
टुकुचा राेदनकाे अनेकाैं आत्मकथा !
लघुकथा : टुकुचाकाे राेदन
डा. विदुर चालिसे
‘मेराे नाम इच्छुमति ! म इच्छाले बग्न किन पाउँदिन ?’
राणा शासनकाे बर्बरताले भूमिगत गराइएकाे एक विद्राेहीकाे आवाज सुसाइरहेकाे थियाे । नजिकै तरवारले गिंडेर राखिएकाे बिक्रमादित्यकाे टाउकाे थियाे । इच्छुमतीलाई आफ्नाे पहिचान मिलाइदिन साेधिरहेका थिए ।
‘खै मेराे तपस्याकाे अर्थ ? किन बिर्सेकाे मेराे राजधर्म ?’
इच्छुमती चुपचाप लागिन् । उनी समथर फाँट र झाडीमा बग्न थालिन् । जति बग्दैथिइन् त्यति नै उनी गहिरिदै गइन् । उनलाई गिंडिएकाे बिक्रमादित्यकाे टाउकाेले धेरैकालसम्म देख्न सकेन । इच्छुमतीले एकदिन बिक्रमादित्यकाे प्रेमिल राजधर्मकाे आँशु सम्झेर सुसाइन् । उनले काटिएकाे टाउकाेलाई साेधिन् ।
‘भन त हिटीबाट तिम्राे रगत कति बगेकाे थियाे ?’
‘असङ्ख्य !’

त्यसपछि इच्छुमति बिक्रमादित्यकाे रगतलाई छातिमा टाँसेर चुपचाप बगाइरहिन् । प्राचीन राजकीय आदर्शलाई छाेपछाप गर्न र इच्छुमतीकाे अनन्त प्रेमिल बैंस मेट्न इन्जिनियरहरूले सरकारकाे दरवारमा पुगेर प्रस्ताव राखे ।
‘सरकार ! वरिपरिका सबै दरवारमा सधै बगिरहने रगतलाई इच्छुमतिमा फाल्न स्वेज नहरजस्तै भूमिगत नाला बनाउँ !’
गद्दिमा बसेका सरकारले आँखा घुमाए । गम खाए । पाप छाेप्ने उपायकाे बारेमा विचार गरेर आदेश दिए ।
‘त्यसाे भए यसकाे नामचाहिँ टुकुचा राखिदिनु !’
बिक्रमादित्यकाे आदर्श अमर प्रेमका लागि इच्छुमति दुनियाँका अघि टुकुचा भएर भूमिगत रूपमा पिल्सिरहिन् । उनकाे छाति माथिबाट लाखाैं मान्छेकाे रगत बगिसकेका थिए । इच्छुमतिले एकदिन पीडा र वेदनाले रुँदै बिक्रमादित्यलाई सराप्न थालिन् ।
‘लाछी ! के तेराे र मेराे प्राचीन सभ्यताकाे प्रेम यहि हाे ?’
‘प्राणप्यारी प्रिय गंगा म त शिला भइसकेँ के गरूँ त !’
बिक्रमादित्यकाे लाचारीमा उनले आक्राेस, नि:श्वासता, आवेग र रिसले रूँदै चिच्याएर कराउन थालिन् ।
‘तँ तरवार चलाउँदैनस् भने मलाई दे !’
विहानपख सबेरै उठ्दा सहरका मान्छेहरूमा नयाँ काेलाहल मच्चिरहेकाे थियाे । उनीहरूमा इतिहासकाे गर्भहरूमा रहेका अनेक घटना कर्महरूकाे जिज्ञासा उत्पन्न भइरहेकाे थियाे ।
‘टुकुचा राेदनकाे अनेकाैं आत्मकथा !’
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



