जो मध्यरातमा तीनकुनेबाट स्कुटर डोहोर्‍याउँदै बिहान ५ बजे चापागाउँ पुग्यो

अनि, तीनकुने, कोटेश्वर, बालकुमारी, ग्वार्को, सातदोबाटो, चापागाउँ दोबाटो, खुमलटार, ढोलाहिटी, सुनाकोठी, ठेचो हुँदै झन्डै १२–१३ किलोमिटर स्कुटी डोहोर्याउँदै बल्ल बिहान ५ बजेतिर चापागाउँ घर पुगें ।

युमाश शेर्पा
शेर्पाको फेसबुकबाट

मंगलबार राति साढे ११ तिर अफिसबाट निस्केको बिहान ५ बजेमात्रै घर पुगें ।

कसरी ?

प्रश्न उठ्नु स्वभाविकै हो ।

कुरा यस्तो छ,

मंगलबार भारी वर्षा हुँदै थियो । चाबहिल सरस्वतीनगरस्थित राजधानी दैनिकको बार्दलीबाट धोबीखोला उर्लेको हामीले चाख मानीमानी हेर्यौं । एउटा बाइक त झन्डै खोलामै पसेको, ‘बालबाल’ बच्यो ।

अफिसबाट ‘चेकआउट’ हुँदैगर्दा रातको साढे ११ बजिसकेको थियो । प्रायः बानेश्वर–शंखमुल हुँदै चापागाउँ घर पुग्थें । मंगलबार भने गौशाला नाघिसकेको म, अचानक रिङरोडतिर मोडें । झम्झम् पानी परिरहेकै थियो । सोचें, ‘आज रिङरोड हुँदै जानुपर्यो ।’

एअरपोर्ट गेट पुगुञ्जेलसम्म पानी झनै दर्कियो । सिनामंगल ओरालो सकेर जब तीनकुने पुगियो । दिउँसो अचाक्ली व्यस्त हुने सडक कम्मरसम्म डुब्ने ‘पोखरी’ भइसकेको रहेछ ! ट्रक–ट्याक्सीसमेत मुश्किलले पार गर्दै थिए । केही बाइक जसोतसो तर्दै देखिए ।

मैले पनि स्कुटी कुदाउने हिम्मत गरें । झन्डै आधा भाग डुब्दासम्म स्कुटीले साथ दियो । तर, बीचमा नपुग्दै स्टार्ट बन्द भयो । आहाल बनेको सडकमा गुडिरहेका बडेमान ट्रकले फालेका पानीका छालले स्कुटीसँगै मलाईसमेत ‘ढलपल’ पार्न थाल्यो । ओर्लेर गुडाउँदै स्कुटी अघि बढाएँ । एकजना भाई भन्दै थिए, ‘ठेलिदिउँ दाई ।’ मैले हाँस्दै ‘पर्दैन’ भनें ।

पानी झनै दर्किंदै थियो । शरीर नभिजेको कुनै कुना बाँकी थिएन । मुनिभैरव मन्दिरनिर छेउ लाग्दैगर्दा अर्को स्कुटी र बाइक पनि ‘थला’ परेको देखें । साइलेन्सरमा जमेको पानी पाइप घुसारेर मुखले तानें ।

मजस्तै पीडित अर्को स्कुटी–बाइकका दुई भाईलाई भनें, ‘स्कुटी उत्तानो पारेर साइलेन्सरबाट पानी निकालौं ।’ हामी तीन जना मिलेर पालैपालो स्कुटी उत्तानो पारेर साइलेन्सरबाट पानी निकाल्न थाल्यौं । अनि, त्यसपछि ‘किक’ मार्न सुरु भयो, केही लागेन । साढे १२ बजिसकेको थियो ।

‘बाइक बनाउने हो ? बनाउने भए, ऊ त्यहाँ ल्याउनु,’ अचानक एउटाको आवाज सुनियो ।

‘के के बिग्रिएको हुनसक्छ र ?’ अर्को स्कुटीवाला भाईले सोध्यो ।

‘त्यो त अब खोलेपछि थाहा हुन्छ ? ल बनाउने भए आऊ…’ ओझेल पर्दै ती मेकानिक भन्न थाल्यो ।

‘भयो दाई, अहिले कोटेश्वर चौकीमा बाइक राखेर जाउँ, बरु भोलि आएर मजाले बनाऔं,’ अपरिचित स्कुटीवाला भाई बोल्यो ।

म दोधारमै थिएँ । उनीहरू अघि लागे । १ बज्दै थियो । मैले पनि कोटेश्वरतिर स्कुटी डोहोर्याएँ । ती भाई कोटेश्वर प्रहरी चौकीबाहिर स्कुटी सुरक्षित पार्किङमा राख्दै थिए, मैले भने निधो गरें, ‘अब स्कुटर डोहोर्याएरै चापागाउँ पुग्छु ।’

अनि, तीनकुने, कोटेश्वर, बालकुमारी, ग्वार्को, सातदोबाटो, चापागाउँ दोबाटो, खुमलटार, ढोलाहिटी, सुनाकोठी, ठेचो हुँदै झन्डै १२–१३ किलोमिटर स्कुटी डोहोर्याउँदै बल्ल बिहान ५ बजेतिर चापागाउँ घर पुगें ।

घर पुगुञ्जेलसम्म मेरो कोही–कसैसँग पनि गुनासो रहेन । किनकि, परिस्थितिसँग मैले ‘इन्ज्वाय’ गरें ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button