आकाश भत्किए के होला ?

हुटिट्याउँको मन

दीन पन्थी

चकमन्न हुन्छ रात । खोलो सुसाइरहन्छ । ताराहरु पिलपिल गर्छन् । चन्द्रमा एक्लै मतिर फर्केर हाँसिरहेको हुन्छ । मान्छेहरु घरघरमा चुकूल लगाएर सुतिरहेका हुन्छन् । डरपोक हुन्छन् मान्छेहरु । चोरको डर हुन्छ मान्छेको जातलाई । संग्रह हुन्छ मान्छेसँग । मसँग दुईवटा खुट्टा र पखेटामात्र छन् सम्पत्ति ।

आकाश खस्ने डर नमानेर ढुक्कसँग सुत्छ हुस्सू मान्छे । ममात्र चनाखो छु यस पृथ्वीमा । कुनै क्षण खस्न सक्छ आकाश । खसिहाल्यो भने त्यो नीलो आकाश मेरा पादयुगलले थामिएला भनेर म उपर्खुट्टी लगाएर निदाउँछु । आकाश थामियो भने जोगिएलान् मान्छेहरु पनि । मेरा पाउबलले थामिएको पृथ्वीमा निर्भय बनी बाँच्लान् प्राणीहरु ।

हुनसक्छ, आकाशका खाँबाहरु मक्किएका छन्, ती भाँचिन सक्छन् । हुन सक्छ, आकाशका भित्ताहरु चर्किएका छन्, ती भत्किन सक्छन् । कसले गरेको छ आकाशको स्याहार–सुसार ? आकाश थकित, जीर्ण र ज्वरग्रस्त छ– निरन्तरको झरीले, हुरीले र घामले । मान्छेहरु स्वार्थी, मतलबी र उद्दण्ड छन् । मान्छेहरु हल्ला गर्छन्–ओजन तह फाटेको छ । चुहुने भएको छ आकाश । मतलबी मान्छेले उडाएको धुवाँले आकाश विषाक्त बनेको छ । म उद्विग्न बन्छु, चिन्तित छु । आकाश खस्छ कि क्या हो ? म त्रसित छु । कुनै दिन जीर्ण घरको छत झैं खस्न सक्छ आकाश हामीमाथि ।

भासिन सक्छ यो पृथ्वी । नासिन सक्छ यो सृष्टि । चाँपिन सक्छन् यी मेरा कोमल बचराहरु पनि । मलाई रातमा निद्रा लाग्दैन यही पीरले । दिनमा भोक लाग्दैन यही चिन्ताले । म दुब्लाएर सुइखुट्टे भएको छु यही सुर्ताले । रातरातभरि जाग्राम बसेर म चौकीदारी गर्छु पृथ्वीको । बानरहरु चकचक गर्छन्, यी पटमूर्ख छन् । रातभरि सुत्छन् रुखका हाँगामा । आकाश खस्छ भन्ने ज्ञान छैन यिनीलाई ।

मान्छे त आफूलाई सर्वश्रेष्ठ प्राणी हुँ भन्छ । यिनैले बिगार्छन् आकाशलाई, वायुलाई, जललाई । बुद्धिमान् भईकन आपत्तिमा पर्छ मान्छे आफै । भूकम्प हुन्छ, यिनै मर्छन् । आफूले बनाएका घरभित्रै चाँपिएर मर्छन् मान्छे । हाम्रा केही भत्किन्नन् भूकम्पमा । भूकम्पको डर छैन मलाई भुर्र उडेर आकाशबाट हेर्छु म पृथ्वी काँपेको । सुनामी आउँछ मान्छे नै स्वाहा हुन्छन् । हामी त खेचर हौं ।

Ad

आकाश हाम्रो हो, त्यसैले त म आकाशको चिन्ता गर्छु । हामी त आकाशमा उड्छौं भूकम्प, र सुनामी आउँदा । भूकम्पजस्तै खकम्प भयो भने म त आफ्ना खुट्टाले आकाश थामेर बाँचुला ? के गरेर बाँच्छन् मान्छेहरु ? मान्छेले पृथ्वी आफ्नो बिर्ता ठान्छ । चाँपिन सक्छ यो पृथ्वी आकाश खसेर । आफ्नो घर सम्पत्तिसितै स्वाहा हुनेछन् यी हुस्सूहरु । माउखाने र हुँडारजस्तै हुन्छन् मान्छेहरु कृतघ्न र हुस्सू । म त्रसित हुँदा यिनीहरु किन ढुक्क छन् ? म चिन्तित हुँदा यिनीहरु किन मस्त छन् ? मानौं आकाश खस्दैखस्दैन । किन सचेत नभएर यी अस्तव्यस्त छन् आफ्नै प्रपञ्चमा ? कम्प भयो भने चिराचिरा पर्नेछन् आकाशका । चोइटाहरु झर्नेछन् पृथ्वीमा । शँखे किराहरु कडा खोलभित्र गुडुल्किएर बाँच्लान् । मूसाहरु प्वालभित्र पसेर जोगिएलान् । म आफ्ना खुट्टाले आकाश थामेर बाँचुला । अरु त आकाशले चाँपिएर भसाक्भुसुक् हुनेछन् एक क्षणमा । हाँसेहाँसोस् मूर्ख संसार । म त उपर्खुट्टी लगाएर ढुक्क हुन्छु ।

साँच्चै कुनै दिन आकाश भत्कियो भने के होला ? आगाका झिल्काजस्ता यी पिलपिले ताराहरु पनि सँगसँगै खस्लान् । तिनबाट डढेलो लाग्न सक्छ बादलको भुवामा । चन्द्रमा कहाँ उदाउला आकाश खसेपछि ? सूर्य हिड्ने बाटोमा पहिरो गयो भने सूर्यले कहाँ अडिएर जगत्लाई राप र ताप देला ? सँगसँगै खस्ने हुन् कि सूर्यचन्द्रहरु पनि ! फुंगाल्ने हो कि सूर्य समुद्रमा गर्मीले आत्तिएर ? इन्द्रेनी कहाँ लाग्ला आकाश खसेपछि ? कहाँ अडिएर बादलले वर्षा गर्ला ? कि सुख्खा र अँध्यारोमात्र हुन्छ पृथ्वी ?

कत्रो चिन्ता छ आफूलाई । किन निश्चिन्त छन् यी पटमूर्ख मान्छेहरु ? हो, आकाश खस्यो भने कुनै दिन हुटिट्याउँमात्र हुनेछन् सृष्टिमा । हुटिट्याउँका हुनेछन् राज्यहरु । मान्छेको कुनै हस्तक्षेप हुनेछैन त्यहाँ । मान्छेको बिर्ता रहनेछैन पृथ्वी । त्यहाँ धुवाँ उड्ने छैन । त्यहाँ हामी चराझैं उड्ने चिलगाडीहरु हुने छैनन् । सबै नष्ट हुनेछन् रेल, मोटर र पानीजहाजहरु । चल्ने छैनन् बजारहरु, पढिने छैनन् पुस्तकहरु, बनाइने छैनन् सडक र घरहरु । केवल हुनेछन्- हुटिट्याउँ, मूसा र शँखे किराहरु मात्र त्यहाँ । मान्छेको नामोनिशान हुनेछैन त्यहाँ ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button