टिभी ल्याएपछि काकाले मात्र होइन, बाले पनि सब्जी लगाउन छाड्नुभयो

मेनुका शर्मा

कुनै समयमा टिभीमा रामायण, महाभारत, शक्तिमान जस्ता अनेकौँ सिरियल, विविध कार्यक्रम, गीत, भजन, फिल्म हेर्न आफ्नो गाउँमा नभए अर्को गाउँमा पुगेर भए पनि टिभीमा हेर्ने चलन थियो । अरु त के कुरा समाचारदेखि विज्ञापनसम्म सबै हेर्न पाए दङ्ग थियौं । संसार जीते जस्तो अनुभूति हुन्थ्यो । टिभीमा कुन कार्यक्रम कति बजे के के आउँथ्यो, हामीलाई सब याद हुन्थ्यो । टिभीमा कार्यक्रम प्रस्तोताहरु सबैले नमस्कार भन्दा हामी हात जोडेर नमस्कार गर्थ्यौ, सबै त याद छैन तर कुनै कुनै घटना भने आजसम्म पनि मानसपलबाट हट्दैन ।

पूर्वी चितवन, हाल रत्ननगर–११, त्यो बेला पञ्चकन्या–१ मा पर्थ्यो । जिरौनामा हाम्रो घर । मेरो ठूलो भाई सानै थियो । टिभी हेर्न खुब मनपर्ने । हुन त हामी सबैलाई उस्तै नै हो । मन त पर्थ्यो नै । तैपनि ऊ धेरै रुचि गर्थ्यो । गाउँमा लाहुरेबाको घरमा मात्र रङ्गीन टिभी थियो । कम भीड हुँदा त अंकलहरुले भित्र आउन भन्नुहुन्थ्यो, सायद बुबालाई राम्ररी चिनेर पनि होला ।

गाउँमा एउटा मात्रै टिभी थियो । भीड त कुरै नगरौँ, आजभोलिको ठूलो बिहे जस्तै । हेर्न दिनु पनि कसरी ? थाम्नै गार्हो हुन्थ्यो । त्यसमा पनि जो ठूला हुन्थे, उनीहरू सानालाई हप्काएर अगाडी टिभी हेर्न पुग्थे । म जस्ता होचा त उही, अनि त्यसैले हेर्न जान्नथेँ, अरु दुई जना साना भाईबैनी थिए, जान्थे कि खै याद नै छैन ।

कुरा २०४६ सालतिरको हो । एकदिन ठूलो भाईले झ्यालमा झुण्डेर टिभी हेर्दा भोलिपल्ट खुट्टा सुन्निएर रोयो रे मज्जाले । म पनि त सानै थिएँ । सबै कुरा त याद छैन । बुबा शिक्षक हुनुहुन्थ्यो लंकालाईन स्कूलमा । बुबाले त्यसपछि टिभी ल्याउने तयारी गर्नुभयो । विद्युत आपूर्ति भने भएको थिएन । जनआन्दोलन पछि चुनाव भयो । त्यसपछि विद्युत लाइन बिस्तारित भएर गाउँमा बल्ल बत्ती पुग्यो । पुगेकै केही समयमा टिभी ल्याएको घरमा । केही समयपछि मेरो कान्छी फुपूको घरबाट बुबाले फिलिप्स को १४ इन्चको पुरानो श्यामश्वेत टिभी लिएर आउनु भयो । ओहो, त्यो दिन ठूलो भाई, हामी परिवार कति खुशी । त्यो टिभी अनमोल थियो हाम्रो लागि । ममी हाँस्दै भन्नुहुन्छ, त्यो पनि बाँकी ल्याउनु भएको रे बुबाले ।

सादा टिभी त जसोतसो आयो घरमा । तर भोल्टेज पुग्दैनथ्यो। स्टेपलाईजरको प्रयोग त गरिन्थ्यो तर काम नै गर्दैनथ्यो । साँझमा लाईन छ जस्तो मात्र हुन्थ्यो, जति राती हुँदै गयो भोल्टेज बढ्दै जान्थ्यो । अरु दिन जसरी पनि हेर्ने तर महाभारत आउने दिन भने म या भाई नभए कसैलाई अर्थिङ् तार लिन टाँडीबजार पठाउनु हुन्थ्यो । बुबाले कर्माचार्य हार्डवेयर पसल जानु भनेर एउटा चिट लेखी दिनुहुन्थ्यो । बुबाको राम्रोसँग चिनजान थियो । त्यो चिट लिएर टाँडी पुगेर साइकलमा अर्थिङ तार किनेर ल्याएर, बेलुका धाराबाट जोडेर हेर्ने गथ्र्यौं ।

बिस्तारै अब हाम्रो घरमा सुरु भयो टिभी हेर्नेको । लाइन यति बढ्दै गयो कि गफ लगाए जस्तो हुन्छ । गाउँमा सादा टिभी नै किन नहोस् टिभी ल्याउने दोस्रो घर हाम्रो थियो । कोही साइकलमा, हिँडेर, लालटिन बालेर सब आउनुहुन्थ्यो । भीड अत्याधिक हुन्थ्यो । झन् महाभारत हेर्ने दिन दिउँसोबाट तयारी शुरु हुन्थ्यो । कोही टाँडी जानी, कोही आँगन वरिपरि ठाउँ बनाउने, टाँडीबाट तार ल्याएपछि कोही अर्थिङ गरेर टिभी मिलाउने सब आ–आफ्नो काममा व्यस्त हुन्थ्यौं ।

हाम्रो बुबा र ठूलोबुबा दुई दाजुभाईको, दुईवटा घर भएनी आँगन जोडिएको थियो । हाम्रो ठूलोबा एकदम मिहनेती हुनहुन्थ्यो, दिनभरी दुःख गरेर सागसब्जी लगाउनु हुन्थ्यो । अरु दिन त कम नै हुन्थे टिभी हेर्ने मान्छे, त्यो महाभारत आउने दिन त मान्छे कति हो कति । त्यो सब्जी बारी बिहान त केही हुन्थेन कुल्चिएर के रोपेको चिनिँदैनथ्यो । बुबालाई भन्नुहुन्थ्यो, तैंले टिभी त ल्याईस् तर के गर्नु सब्जी खान पाइएन । तर उपाय केही थिएन, त्यता सब्जी लगाउन छोड्नु भो बा ले पनि ।

त्यति मात्र कहाँ हो र, मेरो दाजुहरू र उहाँका साथीहरु सब मिलेर टाँडीबाट डेक र रङ्गीन टिभी लगेर फिल्म हेर्ने चलन थियो । हाम्रो काकाहरुको पुरानो घर थियो, बेलाबेला फुपू आउनुहुन्थ्यो भारतबाट नभए अरु बेला खाली हुन्थ्यो । त्यही घरमा दाजुहरूले नयाँ फिल्म रिलिज हुनासाथ हेर्न लगिहाल्नुहुन्थ्यो । पैसा उठाएर, टिकेट लिएर फिल्म देखाउनुहुन्थ्यो । मैले नि ‘फूल ओर काँटे’ भन्ने फिल्म त्यही बेला हेरेको हो ।

एकपटक एकजना राम्रोसँग चिनजान भएको भाईले भन्यो, ‘दिदी, हजुरहरुको घर सार्है राम्रो लाग्थ्यो ।’

‘के कुरा ?’

समानता भन्ने कुरा हजुरहरुको घरबाट सिकेको मैले, जहिले म टिभी हेर्न जान्थेँ तपाईँहरू हामीसँग भुइँमा बसेर नै हेर्नुहुन्थ्यो, आफ्नो घर भए पनि घमण्ड भने कहिल्यैँ देखेनौं तपाईँको परिवारमा ।

‘कहिलेकाँही गोबर अनि मकै छोडाएम् है दिदी हामीले तर त्यो डरले होइन, केटाकेटी उमेर टिभी हेर्ने रहरले हो’, भन्दै थियो, ‘कसैको दोष छैन मलाई काम लगाएर होइन म आफै टिभी हेर्न पाउँछु भनेर हो ।’

हामी जिरौना जाँदा मोहन सरको घर, टिभी आँगनमा निकालेर महाभारत हेरेको हिजो जस्तै लाग्छ । आज जेबाट हेर्छ भन्दा नि हुन्छ रे । कहाली लाग्छ त्यो समय सम्झिँदा, अर्को दुनियाँमा पुगेको जस्तो लाग्छ । त्यसबेला अरु मान्छे चन्द्रमा पुगिसकेका, हामीलाई टिभी हेर्न नि गार्हो थियो । हुन त आज पनि ग्रामीण क्षेत्रमा कतिपय ठाँउमा यस्तै छ । तैपनि रेडियो, मोबाइल अनि सूचना समयमा नै सुन्ने अवसर भने पाइएको छ।

हाम्रो जीवन टुकीदेखि सुरु भएर आज सोलार, इन्भर्टरसम्म आईपुगका छौं । यति सजिलो हुँदा पनि अझै सन्तुष्ट नै छैन मन, खै यो मनको कुरा हो कहिलेकाँही यसरी नै खेलिरहन्छ । पुराना दिन र आज आफ्ना दिन हेर्दा गज्जब लाग्छ । आज पनि महाभारतका कुरा गर्दा ती दिन सम्झेर निकै रमाइलो लाग्छ र एकाएक बाल्यकालमा पुग्छु ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button