घर नभएकोले बिहे गर्न खोज्दा केटी नपाएको

टंक सुवेदी

मैले नजर जुधाएर हेरेँ
ऊ लजायो, घोत्लियो, तपक्क आँसु चुहायो
तन त ठिकै देखिन्थ्यो सायद मन गलेछ क्यारे
भुइँमा थचक्क बसेर खुइय्य गर्‍यो
लामो सास तानेर दायाँबायाँ नजर घुमायो
अरुले देखेर लाज लाग्ला जसरी भुइँमा हेर्‍यो
अनुहारमा ग्लानी थिएन बरु आक्रोश थियो
अझै धेरै सेवा गर्ने दृढता र विश्वास दियो
अनि मसिनो आवाजमा एकै सासमा बोल्यो
माफ गर ल मैले सकिनँ ।

कुन कुरा कस्तो कुरा
किन सकेन, कहाँ सकेन
केही भेउ नपाउँदा म रन्थनिएँ
पढाईको विषय वा सायद जागिरको कुरा
हुनसक्छ विदेश जाँदा नभनी गएको कुरा
आकाशमा कालो बादल मडारिए जस्तै
मनभित्र हुरी चलिरह्यो, कुरा खेलिरह्यो
यतिका बर्षपछि किन माफ मागी रहेछ
अनुमानको त्यान्द्रोमा पिङ खेले झैँ लाग्यो
मुखै फोरेर सोधेँ, हैन के सकेनौ ?

उसले बिस्तारै कुरा निकाल्यो
भन्सारमा नाम ननिकालेर दुर्गम पुगेको
घर नभएकोले बिहे गर्न खोज्दा केटी नपाएको
तलबबाट जोगाएर परिवारलाई भात खुवाएको
बाटोखर्च नभएर कैयौं बर्ष घरै नगएको
सँगै जागीरे भएको साथी मन्त्रालय गाको
आम्दानीभन्दा खर्च धेरै गर्नेले वाहवाही पाको
गरिबीले केही गर्न नसकेकोमा
उसले गर्वसाथ माफ मागिरह्यो
म अरुजस्तो हुन सकिनँ
अरुले खोजेजस्तो म कहिले हुन सकिनँ ।

ऊ बोलिरह्यो, म सुनिरहेँ
जागिर पाउन पैसा दिन नसकेको कुरा
तारन्तार सरुवा भएको अवधी नहुँदै पुरा
शुभचिन्तक टाढिएर प्राय एक्लो भएको
विदेश घुम्ने रहरले सार्थकता नपाएर
गाउँले जीवन जिउँदै गाउमा नै रमाएको
छोटो समयमा धेरै कमाउन नसक्ने भाको
अर्ती दिने मान्छेले बद्नामी गराएको
शक्ति र सम्पत्तिले सबैलाई दबाएको
आफू सधैं ठिक ठान्नेले मिलेर पागल बनाको
भित्र भित्र कुहिएर बाहिर नै ठुस्स गनाएको ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button