि हाम्रो अगाडि भएको मण्डलाको पूजा गरेपछि हामी सबैको शारीरको पूजा, अक्षता, सुपारी अविर र सिक्काले गर्नुहुन्थ्यो । पूजा सकेपछि खेलु इता बालिन्थ्यो, जसले आत्माभित्रको बीज ब्रम्हको पहिचान गराउने रहेछ । त्यसपछि सगुनको कार्यक्रम शुरु हुन्छ । सगुनमा रातो अक्षता, दहि र अबिर मिसिएको टिका आज्ञा चक्रमा लगाइदिनुहुन्थ्यो, जसको अर्थ हुन्छ, त्यो टिकाको मध्यमले हामीले पाउने शुभ आशिष हाम्रो आज्ञा चक्रबाट सिधै अर्धचेतन मनमा पुगेर त्यो आशिर्वाद लाग्दो रहेछ । दहि कन्चटमा लगाउनुको अर्थ दिमाग शान्त गर्नु र मन स्थिर गर्नुको प्रतिक रहेछ । त्यसपछि अण्डा, माछा र रक्सीको सगुन दिनुहुन्थ्यो, त्यसको अर्थ पनि पाँच तत्व आकाश, वायु, अग्नि, पृथ्वी र जलसँग सम्बन्धित रहेछ ।

सगुनपछि भोजन हुन्थ्यो । प्रत्येक मण्डलामा भोजनले भरिएको थाली राखिन्थ्यो । घरको सबैले सगुन लिसकेपछि भोजन ग्रहण गरिन्थ्यो । यसको पनि नियम हुन्थ्यो, सुरुमा घर मुखियाले नखाई खान हुँदैनथ्यो भने उठ्ने बेला पनि मुखिया नउठी कोहि उठ्न पाइन्नथ्यो । यस नियमले अग्रजको सम्मान गर्न सिकाएको छ ।

भोजनपछि सबैलाई मिठो काजु, पेस्ता, बदाम, नरिवल र अन्य मसलासहितको प्याकेट र पान मसला दिनु हुन्थ्यो । त्यसको अर्थ शारीरिक शक्ति र पानले पचाउने काम गर्छ ।

यसरी म्ह पूजा सकिन्छ । म्ह पूजा वास्तवमै वैज्ञानिक छ । यसरी आफ्नो शरीरको पूजा गर्ने सस्कृति संसारमै कतै छैन । त्यसैले यो पर्व दुर्लभ तथा अत्यन्त महत्वपुर्ण संस्कृति मानिन्छ । विदेशीहरु पनि म्ह पूजाको संस्कृति हेर्न नेपाल आउने गरेका छन् । यस्तो अमुल्य संस्कृतिको धनी हाम्रो मुलुकमा जन्मिन पाउँदा आफुलाई अत्यन्त भाग्यमानी महसुस हुन्छ ।

म्ह पूजा चेतनारुपी अन्तर आत्मा र प्रकृतिरुपी भौतिक शरीर दुवैको महत्व दर्शाउने पर्व हो । यो पर्व भौतिक र अध्यात्मिक भावनाको समन्वय पनि हो ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button