दुर्गालाल भन्छन्, ‘फूलको आँखामा फूलै संसार’ आनीको अनुहारमा फूलेको फूल हो

मार्च २०१४ को एउटा भेट र अविमस्मरणीय कुराकानी ।

अशोक सिलवाल
काठमाडौं ।

सुरुसुरुका दिन जब ‘फूलको आँखामा फूलै संसार …’ सुन्थें, मन त्यसै फुरुङ हुन्थ्यो । शब्द, स्वर, लय, संगीत अनि टेलिभिजनमा यो गीत बज्दा देखिने दृश्य, ती सबले गहिरो शान्ति मिल्थ्यो । दुर्गालाल श्रेष्ठलाई त्यसपछि नै हो, मैले अलि बढी नै छाम्न चाहेको ।

उनले लेखेको यो गीतमा स्वर भरेकी आनी छोइङ डोल्मालाई पनि मैले त्यसपछि झन् बढी छाम्न चाहेको हुँ । यही गीतमा संगीत भरेका न्युहलाई भने म पहिल्यैदेखि चिन्थें । तर, त्यो चिनाई पनि एकतर्फी थियो । बाँकी थिए, शब्दशिल्पी दुर्गालाल । केही बर्षअघिको एक दिन म दुर्गालालको घरमा पुगें । मलाई उनको घरसम्म सँगै लैजाने साथी थिए कुमार रञ्जित । रञ्जितलाई छेउ राखेर कुरा सुरु गरेँ ।

नेपालभाषाका जनकवि पनि भनिने दुर्गालालाई ‘उत्कृष्ट कवितै लेख्न सक्या’ छु जस्तो लाग्दैन रे । भन्छन्, ‘तर, त्यो उत्कृष्ट खाले कविताको दर्शन पाउँछु, त्यो बाटोमा म सायद गइरहेको छु । किनभने, पुरै मात्रामा अहिले पनि नजानिँदो ढंगले इमान्दार हुन सकिरा’ छैन । म इमानदार हुनुपर्छ भनेर हुन खोज्छु । त्यसरी जाँदा त्यो इमानदारीभित्र मैले जति लेखें, त्यसलाई मैले कविता भन्ने गरिराख्या’ छु । मलाई यो कुरो पनि हो जस्तो लाग्दैन । साँच्चै कवितासँगको दर्शन म त्यो बेला पाउँछु, जब मैले कुनै खाले अभिनय नगरीकनै स्वच्छ र इमानदार भएर आफु हराउँदै आफैलाई पाइरहेको अवस्थामा गइरहेको हुन्छु । त्यो बेला मलाई मेरो हरेक सास कविता भइरहेको जस्तो लाग्छ । अब त्यो क्षण यहाँलाई मैले भनें, यो पनि मैले बढाइचढाई गरेर भन्या’ होइन ।’

उनलाई धेरैले कवि भनेकोमा चित्त बुझेको रहेनछ । उनी स्पष्ट पार्न खोज्छन्, ‘नढाँटी भनुँ, म कवि नै होइन । मलाई आफू मात्र गीतकारजस्तो लाग्छ । पहिलेदेखि नै म गाइजात्रे नाटकको कलाकार थिएँ । त्यहाँ पनि नाटक लेख्थें । बाध्य भएर गीत लेख्न पर्ने पनि भयो । पहिले हिन्दी गीतको लय चोरेर लेख्थें । पछि पनि, संगीतकारहरुले लय बजाएपछि म पनि त्यो लयमा बग्न थालें । पछि आएर थुप्रै संगीतकारहरुसँग बस्दा न्युहसँग पनि धेरै बसियो । ऊसँग बस्दा उसले मलाई धुन सुनाउँछ । सुन्छु । एकाग्र हुन कोशिस गर्छु । भाव फुर्छ । मेरो कमजोरी बुढेशकालले मेरो हातले काम गर्दैनन् । कापी कलम पनि उनीहरुसँगै हुन्छ । म बग्छु । टिप्छन् । त्यो हिसाबले भइराख्या’ । पहिले लेख्न सक्दा पनि त्यस्तै हुन्थ्यो । गीतको धुन मभित्र गुनगुन भइराखेको हुन्छ । त्यो धुनसँगै म आफ्नो भावलाई गीतमा मूर्त गर्ने कोशसि गर्छु ।’

‘फूलको आँखामा फूलै संसार …’ बारे हामी प्रवेश गर्देछौं ।

उनी गीत रचनाको समयतिर फर्कन्छन्, ‘त्यो बेला मुलुकमा राजनीतिक संक्रमणको स्थिति थियो । देश परिवर्तनको संघारमा थियो । र, जहाँतहीँ पनि हत्या हिंसाको भयावह स्थिति थियो । त्यो स्थितिमा बाँच्नेहरु जो कोहीसँग पनि भित्र असुरक्षाको भावना थियो । महलमा बसे पनि र झुपडीमा बसे पनि भय थियो । देशैले त्यस्तो स्थिति बेहोरिहेको संक्रमणको घडी थियो । त्यसैबीच मलाई खबरै नगरीकन एक्कासी दुई मान्छे आइपुगे । म साह्रै सस्तो मान्छे । मकहाँ आउन कुनै अदव गर्नु पर्दैन । म छोरासँग पनि साथीसँगै जसरी नै बस्छु । न्युह सरासर मेरो कोठामा आयो । उसको साथमा गितार पनि थियो । अनि संगै एउटी युवती पनि । युवतीले परिचय दिइन्, ‘म आनी छोइङ डोल्मा ।’ ‘एउटा गीत यिनलाई चाहिने भयो । मसँग धुन छ । ट्युनिङ पनि छ’, न्युहले भन्यो ।’

युवतीतिर उनका आँखा गाडिए । आध्यात्मिक लाग्ने चिबर (वस्त्र)ले युवतीको शरिर बेरिएको थियो । न्युह मं बसेकै ठाउँमै बसेको थिए रे । आनी उता । देशले त्यो भयावहता बेहोरिरहेको बेला उनले धुन सुने । युवतीले ‘नन्नअ नन्नअ’ भन्दै धुनलाई झन् जीवन्त बनाइन् । उनको आँखा आनीको अनुहारैमा दौडिरह्यो ।

भन्छन्, ‘आनीको अनुहार बडो सुन्दर । त्यसमा चिबर पनि । त्यो चिबरले के काम गरिरहेको थियो ? मैले बुझ्न सकिन । सायद त्यो पनि आएको हुनु पर्छ कवितामा । एउटी सुन्दरी मात्र भएको भए मेरो कविता श्रृंगारिक हुन्थ्यो । एउटा युवतीको शरीरमा धारण गरिरहेको त्यो चिबर अनि त्यो चिबरयुक्त सौन्दर्य सायद त्यो मेरो कवितामा आयो कि ?’

पाँचदेखि सात मिनेटको बीचमा कविता पुरा भयो । तर, उनको भनाई रोचक छ, ‘खासमा मैले त्यो कविता लेखेकै होइन । मानौं, आनीको अनुहार नै त्यस्तो एउटा बोट थियो, जहाँ त्यो भाव शब्द भएर फुरिररहेको थियो ।’

अझ त्यसलाई हाइलाइट गर्छन्, ‘साँच्चै मैले त टिप्या’ मात्र हो । मैले लेख्याजस्तो मलाई लागेन । एउटा बोटमा फलिराख्या’ फल टिप्या जस्तो मात्र लाग्यो । ‘फूलको आँखामा फूलै संसार’ आनीको अनुहारमा फूलेको फूल हो ।’

त्यहाँ ध्वनि पनि आइरहेको थियो । न्युहले गितार बजाइरहेका थिए । आनीले स्वर भरिरहेकी थिइन् । आनीले गुनगुनाउँदै थिइनन् । सुरुमा जब न्युहले संगीतसहित एसकरो गाए, अनि मात्र उनले फलो गरिन् । उनले गाएकी होइन, आवाज मात्र थपेकी थिइन्, सुरुमा । तर, त्यो गीत त आनीको आवाजमा जीवन्त भइहाल्यो । उनको आवाजले कस्तो छोएको ? त्यो गीतको जन्म समयमा अझ गहिरो गरी जाँदैछने दुर्गालाल, ‘ओहो ! त्यस्तो पनि हुँदो रहेछ । संगीतकारले गाएर हुन्छ र ? आवाज त न्युहले पनि दिया’ हो । तर, उसको आवाजमा मैल गीती तत्व देखिनँ । संगीत देखिनँ । आनीले गाउँदा मात्र संगीत छ जस्तो लाग्यो । त्यस्तो भयो । संगीतकारले गाउँदा संगीत थिएन । त्यस्तो अनुभव भयो । अनि त्यो गीतमा यो जम्मैलाई छुन सक्ने त्यो तत्व जुन हो, मैले राख्छु भनेर राख्या’ होइन । मैले सायद नजानिदो ढंगले त्यस्तो भयावह थितीबीच त्रस्त जनतालाई त्रासबाट अलि पर लैजाने प्रयास गरें ।’

कुनै अज्ञातमा पुगेर उनले त्यो गीत लेखे । भन्छन्, ‘यो गीतमा यो समयको भावको आभाष छ । तर, मैले यो दायित्व निर्वाह गर्नुपर्छ भनेर बुझेर, जानेर गरेको भने होइन ।’

‘सामान्यतया तपाईंका सबै गीतहरु यसरी नै बन्छन् ?’

‘सबै त भन्दिनँ । कुनै कुनै कविता ज्यादै श्रृंगारिक भएर … ओहो ! त्यस्तो पनि लेखियो । कहिलेकहिले राजनीतिमा लाग्दा ‘म आगो बलिरहेछु’ टाइपको पनि लेखियो । कुनै बेला नाटक खेल्दाको कुरा पनि अनौठो छ । मसँग नाटक खेल्दा दुख पनि पाउनेहरु टन्नै छन् । मैले जमिन्दार भएर खेल्दा मोहीलाई कस्तरी चुट्या‘ भन्या’ ! बानी असल वा खराब के हो ? त्यस्तो बानी नाटक खेल्दा पनि थियो ।’

उनको पहिले–पहिले उनकै शब्दमा ‘अलिकति पिउने बानी’ थियो । भन्छन्, ‘मलाई थाहा छ, मसँग केही लिनुपर्यो भने, लौ है त हामी सँगै अलि कति लिउँ है भनेर लिन्छन् । त्यसले त मलाई बाटो खुल्ला पारिदिन्छ । मेरो स्रस्टा मजाले हिंड्छ, त्यहाँ ।’

‘फूलको आँखामा …’ रचना गर्दा पनि बिहानैदेखि हल्का दिनु भएको थियो कि क्या हो ?’

‘ह्या … । त्यस्तो अहिले बिल्कुल लाग्दैन ।’

‘पहिले मात्र ?’

‘साठी बर्ष बढी भयो ।’

‘लेख्न थालेको कि लेख्दा खान थालेको वा खान थालेको ?’

‘सुरुमा त होइन, त्यसपछि साथी संगतले गर्दा बानी प-यो । त्यसपछि लेख्दाखेरी चुरोट खाँदा जस्तो हुन्छ … ओहो पहिले चुरोट खाँदा धुँवा उडेपछि त्यो धुँवा रंगमंगिदै जाँदा त्यसैमा कविता कत्ति लेखियो कति । पछि त चुरोट छाडेर कलम समाउँदा धुँवा नहुँदा आकाशमा आकाशै छैनजस्तो लाग्ने ।’

‘अहिले चाहिं खाएर लेख्नु हुन्न ?’

‘अहिले छैन ।’

कवि र कविता थुप्रै छन् । उनलाई लाग्छ, ‘अरु कविहरु भाव आएपछि लेख्छन् होला । मलाई भाव मात्रले कविता लेख्न दिंदैन । संगीत र धुन पनि चाहिन्छ । गुनगुन … । त्यो भनेको चराको चिरबिर वा मान्छेको कोलाहल पनि हुनसक्छ । जे होस् मलाई एउटा लय चाहिन्छ ।’

दुर्गालालसाथ लेखक सिलवाल

One Comment

  1. अति मिठाे गीतका धनी दुर्गालाल सरलाइ हृदयदेखि नमन

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button