
साइकल र रेडियोमा कर लिने त्यो जमाना !
पेशल आचार्य
अहिले जो कोही मानिस कर छल्न पायो भने आफूलाई ठूलोे मान्छे सझिन्छन् । अझ जति ठूला र पावरफूल मान्छे हुन्छन् ती सबै कर छल्न माहिर हुन्छन् । यतिखेर राजनीतिक पार्टीको हंकीडंकी भएको जमाना आयो । यो जमानामा मानिसले आफ्नो पावर सो गर्न मन पराउँछन् । यो कुरो समाजमा देखिएको छ ।
अहिले बेपारी बेपारीजस्ता छैनन् । अहिले अहिले प्रशासक प्रशासकजस्ता छैनन् । अहिले कर्मचारी कर्मचारीजस्ता छैनन् । अहिले नेता नेताजस्ता छैनन् । अहिले शिक्षक शिक्षकजस्ता छैनन् । वकिल वकिलजस्ता छैनन् । विद्यार्थी विद्यार्थीजस्ता छैनन् । सबैको बास्तविक मुखडा फेरिएको छ । सबैको निजत्व बद्लिएको छ ।
सबैसबै सलामी, गुलामी र मलामीमा अभ्यस्त भएजस्ता छन् । सबैलाई पार्टीको मानिस भनाउँदा गर्वानुभूति हुने गर्छ । सबैलाई राजनीतिक व्यक्तित्वसँग कुम जोरेर हिँड्न अझ सेल्फी खिचाउन मन लाग्छ । सानो मान्छेले ठूलो मान्छे भेट्यो भने कसरी हुन्छ फोटोमा नारिन खोज्छ । कसरी हुन्छ आफूसँग उसको विचार र नाता जोड्न खोज्छ । यो राम्रो परिपार्टी हो होइन त्यो भोलिका दिनले पक्कै छिनोफानो गर्ने छ ।
…
अहिले हामी हिजो पञ्चायतका कुरा सारै राम्रा थिए भनेर बखान गर्दछौं । एक हिसाबले त्यो जमाना शान्त र इमान्दारीको मान मनितो हुने जमाना थियो । हुन त त्यो समयका मानिसहरू पनि जालीझेली र खु्रापाती नभएका होइनन् तर गरी खाने मानिसहरू र बेवहारिक मानिसहरूलाई कसैले पनि केही भाँजो हाल्थेनन् । लुसुलुसु मानिसहरू गरिखान पाउँथे ।
एकजना पुराना मानिस भेट भएका थिए । नामथर र गोत्र उनले बताउने इच्छा जाहेर गरेनन् । मैले पनि उति जिद्दी गरेर सोधिराखिन् । उनी भन्थे– ‘पञ्चायतको काल खण्डमा अझ सम्वत् २०३२ सालदेखि २०४२ साल सम्मलाई त पञ्चायतको स्वर्ण युग नै भने पनि हुन्छ ।’ उनी पुराना सोचका मानिस पनि होइनन् । नयाँ सोचका मानिस पनि होइनन् । दुवै काल खण्डका जोर सन्धिका मानिस परेछन् । आफूलाई मनमा लागेको कुरा फ्याट्ट मूल्याङ्कन गरेर हिँडे । म चुप लागेर सुनिरहेँ । गज्जब लाग्यो ।
यो कुराचाहिँ मैले मेरा बुवाहरूबाट सुनेको हूँ ।
बीसको दसकमा मेरा बुवा मोरङमा हुनुहुन्थ्यो । सानो तिनो काम गर्नु हुन्थ्यो । म त्यही बेला मोरङमा जन्मेको हूँ । त्यो बेलामा पनि बिराटनगरमा घाँस बेच्ने चलन रहेछ । घरमा नोकरचाकर राखेर चाराना (सुका) र आठाना (मोहर) बोझा (बिटा) घाँस किन्न पाइँदो रहेछ, मोरङमा । मेरा बुवाले म जन्मेको साल सम्वत् २०२४ सालमा दुईवटा गुजराँती भैँसी पाल्नु भएको रहेछ । वहाँ आफ्नो घर खर्च चलाउनका लागि भैँसीको दूध बेचेर चलाउनु हुँदो रहेछ । कति एडभान्स ठाउँ– विराटनगर । २०२४ सालमा पनि घाँस किन्न पाइने । सायद् भारतीय प्रभाव परेर होला ?
ऊ जमानामा मानिसहरू साइकल चढ्ने कामलाई सानका साथ लिने गर्थे रे ! ‘चैम्पियन’ र ‘हिरो’ नामका इन्डीयन साइकलहरूको खूब चल्तीको जमाना थियो रे ! साइकलमा कर लिने त्यो जमानामा मानिसहरु सानका साथ कर तिरेर साइकल चढ्ने गर्थे रे भनेको सुन्दा निक्कै पछिसम्म म पत्याउँदिनथेँ ।
मानिसहरू आफूले चढेका साइकलहरू जिल्ला पञ्चायत कार्यालयमा लगेर रिनु गराउँथे । सम्वत् २०२४ सालमा एक वर्षको एउटा साइकलको लाइसेन्स बनाएको दै दस्तुर पाँच रुपैयाँ लाग्दो रहेछ । अनि सालबसाली त्यसलाई तीन रुपैयाँ तिरेर रिन्यू गर्न सकिने रहेछ । यदी कसैले लाइसेन्स रिन्यू गरेन भने पच्चीस रुपैयाँ जरिबाना लाग्ने रहेछ । त्यो कुरा जिल्ला पञ्चायत मोरङको सूचनामा जारी गरिएको रहेछ ।
सम्वत् २०२४ साल मङ्सिर १७ गते चैम्पियन साइकललाई ५ रुपैयाँ तिरेर लाइसेन्स बनाएको देखियो ।
त्यसको एक दसक समय अलि पछितिर जिल्ला पञ्चायत सचिवायल सुनसरीमा हामी बाबुछोरा दुवैजना रेडियो बोकेर लइन्सेन्स लिन जान्थ्यौं । पञ्चायती शासन व्यवस्थामा सरकारले जनतासँग रेडियो बजाएको समेत कर लिँदो रहेछ । टेप रेकर्डरको वार्षिक १० रुपैयाँ र सानो नेसनल पानासोनिक रेडियोको ५ रुपैयाँ कर लाग्दो रहेछ ।
गाउँमा कसै कसैका घरमा मात्र त्यो जमानामा रेडियो राखिन्थ्यो । गाउँलेहरू समाचार सुन्न बेलुकीको खाना खाएपछि गुरुप्प जम्मा भएर रेडियो सुन्न आउँथे । मैले धान दाइँ गर्ने मियोमा खोलमा झुण्ड्याएको रेडियोमा बजेका कार्यक्रम सुन्न गाउँभरिका गाउँलेहरू गुरुप्प भएर छिमेकीका घरमा गएको देखेको छु ।
रेडियोको त्यो जमाना निक्कै पछिसम्म यथावत् थियो । मैले आफैँ अल इन्डिया रेडियोको ‘देशान्तर प्रशारण सेवा’ र ‘विनाका गीतमाला’ र ‘शिवाका गीतमाला’ भन्ने कार्यक्रमहरू वर्षौं वर्षसम्म सुनेको छु । रेडियो सुनेरै मैले चालीसको दसकको अन्तिमतिर विश्व इतिहासका कतिपय पाठहरू बुझेको छु । अरुलाई समेत बुझाएको छु ।
सम्वत् २०४२ साल तिरको जमानाको कुरा हो यो । त्यस बेलामा हाम्रो गाउँमा एकजना सिद्धिनाथ पोखरेल नामका गाउँले हजुरबा हुनुहुन्थ्यो । उहाँ बीस वर्षसम्म कलकत्तामा सुवर्ण शमशेरको कनक बिल्डिङ्मा दरबान भएर काम गरेको सगर्व बताउनु हुन्थ्यो । वहाँले कलकत्ता बस्दा करिब २ दशक बीबीसी हिन्दी सेवा सुनेको र पछि नेपाल आएर समेत करिब २५ वर्ष रेडियोको नशा लागेर सुनेको कुरा गर्नु हुन्थ्यो । बाफ रे ४५ वर्ष अनवरत रेडियो सुन्नु भनेको जोक त होइन नि ?
‘इट्स न अ जोक !’ समय नै रेडियोको थियो । बिहेमा बेहुलालाई अन्य सामानका अलावा रेडियो दिन्थे । मैले त्यो मेरै आँखाले देखेको छु । पहिले नेसनल पानासोनिक अनि अलि पछि नेसनल रेडियोको टेप रेकर्डर ! जोडीमा हुन्थ्यो नाडी घडी –सिको फाइभ ! घडी लगाउनेले मात्र चस्मा लगाउनु हुन्छ भन्थे मानिसहरू । यदि कसैले विना घडी चस्मा लगायो भने जिस्क्याउँथे –‘घडी विनाको चस्मा !’
मानिसहरू सबै कुरा सुनेर बुझ्थे । हामीले कति सिनेमाहरु पैसाको अभावमा कहानी सुनेर बुझेका छौं । सुनाउनेले नाटकीय पाराले सुनाउँदा आफैँले हेरेजस्तो मिठो लाग्थ्यो । पछि थाहा पायौं । सिकाइ सिद्धान्तले पनि भन्दो रहेछ –‘हेरेर बुझ्ने । सुनेर बुझ्ने । लेखेर बुझ्ने । बताएर बुझ्ने । नक्कल गरेर अझ धेरै बुझ्ने ।’
हरेक जमानाका आफ्नै विशेषताहरू हुँदा रहेछन् । हामीले त सुनेरै बुझेका हौं । शिक्षाका कुराहरु । सिनेमाका कुराहरु । व्यवहारका कुराहरु ।
…
अहिले हरेकका हातमा एन्ड्रोइड मोबाइल देखिन्छ । राज्यले व्यक्तिलाई सिम बेच्दा होस् वा व्यक्तिले मोबाइल किन्दा होस् –खरिद कर्ताको तीनपुस्ते लेखेर एउटा मोबाइलको वर्षको ५० रुपैयाँसम्म कर लिने र हरेक वर्ष आफ्नो स्थानीय निकाय चाहे त्यो वडा कार्यालय होस् या गाउँपालिका या नगरपालिकाबाट रिन्यू गर्ने चलन चलायो भने टन्नै राजश्व उठ्ने देखिन्छ । त्यस्तो राजश्वको बास्तविक सदुपयोग चाहिँ हुनु पर्छ । नत्र फेरि त्यही कुरा जनताको असन्तुष्टिको कुरा हुन जान्छ । यो कुरामा राज्यले होमवर्क गर्ने बेला भैसक्यो ।
हिजो पञ्चायती शासन व्यवस्था धेरै कुरामा व्यवहारिक थियो । त्यो जमानाको असल र गतिलो कुरा अहिलेका बहुदलीय शासन व्यवस्थाका सञ्चालकहरूले पनि अनुशरण गरे हुँदैन र ? कि कसो ?
यो सुझाव मात्र हो । बाँकी शासन गर्नेले मिलाएर बुझून् । मनन गरून् ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।