
अस्पताल जान नमान्ने डाक्टरकी आमा
सानो प्रयासले ठूलो समस्याको अन्त्य
डा. अर्जुनदेव भट्ट
हाम्री प्राण प्यारी आमा ७९ वर्षको उमेरमा, एक्कासि हिँड्नै नसक्ने, उठ्नबस्न र हलचल गर्नै नसक्ने हुनुभयो । आमाको यो अवस्था उहाँका लागि अत्यन्त पीडादायी भयो । एउटा चिकित्सक छोराको नाताले, बाहिर नदेखिए पनि भित्री रुपमामलाई बढी जिम्मेवार गरायो । मनमा कतै मैले छोराको नाताले मात्र होइन कि एउटा चिकित्सकको नाताले पनि पूर्णरूपमा परीक्षण तथा उपचार नगरेर आमा यस्तो अवस्थामा पग्नु भएको त हैन भन्ने चिन्ता मेरो मनमा बारबार आइरह्यो ।
आमा ओछ्यान पर्नुभएपछि उहाँलाई अस्पताल लैजाने, एमआरई वा सिटिस्क्यान जस्तो जाँच गराउने विषयमा म सोच्दै थिएँ । यसका लागि म आमाको स्वीकृति चाहन्थेँ । एक दिन बिहानै आमाकी सेवेकी धौली दिदीले बनाएको चिया पिउने नाउँमा म निकै बेर आमाको नगिच बसेँ । रोग निरूपणको निम्ति आवश्यक परीक्षण गर्न कहिले जाने भनेर आमालाई सोधेँ । जवाफमा आमाले मलाई निडर र निर्धक्क भएर शान्त मुद्रामा भन्नुभयो, ‘यो सबै सोच्तै नसोच र मलाई दुःख दिने काम गर्दै नगर बाबु । बुबालाई जस्तै अस्पताल लगेर तुरुन्तै मार्ने मन छ भने मात्र बलजफ्ती झ्यानाकुटी गरेर लग अनि उतै फाल ।’
बुबाज्यूको निधन हुँदा (२०३९ सालमा) म लगायत हामी ४ भाइ विदेशमा थियौँ । माइलो दाजु भीमदेवमात्र बुवाको साथ हुुनुहुन्थ्यो । बुबालाई वीर अस्पताल लगिएछ । उहाँलाई भर्ना गरेर राख्न क्याबिन नपाएपछि चिनेका डाक्टरको सहयोगमा बुबाज्यूको उच्चस्तरको ओहोदा तथा उमेरलाई मनन गर्दै आइसीयूमा भर्ना गरिएछ । भर्ना हुन र सबै काम गरी बेडसम्म पुग्दा धेरै बेर लाग्ने बुझिएपछि बुबाज्यूले भीम दाजुलार्ई खाना खान जाऊ भनेर घर पठाउनुभएछ । यही समयमा नसाभित्र दिइने कुनै औषधि दिने क्रममा हर्ट एरेस्ट भएर बुबाज्यूको निधन भएछ । यसरी सत्तरी वर्षको उमेरमा २०३९ फागुन ८ मा बुबा यो लौकिक संसारबाट अचानक बिदा हुनुभयो ।
यो घटनाका कारण अस्पतालप्रति आमाको विश्वास टुटेको थियो । अस्पतालप्रति उहाँको विश्वास र भरोसा थिएन । यसमा आमालाई केही भन्ने ठाउँ पनि थिएन । अगुल्टोले हानेको कुकुर बिजुली चम्किँदा तर्सिन्छ भनेर त्यसै भनिएको होइन । आमालाई अस्पतालप्रति यस्तै भएको थियो, अस्पतालको नामै सुन्न नचाहने ।
अस्पताल नजाने आमाको अडान सुनेपछि बारबार त्यही कुरा दोहो-याएर झिँजो गर्ने र आमाको मन दुखाउने प्रयत्न मैले गरिनँ । आमाकै मन दुखाएर कसरी उहाँलाई अस्पताल लैजानु ! अन्ततोगत्वा परीक्षण र उपचारमा पूर्णविराम लाग्यो । अस्पताल नजाने भनेर आमाले मलाई आफ्नो कठोर निर्णय सुनाउनुभएको थियो ।
‘म मरेपछि घर अगाडिको तुलसीको मठमाई लगी बरी पशुपति लग्या…।’ आमाको निर्णय यस्तै कठोर, अप्रिय र हृदयविदारक थियो । आमाको निर्णय र निर्देशन मान्न हामी बाध्य थियौँ । आमाको निर्णयले मेरो मन घाइते अवश्य भएको थियो तर मेरो विवेकले आमाको निर्णय नमान्न उक्साउने हैसियत राख्दैनथ्यो । आमाले गलत निर्णय गर्नुभयो भनेर उहाँलाई बुझाउने र मनाउने क्षमता पनि ममा भएन त्यसबेला । बुबाज्यूको घटनाबाट निकै नराम्ररी तर्सिनुभएकी आमालाई विश्वास दिलाउने आधार कतैबाट जुट्न सकेन ।
धेरै कोण, दृष्टि र विश्वासको कसीमा आमाको निर्णय परीक्षण गर्दा म आमासँग शतप्रतिशत सहमत भएँ । त्यसपछि आमालाई परीक्षण र उपचारका लागि जाने कि भनेर सोधिनँ, जाऔँ भन्न पनि सकिनँ । आमा कोठामै थला पर्नुभयो । मैले यो दुःखद् यथार्थ स्वीकार गरेँ । आमाको इच्छाअनुसार स्वयं गर्न सकिने उपचारमा मनग्य सहभागी भएँ, तर स्वास्थ्यमा चाहेको सुधार हुन सकेन । मैले पृथकृत जीवनमा पछारिनु भएकी आमाको चेहरा हेरेँ । मुहार कति उज्यालो ! मुस्कुराहट उस्तै छ ! पछाडि तकियाको आड लगाएर बसाइदिएपछि चस्मा लगाएर रामायण पढ्न थाल्नुहुन्थ्यो । पूर्ववतरूपमा टड्कारो स्वरले रामायण पढ्नुहुन्थ्यो । अनि लाग्यो, होइन म शून्यमा छैन, मुटु मेरो पहिले जस्तै ढुकढुक गर्दैछ । संसार आफ्नै ठाउँमा छ, खालि एउटा सानो फरक परेको हो, आमाको जीवन अब यही सानै कोठाबाट चल्नेछ । आमा एकान्तमा स्थापित हुनुभयो, यही एउटा फरक हो ।
कोठे संसार कसका लागि सहज र प्रिय हुन्छ र ? तर आमाको साथमा धौली दिदी थिइन् । आमालाई सानी छोरी सम्झी माया र स्याहार गर्ने । धौली दिदीले आमालाई सुताउने, उठाउने, दिसापिसाब गराउने, नुहाइदिने सबै काम कोठाभित्रै पूरा गर्थिन् । आमाको स्याहारसुसारमा उनलाई अर्को साथी पनि चाहिँदैनथ्यो । आमाको शरीरका माथिल्ला सबै अङ्गहरू राम्ररी चलेका थिए । कम्मरमुनिको भाग नचल्ने भएको थियो । कम्मरमुनिको भागले तातो चिसो अनुभव गर्दैनथ्यो ।
आफ्नो यो अवस्थाबाट आमा कस्तो अनुभूति गर्नुहुन्थ्यो होला ! अब जिन्दगीभरिका लागि आफ्नो अवस्था यस्तै हो भन्ने थाहा पाएर आमालाई कस्तो मानसिक चोट पर्ने होला ! मरो मनमा आमाको अवस्थाबारे चिन्ताको हुरी चलिरहँदा आमालाई भने आफ्ना आगामी दिनबारे पूरै आभास भइसकेको थियो । धौली दिदी र मलाई पनि आमा भनिराख्नुहुन्थ्यो, ‘अब इस्याइ खाडा परिबरी मुइ मद्दे हूँ ।’ अरूलाई यस्तो यथार्थको प्रतिक्रिया कसरी दिनुहुन्थ्यो, त्यो थाहा छैन ।
आमाको ओछ्यान प्रायः भिजेकै अवस्थामा हुन्थ्यो । खुट्टाको बीचमा राखिएका कपडा, टाला निथ्रुक्कै भएको देख्दा अक्साना प्रत्येक पटक मूत्रथैलीमा नली राख्न भनिरहन्थिन् । आमा भने असजिलो मानेर उपेक्षा गर्दै टार्नुहुन्थ्यो । अक्साना मलाई गाली गर्थिन् । किन आमालाई राम्रो परामर्श नदिएको भन्ने उनको गुनासो हुन्थ्यो । मेरो परामर्शको भाउ छैन भन्ने उनलाई थाहा थिएन । विस्तारै आमाको स्याहारमा अक्सानाले धौली दिदीलाई सघाउन थालिन् । आमालाई पिसाब जम्मा गर्ने नली राख्न अनुरोध गर्दै रहिन् । आमा भन्नुहुन्थ्यो, ‘लाज हुन्छ, तिमीहरू आउँछौ, के सोच्लाऊ ! बाहिरबाट भेट्न आएका मान्छेले नली देखेर के भन्लान् !’ अक्साना आफ्नो अनुरोध र प्रयासले काम नगर्दा निकै खिन्न हुन्थिन् । कुनै प्रभावकारी उपाय अपनाउन मलाई दबाब दिन्थिन् ।
यस्तैमा जाडोको मौसम आयो । हुँदाहुँदा स्वस्थानी ब्रतकथा भन्ने दिन आयो । साँझ स्वस्थानी भन्न आमाकै कोठामा जम्मा हुनुपथ्र्यो । हामी दाजुभाइहरू, फुर्सद भएका बुहारीहरू र नातिनातिना त्यहीँ थुप्रिन्थ्यौँ तर आमाको कोठा गनाउँथ्यो । भिजेका कपडा, थाङ्ना कहाँ सुकाउने ! कति सुकाउने ! नर्स बोलाएर नली राखुँ भन्दा आमा असजिलो मान्ने ! म मूत्ररोग विशेषज्ञ आमाको दयनीय अवस्था र कोठाको दृश्य टुलुटुलु हेरेर बस्ने बाध्यतामा छु । यस्तो परिस्थितमा आफू निकम्मा भएँ जस्तो लाग्ने ! के म राम्ररी रायविमर्श गर्न जान्दिनँ ! के परामर्श दिएर बिरामीलाई उपयुक्त निर्णय लिन सक्ने स्तरमा पु¥याउन सक्दिनँ ! म बिरामीलाई उत्तम निर्णय लिन सक्ने स्तरमा पु-याउन नसक्ने चिकित्सक हुँ भने आफ्नो सेवाबाट बिदा लिएर अरू कुनै काम गरे भएन र ! चिकित्सक नै भएर काम गर्नुपर्छ र ! धिक्कार छ मेरो डिग्रीलाई ! मनमा यस्तो चिन्ताको कडा हुरीबतास चले पनि यो सबै भइरहेछ । मैले आमालाई उपचारका लागि लैजान सकेको छैन । यतिबेला मेरा लागि आमा आमाभन्दा बढी एकजना बिरामीका रूपमा हुनुहुन्थ्यो, मेरो निगरानीको एक जना बिरामी सरह हुनुहुन्थ्यो । यस्तो बिरामीलाई उपयुक्त उपचारका लागि मनाउन सकिनँ भने म आफ्नो पेसा बन्द गर्छु, अस्पताल जान्नँ । सरकारी जागिरबाट राजीनामा गर्छु ।
एक दिन यस्तो चर्काे भावनाको वेगले मलाई हिर्काउनसम्म हिर्कायो । गिज्याउनसम्म गिज्यायो । चिकित्सा पेसा छाड्न धम्की दियो । रातभरि निद्रा परेन । कहिले बिहान होला र आमासँग परामर्श गरेर उहाँलाई मनाऊँला भन्ने सोच्दै, घडी हेर्दै छपटपटाइरहेँ । बिहान कुरेर बसँे । अक्सानाले थाहा नपाउने गरी उठेको उठ्यै गरेँ । करिब तीन बजेको थियो । अक्सानाले त विचार गरिरहेकी पो रहिछन् । उनी उठिन् र सोधिन् ‘केही समस्या प-यो कि क्या हो अस्पतालमा ? आज कुनै बिरामीको जोखिमपूर्ण शल्यक्रिया गर्नु पर्ने छ कि ? सधैँ टाउको सिरानीमा पर्दा कुम्भकर्ण हुने मान्छे के भयो आज ? शान्त होऊ आराम गर । समस्या त समाधान भइहाल्छ नि ! अनेक सोचेर नबस, सुत ।’ म निकै बेर मौन रहेँ अनि आफ्नो वेदना पोख्न थालेँ । अक्सानालाई भनेँ, ‘अस्पतालमा होइन, घरमा छ कडा बिरामी । म अब आमा पिसाबले भिजेर ओछ्यानमा सुतेको देख्न र सहन सक्दिनँ । जसरी भए पनि आजै यो समस्याको समाधान निकाल्नै पर्छ ।’
हामीले करिब आधा घण्टा बिरामी आमाका बारेमा गन्थन ग-यौँ । अक्सानाले भनिन्, ‘हामी दुबै बिहानै गएर क्याथेटर राख्ने । समस्या समाधान, खेल खत्तम ! मैले उहिलेदेखि आमालाई भन्दै आएकी छु । अर्जुनले आमालाई अब नली नराखे म नै धौली दिदीसँग सहयोग लिएर राखिदिन्छु । जा जा भनेर मलाई कोठाबाट निस्कन बाध्य पार्नुहुन्छ । हात हल्लाउँदै धपाउनुहुन्छ । हेरूँला आज कसरी धपाउन सक्नुहुन्छ । तिमी नरम भएरै समस्या लम्बिएको हो क्या ! सुत, समस्या सानै रहेछ ।’ मेरो मन यस्तो भयो कि मानौँ, महिना दिन लगाएर रात बित्यो र बिहान भयो । सधैँभन्दा अलिक चाँडै उठेँ । दाँत ब्रस गरेँ । नुहाएँ । चिया खाएपछि लुगा लगाएर अस्पताल जान तयार परेजसरी आफ्नो झोला लिएँ । झोलामा अक्सानाले तयार पारेको क्याथेटर, युरोब्याग, सिरिन्ज, पानीका एम्पल, जेली, पञ्जा इत्यादि आवश्यक सरसामान सुरक्षित राखेँ । हामी दुबै जना सँगै तल्लो तलामा आमा भएको कोठातिर गयौँ । कोठाको ढोका ढल्काएको रहेछ, धौली दिदी आमाको दिसा पुछ्दै थिइन् । त्यसको निम्ति आमालाई घुमाएर खाटको छेउमा तानेर राखेकी थिइन् ।
आमा कराउनुभयो, ‘ए धौली अर्जुनलाई नआ भन् न । ढोका किन बन्द गरिनस् । लौ हेर यी दुबै पो आएछन् । पछि आउलाउ, जाऊ ।’ अक्सानाले धौली दिदीलाई क्याथेटर देखाइन् र इसारामा भनिन्, ‘यो ऐले राख्ने ।’ उनले हर्षले सहमति दिइन् सहयोगको । मैले आमालाई भनेँ, ‘आमा, म हजुरलाई पिसाब आउने नली राखिदिन्छु अनि हजुरले यो बिजोग खप्नु पर्दैन । धौली दिदी पनि हजुरको अरू सेवा गरेर बस्न पाउँछिन् । बिन्ति आमा ! असजिलो नमान्नू ।’ आमा एक छिन केही नबोलोर मौन बस्नुभयो । म भन्दै गएँ, ‘यस्तो जाडोमा किन दुःख पाइराख्ने ! कहाँबाट त्यतिका लुगा ल्याएर भिजेको फेर्ने !’ आमाले मेरो कुरा सुनिरहनुभयो । अनि केहीबेरमा मुखबाट स्वीकृतिको वाणी निस्कियो, ‘राखिदेऊ न त के राख्ने हो ।’ आमाको मुखबाट निस्केको उक्त वाणी हाम्रा लागि औधी कर्णप्रिय भयो । हामी खुशी भयौँ । एकै छिनमा नली राख्ने काम सकियो । एकै पल्ट ९५० मिलिलिटर पिसाब थैलीमा जम्मा भयो । अक्साना दङ्ग परिन् । यति धेरै पिसाब आयो ! सबै चुहिएको भए ओछ्यान के हुन्थ्यो ! धौलीदिदीको अनुहार उज्यालियो । यति धेरै पिसाब जम्मा भएको हुँदो रहेछ अनि किन जति लुगा र थाङ्ना लाइराखे पनि नभिज्नु त ! मैले धौलीदिदीलाई युरो ब्यागको हेरचाह गर्ने तरिका सिकाएँ । जम्मा भएको पिसाब बाटामा खन्याएर देखाएँ । आमालाई पनि तल्लो पेटमा सहज अनुभवभयो होला भन्ने ठानेँ । मैले आमाको पेट छामेँ । देब्रेतिर दिसाको डल्लाले भरिएको मोटो आन्द्रा प्रस्टै स्पर्श हुन्थ्यो । धौली दिदीलाई प्लास्टिकको बाटा ल्याउन भनेँ । अड्किएर बसेको दिसाका डल्ला औँलाले एकएक गरी निकालेँ ।
यो सब देखेर धौली दिदी आश्चर्यमा परिन् र भनिन्, ‘मेरी आम्मै ! कथबटे इतुक ।’ पञ्जा निकालेर हात धोएँ अनि म आमासँगै बसेर कुरा गर्न थालेँ । अक्साना मसँगै उभिएकी थिइन् । आमालाई भनेँ, ‘आमा ! यो नलीले हजुरलाई कति पनि असजिलो पार्दैन । तैपनि असुविधा भए अक्सानालाई भन्नुहोला, म जहाँ भए पनि तुरुन्तै बोलाइदिन्छिन् ।’ अक्सानाले पनि ‘हो आमा ! केही नराम्रो हुँदैन, डर नमान्नुस्’ भनेर सम्झाइन् । हाम्रा कुरा सुनेर आमाले भन्नुभयो, ‘है है, के होलो ब, झा तमुनलाई ढिलो होइग्यो ।’ आमाले हामीलाई पठाउनुभयो । हामीले शान्तिको सास फे-यौँ । अब आमाले भिजेको ओछ्यानमा सुत्नुपर्ने भएन । हामीले केही दिनमै आमालाई मेचमा बसाएर दिसा गराउने व्यवस्था पनि मिलाउन लागेको कुरा सुनायौँ ।
धौली दिदी खुब खुशी भइन् ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)