अचेल ‘माइला’ मुस्ताङ जाँदैन, यतै मोटरसाइकल चलाउँछ
अशोक सिलवाल / काठमाडौं
भ-याङबाट ओर्लिदै ठूलो स्वरमा सोधें, ‘… साँच्ची तपाईको नाम के हो रे ?’
उसले पनि चिच्याएरै भन्यो, ‘माइला । माइला कार्की । घर चाहिं सिन्धुपाल्चोक ।’ ऊ खासमा भरत कार्की हो । तर, उसलाई धेरैले माइलै भनेर चिन्छन् ।
केही बर्षअघिको दशैंको मुखैदेखि गायब भएको थियो ऊ । उसलाई तिहार सुरु हुनै लाग्दा भेटेको थिएँ । बीचमा ऊ पोर्टर (भरिया)को रुपमा मुस्ताङ यात्रामा थियो ।
‘दशैंको टिकाको बिहान । ८ बजे जम्बो हाइसमा फिलिली । ४ घन्टामा पोखरा पुगेर फेवाताल (लेकसाइड)को बारमा मजाले बियर खाइयो । बेलुका ८ बजे ८ जनाको इटालीयन गु्रपसँग थकाली खानासँगै फेरि पनि बियर खाइयो’, उसले यात्राको ‘श्री गणेशाय नम’ आफ्नै लयमा सम्झ्यो ।
भोलिपल्ट बिहान पोखरा एयरपोर्टबाट सबैभन्दा पछाडि एयरहोस्टेजसँगैको सीटमा बसेर सिम्रिक इयरबाट २९ मिनेट पुग्दानपुग्दै ऊ जोमसोम पुग्यो ।
‘११ बजेदेखि ४ बजेसम्म गुटुङटुङ हावा चलेको चल्यै’, उसले थप्यो, जोमसोम ‘हावाको देश’ हो । मान्छे उडाउने खालको भयंकर हावा चल्ने त्यो ठाउँमा सानादेखि सुविधासम्पन्न ठुला होटल रहेको उसले सुनायो । बिहान ७ देखि साढे १० बजेसम्म ‘अप एन्ड डाउन’ भइरहे पनि ११ बजेपछि त्यहाँ जहाज हावाको कारण आउजाउ गर्न सक्दैन रे ।
त्यो ठाउँमा मुस्ताङी स्याउ पाइन्छ । स्थानीय टुकुचे, मार्फा र एप्पल ब्रान्डका स्थानीय रक्सीहरु पाइन्छ । स्याउका चाना, जिम्बु, दाल, फापरको पीठोलगायत पनि किन्न पाइन्छ । मुख मिठ्याउँदै माइलाले सम्झ्यो, ‘रसिलो, पोषिलो र अग्र्यानिक ।’
यो यात्रामा उसको काम नै २५ देखि ३० किलोसम्मको झोला बोक्नु हो । राम्रोसित कसेको झोला बोकेर ऊ साढे २ घन्टामा कागबेनी पुग्यो । त्यो रात त्यहीँ बस्यो । ऊ कागबेनी वर्णन गर्दै थियो, ‘५ सय बर्षभन्दा पुरानो गुम्बा छ । बेस्सरी फैलिएको कालीगन्डकी छ । मिश्रित जातिको बसोबास भएको यो ठाउँमा लगभग १२ वटा सुविधासम्पन्न नयाँ होटल छन् भने पुराना होटल पनि छन् ।’
अर्को दिन उनीहरु सैले पुगे । ‘यहाँ पनि २÷३ वटा होटल छन् । काठमाडौंदेखि लोमान्थाङसम्मै बाइक र गाडीमा पनि जान सकिन्छ । कागबेनीदेखि लोमान्थाङसम्म जीपहरु ओहोरदोहोर गरिरहेका देखिन्छन् । सैलेदेखि माथि हरियाली कतै देखिदैन । जता हेर पनि नांगो डाँडामात्र । पुरै मरुभुमिजस्तो । सैलेबाट माथि लागेपछि कहाँ, कुन ठाउँमा आइएछ जस्तो लाग्छ’, सैले बिस्तार सुनायो ।
उसलाई लाग्छ, ‘जसको आफ्नो घर छैन, खेत छैन, परिवार छैन, जो मान्छेको प्रेमबाट बिछोड भएको छ, त्यो ठाउँमा त्यस्तालाई आनन्द लाग्ला ।’ ‘हावा र धुलो उडिरहनाले फेस बिग्रिन्छ’, ऊ सुनाउँदैछ, ‘घाम चर्को लाग्छ । आकाश पनि नजिकैजस्तो ।’
मुस्ताङ चीनसँग जोडिएको जिल्ला पनि हो । त्यहाँबाट चीनको बोर्डरसम्म बोर्डर खुलेको दिन मात्र जान सकिने जानकारी दिंदै उसले भन्यो, ‘मुस्ताङबासीचाहिं चीनभित्र पनि जान पाउँछन् ।’ ऊ सम्झँदै थियो, ‘बोर्डर खुलेको बेला चीनका हरेक सामानहरु नेपाल पास भइरहेका हुन्छन् । त्यहाँ चाइनीज बाइकहरु पनि गुडेका देखिन्छन् । मुस्ताङमा देशका अन्य भुभागका नेपाली मजदुरहरु घर निर्माणकर्मीका रुपमा भेटिन्छन् ।’
‘सामान्यतया मुस्ताङ ट्रेकिङ १० दिनको हुन्छ । १४ वा १६ दिनको ट्रेकिङ पनि गर्न सकिन्छ’, उसले भन्यो, ‘मुस्ताङ प्रवेशका लागि एकजना विदेशीलाई एक दिनको ५० डलरको दरले १० दिनको ५ सय डलर लाग्छ ।’
‘कागबेनीमा मुस्ताङ ट्रेकिङ परमिट चेक गर्ने पोस्ट छ । त्यहाँ ट्रेकिङ परमिट, गाइड लाइसेन्सलगायतका कागजपत्र देखाउनु पर्छ । तोकिएको मितिमै कागबेनी चेकपोस्टबाट पर्यटक चेक इन भइसकेको हुनुपर्छ । एक दिन ढिला भयो भने एक जना बराबर ५० डलर फाइन तिर्नुपर्छ । चाँडै फर्काइयो भने टे«किङ कम्पनीसँग पर्यटकले बाँकी दिनको पैसा फिर्ता माग्न सक्छ’, उसले विस्तारमा बुझायो ।
अर्को दिन उनीहरुले च्याङबोचेमा रात कटाए । अलि सुनसानजस्तो लाग्ने त्यो ठाउँमा ३ वटा होटल छन् तर चाहेजस्तो खानेकुरा पाइदैन रे । होटलवालाले दिएको च्वाइसमा रमाउन सक्नु पर्ने त्यो ठाउँका होटलका मेनुमा लेखिएका पनि सबै खानेकुरा पाइदैन रे । खोंचजस्तो च्याङबोचेमा लगभग १८-२० जना मान्छे बस्छन् छन् भन्ने उसको अनुमान छ । माथि डाँडातिर गुम्बा पनि छ रे । बन्दा, साग, लसुन आदि पाइने त्यो ठाउँमा चामल, नुन, तेलजस्ता सामान बेनीदेखि जीपबाट त्यहाँ ढुवानी भइरहेको देख्न सकिन्छ ।
अर्को दिन उनीहरु सराङमा बसे । उसलाई त्यो ठाउँ समुन्द्रजस्तै फराकिलो लाग्छ । गुम्बा र राम्रा स्कुलहरु छन् त्यहाँ । काठमाडौंदेखि गएर त्यहाँ स्कुल पढाइरहेका शिक्षकहरु भेटिन्छन् । नयाँ र पुराना दुवै खालका होटलहरु भएका त्यो ठाउँमा चाइनीज बियरदेखि नेपाली ह्विस्कीहरु समेत पाइन्छन् । त्यहाँ पनि देशका अन्य भुभागबाट गएका कामदारहरु प्रशस्त भेटिन्छन् ।
‘उनीहरु नेपाली भए पनि विदेशमा गएर काम गरेकोजस्तो महसुस गर्छन् । मलाई पनि त्यो ठाउँ एक प्रकारले विदेशजस्तै लाग्छ । साउदी, कतार । मरुभुमि’, उसले ती स्वदेशी मजदुरहरु र त्यहाँको माटोप्रति आफ्नो अनुभुति सुनायो ।
अर्को दिन उनीहरु लोमान्थाङ बसे । यो यात्राको त्यो लास्ट क्याम्प थियो । त्यहाँ विदेशीका लागि ४ देखि ५ दिनसम्म घुम्ने ठाउँहरु छन् । त्यहाँका ठुल्ठुला पसलमा चाहेको सबै सामान पाइन्छ । त्यो ठाउँमा रहेको मुस्ताङी राजाको दरबारमा अहिले राजा नबसे पनि कुरुवाहरु बस्छन् रे ।
पहिला त्यो ठाउँमा दरबार थिएन रे । पैदल ३ घन्टामाथिको लोमान्थाङ डाँडामा दरबार थियो । कोसेलीपात बोकेर ३ घन्टा उकालिएर जनता राजालाई भेट्न जान्थे । जनमैत्री राजाले सोचेछ, ‘मलाई भेट्न आउँदा जनताले धेरै दुख पाए ।’ राजाले आइडिया गरेछ, ‘सय किलो नुन बोकाएर पठाएको भेंडा जहाँ बास बस्छ, त्यही ठाउँमा म दरबार बनाउँछु ।’
राजाले नुन बोकाएर तलतिर पठाएको भेंडा लोमान्थाङमा आएर बसेछ । भेंडा बास बसेको ठाउँमा राजाले दरबार बनायो । जनतामैत्री निणर्य थियो त्यो । डाँडामा भत्केको पुरानो दरबार अहिले पनि देखिन्छ रे ।
माइलाको अनुमानमा ५ सयभन्दा बढी स्थानीय भएको लोमान्थाङमा आलु जौ, मुला र धनियाँ पनि पाइन्छ रे । त्यहाँको एकथरी भित्र र बाहिर दुवैतिर रातो पाइने रातो मुला गुलियो र रसिलो हुन्छ । सेतो मुला पनि रसिलो तर खुर्सानीजस्तै पिरो हुन्छ रे ।
उसको अनुभव छ, ‘विदेशीहरु धेरैजसोले गुम्बा मन पराउँछन् र गुम्बा जाउँ भन्छन् । उनीहरु गुम्बा देखेर दंग पर्छन् । गुम्बामा लामाहरु पनि हुन्छन् । कतिपय विदेशीले डोनेशन पनि गर्छन् ।’
लोमान्थाङ चारैतिरबाट डाँडाले घेरिएको बिहानदेखि बेलुकासम्म हल्का घाम लाग्ने, हावा चल्ने चीसो ठाउँ हो । आफ्नो र अरुको अनुभव सुनाउँछ ऊ, ‘कतिपयलाई टाउको पनि दुख्छ ।’ तर, दुखेको र नदुखेको टाउको उत्तरपट्टि फर्काए हिमालहरु देखिन्छ ।
‘लोमान्थाङमा विचित्रका गुम्बाहरु छन् । भित्ताहरुलाई पनि गुम्बा जसरी सजाइएको छ । तिनलाई पनि त्यहाँ गुम्बै भन्ने गरिएको छ । भीरहरुमा पनि गुम्बाहरु छन् । कतिपय ठाउँमा साह्रो रातो माटो छन् । ती पनि गुम्बाजस्ता देखिन्छन्’, उसले सम्झ्यो ।
‘लोमान्थाङबाट ३ घन्टा तेस्रो अगाडि बढेपछि छोसेर भन्ने ठाउँ पुगिन्छ । त्यहाँको एउटा ठाडो पहाडी भित्तामा भ¥याङमा उक्लिनुपर्ने धेरै बर्ष पुरानो १ सय ८ ओटा कोठा भएको अन्धकार गुम्बामा एक्लै जान त डर पनि लाग्छ रे’, ऊ सुनाउँदै थियो, ‘त्यो ठाउँमा १÷२ वटा होटल पनि छन् । खान पनि पाइन्छ । तर, त्यहाँ विदेशीले रात बस्न पाउँदैनन् । लोमान्थाङ नै फर्किनु पर्छ ।’
लोमान्थाङ मात्र होइन, मुस्ताङका प्राय ठाउँमा रहर गर्नेले पैसा तिरेर घोडा चढ्न पाउँछन् रे । ३ घन्टाको १ हजारदेखि १२ सय रुपियाँसम्म ।
भोलिपल्ट पनि उनीहरु लोमान्थाङमै बसे । गुम्बाहरु घुमे । पर्सिपल्ट दिनभरी नै फुरुरु हिउँ प¥यो मजाले । हिउँमा हिंड्दै यारातिर झरे ।
अर्को दिन पनि हिउँ परिरह्यो । त्यो दिन याराबाट सराङ आइपुगे । रात सराङमै कटाए । भोलिपल्ट घमी भन्ने ठाउँमा आइपुगे । मजाले दाल भात खाए । अर्को दिन सोमारमा बसे ।
त्यसको भोलिपल्ट कागबेनी आइपुगे । कागबेनी आएको अर्को बिहान मुक्तिनाथ दर्शन गरेर जोमसोम आइपुगे । जोमसोमबाट अर्को बिहान बिहान ९: ३० मा एयर फ्लाइटबाट पोखरा आए ।
पोखरा आएर फेरि फेवातालको बारमा ८ जना ग्रुपसहित मजाले चीसो बियर खाए । झन्डै ३ घन्टा बारमा बिताएपछि उनीहरुले गेस्टहरुलाई एयरपोर्ट पु¥याएर उनीहरु एयरपोर्टबाहिरको रोडमा निस्के ।
ट्रेकिङ गाइड जय भण्डारी, सहयोगी ट्रेकिङ गाइड अनुज महत र ऊ आ–आफ्नो झोला बोकेर हिंडिरहेका थिए । हरन बजाउँदै कहाँसम्म जाने हो भन्दै जम्बो हाइस उनीहरुको अगाडि आयो ।
‘काठमाडौं जान लागेको !’ एकै स्वरमा उनीहरुले भने ।
एक जनाको ८ सयको दरले उनीहरु काठमाडौं आउनका लागि दिउँसो ३ बजे हाइस चढे । राती ९ बजे काठमाडौं उत्रिएर आ–आफ्नो ठाउँ लागे ।
ऊ आफ्नो कोठामा गयो । दालभात खायो । मजाले सुत्यो ।
अर्को दिन बिहान ९ बजेतिर ऊ अफिस पुग्यो ।
‘ट्रेकिङ कस्तो भयो ? टिप्स कति आयो ? पैसा कति बचाइयो ?’, सहकर्मीले एकै स्वरमा सोधे ।
‘टिप्स ५ हजार हानियो । तलब २२ हजार बच्यो, जम्माजम्मी २७ हजार’, उसले पनि एकै सासमा भन्यो ।
४५ बर्षदेखि ७५ बर्षसम्मका ४ जना केटा र ४ जना केटीको त्यो इटालियन ग्रुप पहिलो चोटि नेपाल आएका थियो । उनीहरु पार्टनर थिएनन् । साथीहरु थिए ।
उनीहरुले गुम्बा, खोला र डाँडाहरुको फोटो खिचे । दिनभरि हिंड्दा थाके । बेलुका खाना खाएर आराम गर्दा आनन्दित भए । उकालोमा एक–अर्काले हात दिँदा खुशी भए ।
मुस्ताङ ट्रेक सकिएपछि कति चाँडो यात्रा सकियो भनेर इटालियनहरु दुखी हँुदा माइला पनि एक छिन भावुक भयो । उनीहरुले मुख अध्याँरो बनाए । माइला पनि उदास भयो । उनीहरुलाई नेपाल घुम्ने भोक मरेकै थिएन ।
…
माइला अचेल ट्रेकिङ जाँदैन, यतै काठमाडौंमा ‘पठाओ’सँग जोडिएर मोटरसाइकल चलाउँछ । हिजो राती अबेला कुरा गर्दागर्दै उसले भन्यो, ‘दाई अहिले फोन राखेँ है । पठाओबाट ग्राहकको म्यासेज आयो । एक छिनमा म तपाईंलाई कलब्याक गर्छु ।’