मेरो भिसा लागेपछि उनको सपना पनि पुरा भयो

लघुकथा: शिवजीको प्रसन्नता

मित्र ‘उराठी’ गौतम
अमरपुर-गुल्मी, हालः तिलोत्तमा न पा–२, रुपन्देही

मेरो भिसा लागेपछि उनको सपना पनि पुरा भयो । म कतार पुगेर केही कमाउन शुरु गरेपछि पूर्व योजना अनुरूप छोराछोरी पढाउन उनी सहर पसिन् । कमाइको केही हिस्सा घरमा आमावुवालाई र अधिक हिस्सा उनलाई पठाउने गरेको थिएँ ।

गाउँमा जन्मे हुर्केकी उनी सहरमा क्रमश समायोजन हुँदै थिइन् । सहरीया साथीहरुको संगतले रहनसहन र फेसनमा पनि परिवर्तन आइरहेको थियो । पहिले पहिले भन्दा पैसाको माग पनि बढिरहेको थियो । यता मलाई भने माग बमोजिमको आम्दानी पुर्याउन हम्मे हम्मे परिरहेको थियो । छोराछोरीको भविष्यको मिठो सपनाले ओभर टाइम ड्यूटीको थकाइ समेत विर्साइदिन्थ्यो ।
यस पटक फेरी नियमित पठाउने भन्दा थप पैसाको माग गरिन् ।

“किन चाहियो थप पैसा ?”- मैले प्रश्न गरेँ।

“श्रावणको महिना म तिम्रो लागि व्रत बसेकी छु । हरेक सोमवार साथीहरुसँग विभिन्न शिवालय पुग्ने गरेकी छु । शिवजीलाई प्रशन्न गराउन हरियो साडी, ब्लाउज, पोते, चुरा, नङ पालिसदेखि लिएर जम्मै सेट नयाँ किन्नु पर्यो नि । साथीहरुले कति महङ्गा महङ्गा साडीहरु किनेका छन्, मैले त अझ कमै गरेकी छु ।”- उनले जवाफ दिइन् ।

“साथीहरुको लहैलहैमा लागेर धेरै खर्च नगर, घाँटी हेरेर हाड निल्नु पर्छ।बरु छोराछोरीको पढाइमा अलि लगानी बढाउँदा हुन्छ । विदा मिल्यो भने म पनि यसै महिना आइपुग्छु अनि सँगै दर्शन गरौँला शिवजीको ।”- मैले सम्झाउँदै भने ।

विदा मिलाएर म नेपाल फर्किएँ । उनी मलाई लिन विमानस्थल आएकी थिइन् । प्रतीक्षालयमा पर्खेकी उनलाई मैले ठम्याउनु अघि नै उनले मलाई अङ्गालो हालेर स्वागत गरिन् ।

म आश्चर्यचकित भएँ ।

“हैन् के टोलाइरहेको ?”- उनले प्रश्न गरिन् ।

“शिवजी पूर्ण प्रशन्न भए जस्तो लागेन ।”- मैले जवाफ दिएँ ।

“किन?”- उनले सोधिन् ।

“तिम्रो साडी, व्लाउज, चुरा, पोते, टिकी, लिपिष्टिक सबै हरियो । बावियोको गाँज जस्तै कपाल समेत हरियो बनाउँदा आँखीभौँ चाहिँ किन त कालो ? त्यो त अशुभ भयो नि, अनि कसरी पूर्ण प्रशन्न हुन्छन् शिवजी ?”- मैले ठट्यौलो भाव प्रकट गरेँ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button