छोराबुहारीले खानेपानी पाए, बुढीआमाले पाइनन्

समाज

विमला केसी रानाभाट

कलियुगको सुरुवात हो या कसरी मुल्यांकन गर्ने अहिलेको समयलाई ? न मानिस बदलिएको न समय ? कसरी हेर्ने हो ? दिनदिनै अनेकौं घटना भइरहेका हुन्छन् हिजोआज । समाजमा कोहि सजिलै पचाउने हुन्छन् भने कोहि हेर्दा सामान्य र सहज देखिन्छ तर भोग्ने र बेहोर्नेलाइ धेरै कष्टकर ।

समाज आधुनिकतातिर लम्केको हो अथवा समाजका मानिसको बुध्दि र सोचमा गिरावट आएको हो ? बुझ्नै कठिन । जति परिवर्तन हुँदै गयो, उति नै समाजमा मानसिक र शारीरिक हिंसा बढिरहेको देखिन्छ । सासुले बुहारीलाई गर्ने हिंसा अनि दाजुभाइको भागवन्डामा कुरा नमिल्दा झगडा भएर हुने हिंसामा धेरै लेखेको बोलेको पाइयो । तर, यही समाजमा परिवर्तनको नाममा भएको बुहारीले सासुलाइ गर्ने व्यवहार अनि त्यही छोराछोरीले बाबु आमालाई दिने मानसिक तनावका विषयमा खासै धेरै लेखेको बोलेको पाइएन ।

सासुले बुहारीलाई गर्ने हिंसा भनेर सरकारी तथा गैरसरकारी संघ संस्था मरिमेटेर लागि परेका थिए । यस्ता परियोजना भए र कति ठाउँमा सफल पनि भए तर यो सिकाएनछ कि सासू पनि एक जमानाको कसैको घरको छोरी थिइन्, त्यसपछि बुहारी भएर आमा भइन् अनि मात्रै सासू भएकी हुन् । यो सिकाएनछ कि सासुको पनि बुहारीको आमाको जस्तै मन छ, आत्मा छ अनि बुहारीको आमाको जस्तै उनलाई पनि आत्मसम्मान र इज्जत चाहिन्छ र खोज्छिन् । यसो भनिरहँदा मैले कसैको व्यक्तिगत कुरा गरेर महान बन्न खोजेको त होइन ।

मैले समाजमा धेरै घटना देखेको र भोगेको छु र कुनैकुनै घटना जस्तोसुकै भए पनि त्यसलाई सहजै स्विकार्न पनि सक्छु तर कहिलेकाहीँ हेर्दा र देख्दा सामान्य लाग्ने घटना र सम्वादले मन पोल्ने गर्छ र त्यसलाई थोरै लेख्न गइरहेको छु । कुरा हिजोआजको नै हो ।

एउटा टोलमा सासु र बुहारीको वादविवाद भएछ खानेपानीको निहुँमा छोरा र बुहारी एउटा घरमा बस्ने अनि बुढीआमा अर्को घरमा । गाउँमा पानीको समस्या थियो । बल्लबल्ल एउटा खानेपानी परियोजनाले त्यस गाउँमा पानीको समस्या त समाधान भएछ । तर, ती बुढीमाको छोरा बुहारीले गर्ने व्यवहार र कर्तव्यमा समाधान भएनछ । आमाले सोच्नु भएछ, छोरा बुहारी मेरै हुन्, उनीहरुले मासिक रकम तिरेको पानी मैले पिउन पाउँछु ।

तर छोराबुहारी र छिमेकीले ती आमाको सोचाइ र बुझाइ गलत भएको भनेछन् । के यसमा सासु पिडित भइनन् होला त ? दस महिना गर्भमा राखेर जन्म दिने आमाले छुट्टै घरमा बसेर छोराले रकम तिरेको पानी खानुमा आमा गलत हो त ? यसमा पिडित को र पिडक को छुट्टाउन गार्‍हो भएछ । त्यसपछि समाजका एक दुई जनालाई बुहारीले सुनाइछन् अनि उनीहरुले जवाफमा जसले पैसा तिरेको छ उसले मात्रै खानु भनेछन् । यो घटना बुहारीलाई हुन्थ्यो भने धेरै बोल्थे तर सासुलाई सबै चुपचाप के सासु आमाचाहिँ आमा होइनन् त ? उनले छोराको बिहे गरेर बुहारी भित्र्याएपछि छोराप्रतिको अधिकार गुमाएकी हुन त ? अनि छोराले पनि आफ्नी आमाप्रतिको कर्तव्य र दायित्व सबै भुलेको हो त ?

आमाले आफ्ना सन्तानको लागि जीवनभर गरेको त्याग, समर्पण र वलिदान सबै स्वार्थी छन् त ? यसको जवाफ कसले दिने छोरा बुहारीले अथवा बुहारीको आमाले किनकि बुहारीको आमा पनि त कसैको सासू नै होलिन् । के उनकी बुहारीले उनलाई यो व्यवहार गर्दा उनको मनमा कस्तो चोट पर्छ ? आफ्नी छोरीलाई संस्कार दिएको भए ती बुढीआमाजस्तै धेरै छोराको र बुहारीको सासु पानीको सट्टा आँसुको घुट्को पिएर बाँच्नु पर्दैन थियो होला । यो समाजमा परिवर्तन ल्याउने ठेक्का लिएका (विषेश गरी बुहारीको हकमा) ठेकेदारहरुले अब आमा र सासु हिंसामा परेको परिवर्तन ल्याउन चाहिँ कस्तो भुमिका खेल्लान् त ?

सबै कुरा नजिकैबाट सुनिरहेका एक जना भद्रभलाद्मीले मलाई सोध्नुभयो, ‘दिदी, छुट्टै घरमा बसेर छुट्टै पानी खान बाध्य बनाउने यिनै छोराबुहारी होइनन् र ?’


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button