पशुपतिमा प्रज्ञाले देखेको चर्तिकला

प्रज्ञा अर्याल

आश्चर्य लाग्छ हाम्रा सोच अनि आचरणहरुसँग । सन्दर्भ फेसनेवल भक्तजनहरूको । तपाईंहरू साँच्चै नै भक्तिभावले तीर्थस्थल जानुभएको छ या विकृत फेसनले तानिरहेको छ ?

आज श्रावणको अन्तिम सोमबार । पाँच ओटा सोमबार व्रत पनि बसियो । तर कुनै शिवालय दर्शन गर्ने मौका मिलेन । आज पनि गइएन भने व्रत गरेको के औचित्य भयो र भन्ने मनमा लाग्यो । त्यसैले पशुपतिनाथ दर्शन गर्न म पनि गएँ । हिन्दू परम्परा अनुसार गोदान र पूर्णपत्रो गरी व्रत पुर्ण भएको अनुभूति गरेँ ।

पशुपतिनाथको दर्शनपश्चात् म र मसँग जानुभएका मेरा आफन्तहरु बीच एकछिन बसी त्यहाँको रमाइलो हेर्ने निधो भयो । लाइनमा बसेर आज सबै भक्तजनहरूले दर्शन गर्न लगभग असम्भव नै थियो । मसँगै जानुभएका मेरा आफन्तहरुले के के देख्नु भयो मलाई थाहा भएन, मैले भने धेरै कुरा अनुभव गर्ने मौका पाएँ ।

पशुपतिको जात्रा, सिद्राको व्यापार स्कूले जीवनमा खुब पढियो । यो युक्ति र यसको व्याख्या गरियो । आज मलाई यो युक्ति प्रत्यक्ष अनुभव भयो ।पशुपतिनाथको दर्शन गर्न जसले तोकिए बमोजिम शुल्क तिर्दछ, उसलाई सहज हुने व्यवस्था मिलाइएको रहेछ । धर्मको नाममा पशुपतिनाथको नामलाई बिकाउने र विक्नेहरुप्रति दया लागेर आयो । अर्कोतर्फ टिकटक बनाउनेहरुको जमात उस्तै थियो ।उस्तै उस्तै लुगा, गहना, ब्याग सकभर सबै उस्ताउस्तै सबैथोक लगाई टिकटक बनाउनेहरुको अनुहार कति हँसिलो थ्यो । भक्तजनहरू प्राय सबै आफ्नो आफ्नो ग्रुप अनुसार उस्तै उस्तै पहिरनमा थिए । एकछिन आफ्नो ग्रुपतिर पनि आँखा घुमाएँ । धन्न, कसैसँग कसैको पहिरन मिलेको रहेनछ । छातीमा हात राखी लामो स्वास लिएछु । मनमा प्रश्न पनि उब्जियो, हामी कसैसँग कसैको लुगा मिलेको रहेनछ, फेरि आफूले टिकटक पनि बनाइएन के अब हामीले व्रतको फल पाउँछौँ होला त ? कति भक्तजनहरू सुरक्षाकर्मीहरुको आँखा छली रोक लगाइएको ठाउँबाट प्रवेश गरिरहेका थिए । कोही झुट बोली–बोली भित्र छिर्दै थिए । व्यापारीहरु चर्को दाममा समान बिक्री गर्न व्यस्त थिए ।

बदलिँदो परिस्थितिका बदलिएका भक्तजनहरुसँग केही सोध्न मन लाग्यो, बढी शुल्क तिरेर भक्ति हुने हो भने अरुको भक्तिलाई के नाम दिने जो शुल्क तिर्न सक्दैन ? मान्दैन ? टिकटक बनाउनुलाई नराम्रो भन्न खोजेको कदापि होइन तर तिलको गेडा राख्ने ठाउँ नभएको ठाउँमै बनाउनु पर्छ भन्ने पनि होइन, शिव ताण्डवनृत्य र टिकटकनृत्य बीच आकाश जमीनको फरक छ । एकातर्फ भोकाहरुको जमात बेग्लै छ जो भक्तजनहरु माझ हात फैलाई रहेका छन् तर धर्म गर्न गएका भक्तजनहरू उनीहरूलाई बेवास्ता गरिरहेका छन् । त्यही भोकाएकाहरुको आत्मामा बस्नुभएको होला नि पशुपतिनाथ । जसजसले आज सुरक्षाकर्मीहरुको आँखा छली निषेधद्वारबाट प्रवेश गरेका छन्, तिनीहरूलाई सोध्न मन लाग्यो, युद्ध जितेको अनुभव कत्तिको भयो ? पावनभूमिमा बसी ठगी गर्द मर्नु पर्छ भनी बिर्सिनुभयो ?

हिजोआज त कर्म काण्ड पनि फेसन भएछ । निधारमा टिका र घाँटीमा राम्नामीभएपछि अरू सबै पूर्णविराम लाग्दो रहेछ । न आफूलाई न त ईश्वरलाई कहिले ढाँट्न सकिँदैन । कुनै पनि भगवानले मलाई घुस दियौ भने म दर्शन दिन्छु भनेका छैनन् न त उस्तै वस्त्र धारण नगर्दा श्राप दिएका छन् ।

उस्तै लुगा, गहनाको चक्करमा हामीले कसको ढुकुटी रिताइरहेका छौं र कसको भरी रहेका छौं ? कहाँबाट आउँछ चाडवाड ? जमघट पिच्छे लुगा गहना फेर्ने पैसा ? कमाउनुको दुःख कमाउनेलाई थाहा हुन्छ, उडाउनेलाई होइन । यो मेरो विचार हो, सबैलाई मन नपर्न पनि सक्छ तर आज सबैसँग अनुनय गर्न मन लाग्यो, कृपया धर्मलाई व्यवसाय, फेसन अनि पैसासँग नतौलिदिनु होला ।

(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button