पितृलोकमा आकस्मिक बैठक

लघुकथाः कोदाको पिण्ड

गुरुदत्त ज्ञवाली
तिलोत्तमा-१, रुपन्देही

खोरपाटे बुढाबा चौरासी काटेपछि थलिएका, पचासी देख्न पाएनन् । परलोक गए । काजकिरिया त जसोतसो गरे, बर्खी पनि टाकन टुकन पारेर गरे । गरिबी छँदै थियो, खेत थिएन । बारी पनि टाँकिलो पाखो, मकै खासै नहुने, अलिअलि भएको बाँदरलाई अर्नी ठिक्क । अँ, कोदो राम्रै फल्थ्यो, दिन गुजार्न निर्वाह भनौँ ।

अर्को वर्ष श्राद्ध गर्नु पर्ने, सोह्र श्राद्ध । पिण्ड दिन चामल भएन । बजार टाढा, पैसो छैन, सापट वा पैँचो पाइएन । त्यस्तो छिमेक पनि थिएन । छोराले अरुक्षत टाकटुक निर्वाह गरे तर पिण्ड दिने चामल भएन । कोदाको पिठो थियो, त्यही आफूले सधै खान्थे । कोदाको पिठाको पिण्ड दिए बालाई ।

पितृलोकमा खैलाबैला भयो । खोरपाटे बुढालाई सबैले खिसी गरे, उडाए । एकजना पितृले छोरालाई धनी बन्ने आशिक दिने उपाय बताइदिए । त्यसै अनुसार छोराको प्रगति भयो । खीरको पिण्ड दिने हैसियत बन्यो ।

अर्को वर्षको सोह्र श्राद्ध आयो । छोराले त कोदाको पिण्डले फाप्यो भन्ने लागेछ, फेरि पनि कोदाकै पिण्ड दिए ।

पितृलोकमा आकस्मिक बैठक बस्यो र खोरपाटे बुढालाई बेस्सरी झपारे । बाले भने– राती बाउछोराको सपना अनलाइनबाट धेरैबेर कुरा भयो । पुर्खौँदेखि खाँदै आएको कोदालाई दुई चार पैसा कमाइयो भन्दैमा हेप्न भएन । हामी निरोगी, बलिया र स्वाभिमानी भएको यही कोदोले हो भन्यो छोराले । मलाई पनि चित्त बुझ्यो, बाले कुरो थपे ।

उता साठी नकाट्दै गएका पितृहरुले के के खसाखुसु गर्दै थिए, अलि बुझिएन । सायद, ‘हामीहरुले त्यही कोदो खाएका हौँ किन चाँडै मरिम् त ।’ भने कि ?


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Ad

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button