बा ! म हजुरले सोचेको जस्तै छोरी भएँ ?

जीवनको पहिलो कमाई बाको हातमा राखिदिएँ । बाले तलब र खुसीको आँसु आमालाई एकैसाथ देखाउनुभयो । आमा पनि हर्षले पग्लनु भयो ।

सुदामा कृष्ण सुवेदी

आमाले भन्नुभएको जहिलेदेखि मैले बा भन्न जानें त्यही बेलादेखि मात्र बा मसँग खुसी हुनुभएको रे । म तीन भाईमध्यको कान्छो सन्तान । पहिले नै दुई छोराहरु भएपछि एउटी छोरी भैदिओस् भन्ने बाको चाहना, प्रकृतिले के बुझोस् । अंश लगाउँदा थोरै भागमा परे तीन भाईलाई गुजारा चलाउन हम्मे पर्छ भन्ने बाको चिन्ता । ठिकै न हो त्यतिबेला, छोरी भए अंश दिनुपरेन । विहे गरेर पठाइदियो । खेतबारी दुई भाईलाई अंशमा पनि पुग्ने । बा गलत हुनुन्नथ्यो ।

भगवान पनि निर्मम भए । ठुलोदाजु १६ को हुँदा टपक्क चुँडेर लगिहाले । दुई भन्दा तीन हुनै पाएनौँ । बाआमा विक्षिप्त हुनुभयो । देखेकाले अझै नि भन्छन्, ‘तिम्रा ती बितेका दाजु असाध्यै राम्रा थिए ।’ बाको उमेर आधा शताब्दी घर्किएपछि मात्र म जन्मेको । उमेर पुगेको छोरो गुमाउनुको पिडा अनि बुढेसकालको बचेरो कहिले हुर्काउनु बढाउनु भन्ने अर्को चिन्ता । धेरैले सुनाउँथे बालाई, बुढेसकालको छोरोले कहिले कमाउने होला र खुवाउला पाल्ला । बा जवाफमा मौन प्राय हुनुहुन्थ्यो । बोलिहाले पनि ‘भैत हाल्यो, हुर्केलानी जसोतसो’ यस्तै यस्तै भन्नुहुन्थ्यो । म केहि मेसो पाउँथे त्यतिबेला पनि । आजकल म त्यतिबेलाका केही पात्रहरुलाई अझै पनि भेट्छु । सायद उनीहरुका छोराहरुले यी बाउहरुलाई खासै सेवा गरेनन् ।

त्यो विगत कष्टकर नै थियो । खान र लगाउन जसोतसो पुगेकै थियो, खन्ने खोस्रने जमिन भएकाले पनि । बाँकी त त्यस्तै नै हो, कुनै आर्थिक हैसियत वा पुर्वाधार बन्नै सक्ने अवस्था थिएन । खेतीपातीको आम्दानीले खेतीपातीकै ऋण तिर्न ठिक्क । पैसा देख्न र देखेको पैसा बचत गर्न सपना जस्तै मान्नुपर्थ्यो । बचे पो बचत ।

आमाले बाको लागि बनाइदिनुभएको जे सुकै खाजा होस् मलाई औधी मन पर्ने । आफ्नो सकेर बाको भागतिर हात लगिहाल्थें । यस्तो थियो कि मन, बाको थालको भात सबैभन्दा मिठो खानेकुरा हुन्छ । त्यो खान नपाईन्जेल गनगन र ठुसठुस् । म असाध्यै पछ्याउँथें रे बालाई, आमाले भन्नुभाको । कहिले काँधमा त कहिले अघिपछि लिएर हिंड्नु हुन्थ्यो । बाको अनगिन्ती घरायसी धन्दा, सक्नै पर्ने । त्यही भएर आमालाई हप्काउनुहुन्थ्यो, यसलाई लैजाउ त, मेसै दिएन हिंड्नै पाईएन भनेर । म चैं यसो फुत्कियो कि बाको छेउ पुगिहाल्थें । हिउँदमा चरनको बेलामा म बासँगै फाँटमै हुन्थे दिनैभरी, गाईबस्तुको अघिपछि । अलिपछि स्कुलको बानी लाग्यो । अक्षर सिकाईले थकाउने भएर होला सुतिहाल्थें । मट्टितेलको बत्तीले हावा धान्दैनथ्यो अनि हावा धान्ने र छेक्ने घरको भित्ता थिएन । टुकीको धुवाँ नाकमै लाग्थ्यो । किताब कापी र स्कुले ड्रेस आमाले बिशेष जतन गर्दिनुहुन्थ्यो । बाले पढाउनुहुन्थ्यो बुझ्दिनथें । आमा त्यही सिकाउनुहुन्थ्यो तर बुझ्दथें । बा ठट्टा गर्नुहुन्थ्यो, तैं भएस् यसको मास्टर्नी । सावाँ अक्षर राम्ररी सिकाउनुभयो आमाले अनि गन्ती बाले ।

म बढ्दै थिएँ, बा पुरानो हुँदै जानुभयो । बाहिरफेरको काम बालाई खासै थिएन । खेतिपातीमा हामी दाजुभाई नै सकेको गर्थेउँ । बाको भान्सा मिठो हुन्थ्यो । पच्चिस बर्षसम्म कलकत्ताको बसाई, खानको सौख र बनाउन पनि पारखी । बाको बिहान चाँडै नै उठ्ने बानी, ममा त्यो बानी ठ्याक्कै आयो । छिटो निद्रा खुल्छ ।

मैले एसएलसी पास गरें राम्रै अंकले । साईन्स कलेज भर्ना भएँ । पढ्न पर्छ भन्ने चैँ मनमै थियो ।

क्याम्पसबाट फर्कने बित्तिकै किताब कापी खोलेर बसिहाल्थें । बा ठट्यौली पाराले सुनाउनुहुन्थ्यो, ‘यसले अफिस खोल्यो अब, चिया ल्याईदेउ ।’

आमा दिनुहुन्थेन, ‘चिया दिए भात खान्न फेरि यसले ।’

मेरा मोटामोटा किताबहरु पल्टाएर खुब हेर्नुहुन्थ्यो बा । म चित्रहरु कोर्दै जान्थें अप्ठ्यारा अप्ठ्यारा अनि बा एक तमासले हेरिरहनुहुन्थ्यो । एक दिन माईक्रोस्कोपको चित्र दुरुस्त बनाएको देख्नुभयो ।

‘यो त गोबर जाँचमा फलानो डाक्टरले हेर्थ्यो त्यहि होइन र कान्छा ?’

मैले मुन्टो हल्लाउँदै मात्र हाँसे ।

‘तँ डाक्टरी पढ्ने होस् र केटा ?’,

म बाको अगाडि किंकर्तव्यबिमुढ जस्तै भएँ ।

आमाले बोल्नु भयो, ‘भन्न त भन्छ नि, के को जेथाले पढाउनु र । जति पढ्ला पढ्ला, जसरी पढ्ला पढ्ला ।’

बा अझै त्यही चित्र हेरेर बोल्दै हुनुन्थ्यो, ‘सरकारी क्याम्पसले पढाउला नि !’

आमालाई सम्झाएँ, क्याल्कुलेटर किन्नुपर्ने कुरा ।

‘थन्कोमन्को सकेर आज यी झुतेलाका मकै सबै नङ्ग्याउँछु र भोलि छोडाउँछु अनि किन्लास् ।’

त्यो रात आमाछोराको गन्थन आधारात सम्मै चल्यो र झुतेलाका मकै पनि तयार भए । भोलि शनिबार भएकोले दिनभरमा मकै पनि छोडाईयो । मैले नयाँ साईन्टिफिक क्याल्कुलेटर पाएँ । खुब तयारी गरें आफ्नो पढाईको ।

पुषको चिसोले निकै दुख दियो । बिहानै साइकलमा कलेज, लगभग १२ किलोमिटर जान अनि आउन उति नै । चप्पले कति छेक्थ्यो र जाडो । एकजोर नयाँ जुत्ताले पैताला छोपियो । अबको रफ्तार सहज भयो । आमाले जोहो गर्नुभएको त्यो जुत्ता किन्ने पैसा कर्जाको ब्याज चुक्ता गर्नुपर्ने । बालाई ढाँटेर मलाई दिनुभाको । सायद बालाई हाम्रो त्यो बदमासी कतै थाहा भएन । नपुग हिसाब आमाले जसोतसो मिलाइदिनुभयो ।

मैले क्याम्पस शुरु गरिरहेको थिएँ । दाजुको एकजना साथी र मेरो पनि बातचित मिल्थ्यो उहाँसँग । एकदिन मजाकमा भन्नुभयो, ‘मास्टर बन्ने हो तपाईं ?’

प्रस्तावले मलाई एकछिन अलमल्लमा पार्यो । केहीबेर बोलिनँ ।

‘म भोलि स्कुलमा कुरा राख्छु अनि खबर गर्छु है तपाईँलाई । प्राईमेरी लेभलमा साईन्स टिचरको जरुरी छ । म कोसिस गर्छु तपाईँलाई । यु क्यान डु । हामीसँगै काम गरौंला ।’

छोटो कुराकानीपछि मित्र जानुभयो । पर्सिपल्ट नै मलाई त्यो अवसर हात लाग्यो र म शिक्षण पेशामा अनुबन्धित भएँ ।

मेरो दैनिकी ब्यस्त हुन पुग्यो । महिना बितेको पत्तै भएन । जीवनको पहिलो कमाई बाको हातमा लगेर राखिदिएँ । बाले तलब र खुसीको आँसु आमालाई एकैसाथ देखाउनुभयो । आमा पनि हर्षले पग्लनु भयो । त्यो रात हामी अबेरसम्म बसेर धेरै गन्थनमन्थन गरेउँ । बाको जागीरे जीवनको कुरा, अनि कलकत्ता बसाईको आमाको रमाईलो र अनौठा पलहरु । आमासँग बाले राख्नुभएको व्यंग । वाह प्रेम, बल्ल बुझ्दैछु खुसी हुनलाई बहाना काफी रहेछ, चाहना पालेर त कहीं नपुगिने रहेछ ।

करीब दुई बर्ष मैले बालाई तलब हातमै राखिदिएँ । बाले आमालाई थन्क्याउ भन्नुहुन्थ्यो ।

‘तँलाई खोइ त ?’, सोध्नुहुन्थ्यो ।

म आमासँगै लिन्थें । यतिबेलासम्म त तलबको आकार पनि बढिसकेको थियो । हाम्रो गुजारालाई त्यस्तो हम्मे थिएन । बाँकी पुर्वाधार त के पारा लाग्थ्यो र तर पनि जे छ, त्यो चाहीं व्यवस्थित बनाउने कोसिस थियो नै । मसँगै बालाई नयाँ कपडा म आँफै ल्याउँथें । आमा आफैं जोहो गर्नुहुन्थ्यो, ‘तँ जान्दैनस’ भन्नुहुन्थ्यो । बा आफुलाई चाहिएको चीज निर्धक्क भन्नुहुन्थ्यो । पुगेसम्मको सबै म जोरजाम पारिहाल्थें । खेतीपाती आमा र म भएर सम्हाल्थेउँ । बाले पुर्णरुपमा आराम पाउनुभयो । बिहानैदेखि म ब्यस्त हुन्थें । मैले नखाई आमा भान्सा उठाउनुहुन्थेन । आमाको यो पर्खाईले साँझमा मलाई जसरी भए पनि घर पुग्नै पर्ने आदत बनायो । बालाई दबाई म आफैं खुवाउँथे । केही गफगाफ हुन्थे दिनभरीका । आमाको थकाई, बाको योजना र मेरा दिनभरीका नौला कुराहरु सबै सँगै बसेर हुन्थ्यो । हामी तीन एक अर्काका श्रोता थियौं । बाको स्वास्थमा खासै ठुलो केही पनि समस्या थिएन । औषधी उपचारमा मेरो निगारानी नजिकैबाट थियो । आहारबिहारको चाँजोपाजोले बा दुरुस्त हुनुन्थ्यो ।

यो खुसी दैवले धेरै देख्न चाहेन क्यारे । एक्कासी बालाई चुँडेर लग्यो। आमा र मेरो योजनाको साक्षी अस्ताउनुभयो । छलफलमा प्रश्न गर्ने मान्छे हुनुभएन । मैले सबै थोक गुमाएँ । आमाले एक्दमै एक्लो महसुस गर्नुभयो । हामी एक्लो भयौं । म एक्लै एक्लै धेरै रोएँ तर आमाको अगाडि रुन सकिनँ । ममा भन्दा पिडा धेरै आमामा देख्थें । हामी सम्हालिन कोसिस गरेउँ । साँझ परेपछि आमा मेरो पर्खाईमा आँखा बाहिर राख्नुहुन्थ्यो । म दिनचर्या सकेर कसैगरी पुगेकै हुन्थें ।

आजकल आमालाई हेर्छु, बालाई देख्छु । बालाई सम्झन्छु आमा देख्छु । बाको र मेरो निरन्तर कुरा हुन्छ सपनामा । जति बेला उल्झनमा हुन्छु, अनिर्णित हुन्छु त्यतिबेलै बासँगको सम्वाद बाक्लिएर जान्छ । आइरहनुहुन्छ, कहिले सवाल लिएर त कहिले समाधान लिएर । म सोधिरहन्छु, कस्तो छ हजुरलाई भनेर। राम्रो छ, सुखी खुसी छु भन्नुहुन्छ । एकपटक हिजोको दिन म घर छोडेर हिंड्ने निर्णय गर्दा आमाले मलाई छोड्नु भएन । आज म आमासँग छुट्टिने कुराको कल्पना पनि गर्न सक्दिनँ । घरभित्र पस्दा आमा देखिनुभएन भने नितान्त एक्लो महसुस हुन्छ । म बाको भागको माया पनि आमालाई दिन चाहन्छु । बा भौतिक रुपमा त हुनुहुन्न नै तर उहाँको उपस्थिती हामीसँगै निरन्तर नै छ ।

एकरात सपनामा बाले अलि फरक कुराले सम्झाउनुभयो जतिबेला आमा बिमारी भएर ओछ्यान पर्नुभएको थियो । मैले महसुस गरें कि सेवामा कमी हुनपुग्यो । मैले अझै बुझें बा के अपेक्षा गर्नुहुन्छ मबाट भन्ने । उहाँक आशिर्वाद मेरो लागि सम्पुर्ण जीत हो । शिरमा आशिर्वाद भएपछि के नै चाहिनेरहेछ र ?

सँधै बिर्सिएको एउटा कुरा, अबको सपनाको सामिप्यतामा बालाई यो कुरा सम्झिएर सोध्नेछु, ‘बा ! म हजुरले सोचेको जस्तै छोरी भएँ कि भैइन ?’


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button